प्रदेश

पप्पुले पुल नबनाउँदा गोरुगाडा चढेर नदी तर्न बाध्य छन् धनगढीवासी

जीवन विष्ट


धनगढी : वर्षामा साउने झरी। शुक्रबारदेखिको वर्षा। 

कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवगंगा नदीमा पानीको सतह बढेको छ। नदीले कटान सुरु गरिसकेको छ। वर्षा नरोकिए बाढी गाउँ पस्ने खतरा पनि छ।

उपमहानगरको वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल नहुँदा वडा नम्बर १६ का स्थानीयले नदी तरेर धनगढी जानुपर्ने बाध्यता छ। 

धनगढी–१६, ढाका टोलका हरिप्रसाद थापा सोही नदी तरेर दैनिकरूपमा धनगढी बजार पुग्छन्। 

‘नदीको बहाव निकै बढेको छ। अहिले त आवत–जावत गर्दा निकै डर हुन्छ,’ उनले भने, ‘धनगढीमा व्यापार–व्यवसाय भएकाले दैनिक दुई पटक नदी तर्नुपरेको छ।’ 

उनले नदीमा पानीको बहाव अत्यधिक बढेका दिन कनरी हुँदै धनगढी बजार ओहोरदोहोर गर्ने गरेको उनले बताए। 

उनी मात्र होइनन्, शिवगंगा नदी तर्नेहरू अरु पनि छन्। 

गोरुगाडाकै भर 

नदीमा पानीको बहाव बढेपछि यस क्षेत्रका स्थानीय गोरुगाडाबाट नदी तर्ने गरेका छन्। 

नदीमा यात्रु वारपार गराउन धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का मानबहादुर चौधरी र भागिराम  चौधरीले गोरुगाडा चलाउने गरेका छन्। उनीहरू गोरुगाडामा राखेर यात्रुसँगै साइकल र मोटरसाइकल पार गराउँछन्। 

‘असारदेखि वर्षा सुरु हुँदा नदीको बहाव बढ्छ। नदीमा पुल छैन। त्यसैले यही गोरुगाडामा राखेर यात्रुलाई नदी तराउँछौं,’ भगिरामले भने। 
उनले मोटरसाइकल पार गराएको सय रूपैयाँसम्म लिने गरेको बताए। 

गोरुगाडाबाट नदी तराउँदै आएका अर्का स्थानीय मानबहादुर दैनिक सयौं यात्रु गोरुगाडामा चढेर नदी वारपार गर्ने गरेको बताउँछन्। 

‘वर्षायामको चार महिना नदीमा गोरुगाडाले यात्रु वारपार गराउँछौं,’ उनले भने, ‘खोलाको बहाव बढेको दिन भने गोरुगाडा चलाउन सकिँदैन। त्यस बेला हामी बन्द गर्छौं।’ 

वडा नम्बर १६ स्थित वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थी आउने गरेका छन्। 

बेहडाबाबा धनगढीको मुख्य बजार हुँदै कनरीदेखि पनि जान सकिन्छ। तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकांशले सोही बाटोमा यात्रा गर्न रुचाउँछन्। देवहरियादेखि बेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ।

धनगढीका चित्रबहादुर छेडालले पनि बेहडाबाबा जाने क्रममा दुई वटा नदी पार गर्नुपर्ने बाध्यता रहेको बताए। उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि जाँदा शिवगंगा नदीमा गोरुगाडामा वारपार गर्नुपर्ने अवस्था रहेको बताए। 

खुटियामा पुल बनेपछि सहज 

केही समयअघिसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुर्जन्नाका स्थानीयको अवस्था पनि वडा नम्बर १६ का स्थानीयको जस्तै थियो। तर, खुटिया नदीमा पुल बनेपछि उनीहरूलाई अहिले धनगढी बजार आउन सहज भएको छ। 

सडक डिभिजन कार्यालयले देवहरिया–बेहडाबाबासम्मको सहज पहुँच पुर्याउन २०७४ सालमा खुटिया र शिवगंगा पुलको टेन्डर आह्वान गर्याे। तीमध्ये खुटिया पुल आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भयो। 

पुल निर्माण हुनुअघिसम्म बर्खायाममा धनगढी बजार पुग्न समस्या हुने गरेको वडा नम्बर १७ का नरेश चौधरी बताउँछन्। 

‘खुटिया नदीमा पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग हुँदै धनगढी जानुपर्थ्यो। नभए खोलामा पैसा तिरेर गोरुगाडाबाट पार गर्नुपर्ने हुन्थ्यो,’ नरेशले भने, ‘पुल बनेपछि धुर्जन्नाबासीलाई धनगढीबाट सेवा लिनको लागि सहज भएको छ।’

एउटा सम्पन्न, अर्को अलपत्र

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते खुटिया र शिवगंगा पुल बनाउन निर्माण कम्पनी पप्पु एडभेन्चर जोइन्ट भेन्चरसँग सम्झौता गर्याे। सम्झौता अनुसार दुवै पुलकाे निर्माण आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्थ्याे। तर, उक्त अवधिमा पुल निर्माण सकिएनन्। 

तीमध्ये खुटिया पुल आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न भएकाे छ। १ सय ५० मिटर लामो खुटिया पुल बनाउन भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रूपैयाँ लागतमा सम्झौता गरेको थियो।

शिवगंगा पुल भने अलपत्रजस्तै छ। १२ करोड ६२ लाख ७२ हजार छ सय ७१ रूपैयाँ लागत १ सय २४ मिटर लामो उक्त पुलको निर्माण अहिलेसम्म सुरु भएको छैन।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जुत्ता–चप्पल सिलाउनेको दुखेसो– सडक छेउमा बसे नगरपालिकाले धपाउँछ, हामी कहाँ जाऔं ? 

छोराले छाडेपछि श्रीमतीसँगै बस्दै आएका उनकाे यहीको कमाइबाट घरखर्च चलेको छ।   तर, पछिल्लो समय नगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न....

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषी कानुनी दायरामा नआउनु दुःखद भएको भन्दै कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको....

सुर्खेतमा थप २८ हजारलाई कोरोना विरुद्धको खोप लगाइँदै

२८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।  कार्यतालिका अनुसार भोलि ११ गते ५५ वर्ष उमेर पुगेका र....

विद्यार्थी आन्दोलनका कारण एमयुका सबै मौका परीक्षा स्थगित

संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेकाे जनाएकाे छ।   परीक्षा व्यवस्थापन....

बझाङमा सेती नदीमा हाम फालेर पुरुष बेपत्ता 

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार नदीमा हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका—११, का ६० वर्षीय धर्मराज जोशी छन्। नदीमा बेपत्ता जोशीको खोजीका लागि नेपाल प्रहरीसँगै....