उकेरा काेलम

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

हेमन्त मल्ल


यस अगाडिको अंकमा नेपालमा आएको जर्मन चरेस कारोबारीसँग जोडिएको घटनाको प्रारम्भ गरेको थियो, जो वर्ल्ड ट्राभलर बनेर गाडीसहित नेपाल आएका थिए। उनीहरु काठमाडौँ भित्रिएर कीर्तिपुरमा बसेका थिए।

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस बोकेर भारत हुँदै जर्मनी फर्कंदै थिए।

म घरमा थिएँ। एउटा गाडी घरबाट निस्कियो भन्ने बराल साप (केशव बराल) को फोन आएपछि म हतारहतार घरबाट मोटरसाइकल लिएर निस्किएँ।

पहिला त गाडी ठमेलमा भएको कार्यालयमै ल्याउने कि भन्ने छलफल पनि भएको थियो। तर ठमेलको कार्यालयमा राख्ने ठाउँ थिएन। अहिले जाभाको कफिसप छ नि त्यहीं थियो, लागुऔषध नियन्त्रण इकाइको कार्यालय। यसबारे डायरीको नवौँ अंकमा विस्तृतमा उल्लेख गरेको छु।

नेपाल आएको जर्मन समूहबारे नेपालसँगै जर्मनी र चिलीसम्म पनि सँगै अनुसन्धान भइरहेकाले जर्मन प्रहरीले हामीलाई उनीहरुलाई पक्राउ गरेलगत्तै जानकारी दिनु है भनेका थिए। यता नेपालमा अप्रेसन भए लगत्तै एकै पटक जर्मनी र चिलीमा पनि प्रहरीले यो समूहबारे अप्रेसन गर्दै थियो।

जर्मनहरुलाई गाडीमा राखेर उनीहरुकै डेरामा लैजाने' भनेर निर्देशन दिएर म पहिला ठमेलमा रहेको कार्यालयमा गएर जर्मनीमा जानकारी गराएँ, 'शंका लागेका २ वटा गाडीमध्ये एउटा घरबाट बाहिर निस्किएकाले हामीले नियन्त्रणमा लियौँ।'

जानकारी पाएलगत्तै धन्यवाद भनेर उनीहरु उता प्रहरी कारबाहीमा लागे। राति भइसकेको थियो। शंका लागेको गाडी केही नगर्ने। जर्मनहरुलाई त्यहीं राख्ने भनेर निर्देशन दिएर घर फर्किएँ।

भोलिपल्ट बिहानै म र केशव बराल सर कीर्तिपुर गयौँ। गाडीभित्र के छ भनेर हेर्न थाल्यौं। केही फेला परेन। 'तिमीहरुले शंका गरेको गाडीमा केही छैन त' भनेर उता जर्मनी प्रहरीलाई भन्यो, 'उनीहरु छ। केही नहेर। गाडी भत्काइदेऊ' मात्र भन्छन्।

कस्तो राम्रो गाडी थियो। एउटा मोबाइल होम बनाएको। अर्को चाहिँ टोयोटाको ल्यान्डक्रुजर टाइपको। उताबाट गाडी भत्काइदेऊ भनेको भन्यै छन्। अब उनीहरुले भन्दैमा गाडी भत्काउन पनि भएन। केही फेला परेन भने त कसले गाडी बनाइदिन्छ।

यताबाट हामी हेर्दैछौं तर चरेस फेला परेको छैन भन्यो उनीहरु त्यहीं छ, गाडीको माया नगर, भत्काइदेऊ भन्छन्।

त्यत्तिकै त पक्कै भनेका हैनन् भन्ने त लागेको हो। तर गाडी भाङभुङ भत्काउने हिम्मत भने आइहालेन।

हेर्नु त पर्यो। गाडी त्यतिकै छाड्ने कुरा पनि भएन। अनि वर्कसपबाट वेल्डरहरु मगाएर गाडीका पार्टहरु निकाल्ने योजना बनायौँ।

खोज्दाखोज्दा हैरान। केही फेला परेन। उनीहरुले लुकाउने त प्यानलहरुमा फल्स बटम बनाएर त हो नि। त्यता नि हेरियो। छैन त।

यता हेर्यो, उता हेर्यो। कतै उनीहरुले गाडीको तलको बेसमा त केही मिलाएका छैनन् भनेर वेल्डरको सहयोगमा त्यता हेरेको गाडीको बेसमा अर्को फल्स बेस बनाएको देखियो।

फलामको नाली जस्तो बनाएको देखियो। यताउता के छ भनेर खोज्दै जाँदा डोरी फेला पर्यो। बेसमा डोरी किन?  शंका हुने भइहाल्यो।

यसो तानेको त सरर आयो। फुतफुत टिनको बट्टा झर्न थाल्यो।

छक्क।

ती सबै बट्टा मजाले टिनले वेल्डिङ गरिएको थियो। फुटाएर हेर्दा भित्र त चरेस। सबै संकलन गर्दा साढे २ सय किलो चरेस निस्कियो।

उनीहरूले बढो मिहिनेत गरेर चरेस प्याक गरेका थिए। कतै गन्ध नआउने गरी टाइट ब्लक बनाएर टिनले वेल्डिङ गरेर प्याक गरेको।  

जाँदा बाटोमा कतै त चेक हुन्थ्यो नै। गन्ध आए कुकुर पत्ता लगाउन सक्थे। उनीहरूलाई पनि झुक्याउने गरी प्याक गरेको।

गाडी भाङभुङ बनाएकोमा भने थकथक लाग्यो नि। 'हेर बुद्धि' भन्ने भो। गाडी भत्काउनु अगाडि तल गाडीको बेस हेरेको भए पक्कै त्यो नक्कली बेस फेला परिहाल्थ्यो। अनि डोरी फेला परेको भए त यसरी गाडी भाङभुङ पार्नै नपर्ने। तर उनीहरुले यसरी पनि लुकाउन सक्छन् भनेर पहिला जानकारी हुनुपर्यो नि।

हामीले शंका गर्ने ठाउँ त अनुभवको आधारमा त हो। पहिला जहाँजहाँ लुकाएको भेटिन्थ्यो त्यहीं खोज्यो। यसरी तल बेसमा अर्को नाली आकारमा बेस बनाएर त्यसभित्र पूरै वेल्डिङ गरेर भित्र राखेर डोरीले तानेर निकाल्न मिल्ने गरी पनि राख्छन् भन्ने त पहिलो पटक फेला परेको थियो। नयाँ आइडिया ब्रेक गर्न समय त लागिहाल्छ।

त्यसपछि त सुईंसुईं डोरी तानियो। चरेसका बट्टाहरु आइहाले।

अपराधी प्रहरीभन्दा एक कदम अगाडि हुन्छन् भनेर त्यसै भनिएको होइन। चरेस लुकाउन जर्मन ग्याङ हामीभन्दा अगाडि देखियो।

उता जर्मनीमा फोन गरेर चरेस सहित चार जना नियन्त्रणमा लिएको जानकारी टिपाएँ।

त्यो ग्याङसँग सम्पर्कमा रहेको एक नेपाली नागरिक पनि थिए। खोज्दैजाँदा फेला परिहाले। उनी सहयोगी रहेछन्। उनीबाट धादिङ, छत्रेदेउरालीको भएको सूचना आयो।
हाम्रो अनुसन्धानमा पनि यही समूहका सदस्य धादिङको छत्रेदेउरालीमा पनि देखिएको थियो। अब पहिला उनीहरु चरेस लिन आएको हो, हैन पक्का नगरी सिधै छत्रेदेउराली गएर छापा मार्ने कुरा भएन। त्यता कतै चरेस जम्मा पार्ने भन्डारसम्म होला भन्ने हाम्रो अनुमान थियो।

चार जर्मन अनि एक नेपालीलाई लिएर ठमेलमा रहेको कार्यालयमा ल्याएर अनुसन्धान सुरु भयो। बराल सर, म र केशव खरेल टोली लिएर धादिङको छत्रेदेउरालीमा गयौं।

छत्रेदेउराली पुग्दा हामीले जे सोचेका थियौं त्योभन्दा भिन्न अवस्था देखियो। छत्रेदेउरालीमा उनीहरुले  एउटा घरै बनाइसकेका थिए। घरको तल्लोतहमा सिधै गाडी राख्न मिल्ने। माथिबाट घरभित्र गएर गाडी बाहिरै ननिकाली सजिलै त्यही चरेस भर्न मिल्ने गरी बनाएका रहेछन्।

घर देखेर त छक्कै परियो नि। गाउँलेले हेर्दा सबै घरभित्रैझैँ देखिने। तर उनीहरुले घर भित्रभित्रैबाट गाडीमा चरेस फिट गर्न मिल्नेगरी घर बनाएका थिए।

जुन गाडी फेला चरेस सहित फेला पर्यो त्यसमा चरेस उतै कीर्तिपुरमै फिट गरेको देखियो। उनीहरुले छत्रेदेउरालीको घर चाहिँ अर्को टिपका लागि बनाएका रहेछन्। अब धादिङमा चरेस पाइहालिन्छ। त्यसलाई घरमा ल्याएर स्टोर गर्यो। सरर गाडी लग्यो। घरभित्रै गाडीमा चरेस फिट गरेर काठमाडौँ आयो अनि मौका मिलाएर फर्कियो।

धादिङबाट काठमाडौँ चरेस ल्याउँदा पक्राउ पर्ने डर पनि भएन। सबै काम घरभित्रैबाट हुने भएपछि त कतै डेरामा चरेस ल्याएर रातिराति काम गर्नुपर्ने बाध्यता पनि रहेन। उनीहरु पूरै संगठित रुपमै लामो समय चरेस कारोबार गर्ने रणनीति अनुसारै नेपाल आएको त खुलिहाल्यो नि।

पक्राउ परेका चार जनामध्ये एक जना जो पछि विमान हुँदै आएको थियो, उसले आरोप स्वीकारेकै हैन। उसले आफू त पर्यटकको रुपमा नेपाल आएको, जर्मनीका परिचितहरु नेपालमा रहेको थाहा पाएर उनीहरु बसेको घरमा बसेको मात्र भनेर दावी गरेको गर्यो। उसँग भएको भिसा पनि पर्यटककै थियो।

तर, त्यो व्यक्ति विमानस्थलबाट ट्याक्सी चढेर कीर्तिपुरमा रहेको घरमा छिरेदेखि नै इकाइको २ वटा टोलीले २४ घन्टा निगरानी गरिराखेको थियो। उनीहरुले निगरानी राख्दा को कतिखेर निस्कियो, निस्किएर कहाँ गयो, कसलाई भेट्यो सबै मिति र समय अनुसारको लगबुक समेत बनाएका थियौं नि।

अनुसन्धानमा संकलन गरेको कुन विवरण कतिखेर प्रमाणको रुपमा काम लाग्छ पत्तो हुन्न नि। म पर्यटकको रुपमा नेपाल घुम्न आएको हो भनेर जसले दावी गरेको थियो ऊ त्यो घरमा छिरेदेखि एक पटक पनि बाहिर निस्किएको थिएन। जर्मनहरुले त ऊ त्यो समूहको मुख्य नाइके नै हो भनेको थियो।

त्यसपछि उसलाई लगबुकको विवरण देखाउँदै 'तँ नेपाल घुम्न आएको हो भने १५ दिनसम्म एक पटक पनि किन घरबाट निस्किनस्'  भनेर सोध्दा बल्ल ऊ चुप लाग्यो।

त्यो लगबुकले कस्तो महत्वपूर्ण काम गर्यो। लगबुक नभएको भए जो विमानबाट आएको थियो ऊ त्यही समूहको सदस्य हो भनेर प्रमाणित गर्न बढो कठिन हुन्थ्यो।

यता अनुसन्धान चलिरहेको थियो, उता जर्मनीमा पनि यही समूहका पक्राउ परिसकेका थिए।

जर्मन प्रहरीले सन्देश पठाए' जर्मनमा केस चल्ने नेपालमा भएको अनुसन्धानकै आधारमा हो। त्यहाँको प्रमाणले यहाँ सघाउँछ। तपाईं जर्मनीमा बयान दिन आउनुपर्छ है।'

बल्ल ढुक्क भयो भनेको त त्यही केसले जर्मनी जानुपर्ने बनायो। केही अन्तर्राष्ट्रिय केसमा बयान दिएको अनुभव छ। यहाँको जस्तो सहज हुन्न त्यहाँको बयान। जिरह होस् त त्यस्तो लाग्छ यता पनि। प्रतिवादीका वकिलले ट्याप्प-ट्याप समात्छन्। यस्तो तर्क गर्छन् कि पानी खाने बनाउँछन्।

बोलाएपछि जान त पर्यो।

'स्योर' भनें।

जर्मनीको अदालत अनि विपक्षी वकिलहरुको प्रश्न। जस्तो सोचेको उस्तै भयो। अहो! पानी-पानी बनाए नि मलाई। जर्मनी यात्रा, मेरो गाडी मोह अनि बहसमा पाएको हैरानी अर्को अंकमा।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

चौथो अंगमा प्रकाशक उज्ज्वल शर्मा : अधिकांश सम्पादक घमन्डी छन्, प्रकाशकलाई मुर्ख ठान्छन्

केही साथीहरुले दैनिक पत्रिका चलाउन सल्लाह दिनुभयो। त्यसपछि हिमालय टाइम्स खुल्यो। हिमालय टाइम्सको आर्थिक आधार भनेको मेरो घर थियो। त्यही घरलाई बैंकमा राखेर ७५ लाख....