उकेरा अपडेट

३९ औं बिपी स्मृति दिवस : सत्तामा पुगेपछि कांग्रेसले बिर्सियो बिपीलाई 

बिपीको सम्झनामा न केन्द्रले कुनै कार्यक्रम गर्याे न त पार्टी सभापति देउवाले विज्ञप्ति निकाले 

केशवप्रसाद पाण्डे


काठमाडौं : आज बिपी कोइरालाको ३९ औं स्मृति दिवस। विभिन्न माध्यमबाट प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको राजनीतिक र साहित्यक जीवनमाथि चिन्तन–मनन भइरहेको छ। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कहरका कारण ठूला औपचारिक कार्यक्रममार्फत उनलाई सम्झने अवस्था रहेन। भर्चुअल माध्यमबाटै भए पनि उनको योगदानमाथि चर्चा–परिचर्चा भइरहेका छन्। तर, उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले सत्तामा पुगेपछि बिपीलाई सम्झने फुर्सद पाएन। 

औपचारिकरूपमा मात्र पनि पार्टी केन्द्रको तर्फबाट भर्चुअल कार्यक्रमसमेत राखिएन। त्यस्तै, प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले सामान्य विज्ञप्तिसमेत निकालेर बिपीलाई सम्झने फुर्सद पाएनन्। 

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको तर्फबाट बिपीको सम्झनामा दुई वटा कार्यक्रम तय भएका थिए। 

‘पहिलो नम्बरमा केन्द्रीय कार्यालयले ७७ जिल्लालाई स्मृति दिवस मनाउन सर्कुलर गरेको थियो। दोस्रो, कांग्रेसको सूचना र प्रचार विभागले गरेको कार्यक्रममा ७७ वटै जिल्लाका पार्टी प्रतिनिधि जोडिएर पार्टी सभापतिलगायत नेताको उपस्थितिमा कार्यक्रम गर्याे,’ उनले उकेरासँग भने।

त्यसबाहेक पार्टी केन्द्रीय कार्यालयले कुनै कार्यक्रम आयोजना नगरेको उनले बताए। 

बिपीको स्मृतिमा कांग्रेस सभापति देउवा र पार्टीका तर्फबाट कुनै विज्ञप्तिसमेत जारी गरेका देखिएन। यसबारे प्रश्न गर्दा मुख्य सचिव पौडेलले विज्ञप्ति ननिकालिएको पुष्टि गरे। 

सभापति देउवाले सूचना र प्रचार विभागले जुममार्फत गरेको कार्यक्रममा नै आफ्नो भनाइ राखिसकेकाले विज्ञप्तिको आवश्यकता नपर्ने जिकिर गरे। 

‘विज्ञप्ति ननिकाले पनि सभापतिज्यूले प्रचार विभागले गरेको कार्यक्रममा आफ्नो भनाइ राखिसक्नुभएको छ। उहाँले त्यहीँ बोल्नुभएको छ। भाषण नै गर्नुभएको छ नि !’ 

व्यस्तताको कारण देखाउँदै जुममार्फत साढे २ मिनेट मात्र सम्बोधन गरेका देउवाले बिपीलाई ‘भर्सटायल’ व्यक्तिको रूपमा प्रस्तुत गरे। उनले बिपीको राजनीतिक र साहित्यिक योगदान अतुलनीय रहेको चर्चा गरे। 

‘सानो देशका ठूला मान्छे भनेर भन्ने गरेको छु मैले, यस्ता व्यक्तिको बारेमा जुममार्फत भए पनि बोल्ने अवसर पाएँ। बिपीलाई सम्झन यति कुरा गरेर साध्य छैन कहाँदेखि सुरु गर्ने कहाँ लगेर अन्त्य गर्ने ?’ देउवाले सम्बोधनका क्रममा भनेका थिए। 

त्यसबाहेक सभापति देउवाले दिउँसो १ः५० बजे मात्र आफ्नो फेसबुक पेजमार्फत बिपीलाई सम्झिए। उनले स्टाटसमा बिपी आफ्नो राजनीतिक गुरु मात्रै नभई अभिभावकसमेत रहेको र आज चार दशकअघि बिपीसँगको सामीप्यतामा फर्किएको महसुस गरेको उल्लेख गरे। 

देउवाको स्टाटसमा भनिएको छ, ‘बिपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो। उहाँको प्रेरणाले नै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौं। आज उहाँको ३९ औ स्मृति दिवस। आज मेरो स्मृति चार दशकअघि उहाँसँगको सामीप्यतामा फर्किएको महसुस गरेको छु। तपाईंको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ। श्रद्धेय नेता बिपी कोइरालाप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर डाक्टर बनेका विजयश्यामलाई सिआइबीले समात्यो

ललितपुर महानगरपालिका-२ घर भएका रञ्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिएर काम गरेको सिआइवीले दाबी गरेको छ। सिआइबीले उनी विरुद्ध अनुसन्धान सकाइसकेको....

तोडियो शपथ परम्परा, राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै 

तर, उक्त प्रचलन तोड्दै राज्यमन्त्री श्रेष्ठलाई सिंहदरबारमै पद तथा गोपनीयताको शपथ गराइयो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सिंहदरबारमा आज शपथ गराए।  त्यसो त राष्ट्रपतिको कार्यालयले कोरोना....

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश कुमार रेग्मीको आज (आइतबार)को इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुला इजलासमा बहस पैरवी....

देशभर थप २२३७ जनामा कोरोना संक्रमण, २०५० निको भए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा कोरोना पोजेटिभ....

देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली....