स्पष्टीकरण सोधेका सांसदलाई कारबाही नगर्ने एमाले ओली पक्षको संकेत

स्पष्टीकरण सोधेका सांसदलाई कारबाही नगर्ने एमाले ओली पक्षको संकेत

पार्टी एकताका लागी भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गर्दै जारी १० औँ केन्द्रीय कमिटी बैठक आज बुधबार सकिने भएको छ। 

केन्द्रीय कमिटीको पहिलो दिनको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा निर्णय गराए पनि स्पष्टीकरणको पत्र देउवालाई विश्वासको मत दिएका सांसदले नपाएको बताएका छन्। 

एमाले सांसद कलिला खातुनले आजसम्म स्पष्टीकरणको पत्र हात नपरेको बताइन। ‘बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको सुनेको हुँ,’उनले भनिन्,‘तर, आजसम्म पत्र हात परेको छैन।’ 

ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले कारबाही गर्ने नगर्नेबारे ‘खोइ के हुन्छ’ भनेका छन्। उनले केन्द्रीय कमिटीको जारी केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी रहेको बताए। ‘केन्द्रीय कमिटीको जारी बैठक आज टुङ्गोमा पुर्याउने कुरा भएको छ,’नेम्वाङले भने,‘स्पष्टीकरण सोधिएका सांसदहरूको बारेमा खोइ के हुन्छ थाहा भएन।’ 

मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई गर्ने कारबाहीका बारेमा २४ घण्टा पूरा नभएकाले कारबाहीको कुनै निर्णय नभएको बताएका थिए। एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार दिउँसो ३ बजे बस्दैछ। 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आज बुधबार पार्टी एकता कार्यदलका पूर्व सदस्यहरूसहित देउवालाई विश्वासको मत दिने नदिने सबै नेताहरूको बैठक राखेका छन्। 

बैठक बस्ने तयारी भए पनि समय भने निश्चित नभएको एमाले सांसद सुरेन्द्र पाण्डेले बताए। एमालेमा नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्नु पर्ने सर्त राखेको छ। 

६ साउन, २०७८, ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।