ओप-एड

बिपी स्मृति दिवस : उधारो आश्वासनमुक्त कांग्रेस

सञ्जय पन्थी


काठमाडौं : आज अर्थात् साउन ६ गते नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३९ औँ स्मृति दिवस।

अदालती आदेशको जगमा सत्तामा पुगेको कांग्रेसले अरू बेलाभन्दा यस पटक बिपी कोइरालालार्ई स्मरण गरिरहँदा पृथक सन्देश प्रवाह गर्नु आवश्यक छ। जसले नागरिकमा राजनीतिक दलप्रतिको नैराश्यतालाई चिर्दै आशाको सञ्चार गराउन सकोस्। 

आदर्श, गुण र निष्ठाको खडेरी भइरहेका बेला बिपीको ३९औँ स्मृति दिवस मनाउँदै गरेको कांग्रेसले समर्थकहरूमा आशा र भरोसाको सञ्चार हुने गरी कोइरालाका गुण स्मरण गर्नु सार्थक हुनेछ। अनपेक्षित रूपमा सत्ताको जिम्मेवारी आइलागेको कांग्रेसले बिपीको आदर्श र चरित्र व्यवहारबाट स्मरण सक्नुपर्छ। भन्नुको अर्थ विगतका गल्ती कमजोरीलाई प्रायश्चित गर्दै अग्रजका आदर्श र सपनालाई साकार पार्न ध्यान दिन सक्नुपर्छ। कांग्रेस अब उधारो आश्वासनको राजनीतिबाट मुक्त हुनुपर्छ। 

नागरिकको अपेक्षालाई सम्बोधन गर्न पनि सरकारको कार्यशैलीमा परिवर्तन गर्न आवश्यक छ। सरकारको सर्भिस सर्तमुखीभन्दा पनि सेवामुखी हुनुपर्छ। साथै बिपी स्मृति दिवसको अवसरमा नेतृत्वले समूहमा बसेर आत्मसमीक्षा गर्नु उचित हुनेछ। व्यवहार र कर्मबाट यतिबेला बिपीलाई अन्वेषण गर्नु  सच्चा श्रद्धाञ्जली हुनेछ।

त्यसैले पनि बिपीका गुण स्मरण गरेर उनको आदर्शलाई व्यवहारमा उतार्न यस पटक कांग्रेस चुक्नु हुँदैन। बिपीले प्रधानमन्त्री हुँदा घटाएको आफ्नै पारिश्रमिक मर्मलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुझ्न सकुन्। ती दृष्टान्तलाई स्मरण गरेर देउवाले संकल्प गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्धता जाहेर गरुन्।

जीवनमा अनेक आरोह–अवरोह पार गर्दै २०१६ सालमा प्रधानमन्त्री बनेका बिपी कोइरालाको जीवन उत्तरार्द्धमा दुःखान्त रह्यो। २०१७ सालको पृष्ठभूमि र त्यसपछिको राजनीतिले निम्त्याएको कालखण्डले बिपीको राजनीतिक जीवनलाई अझै उचाइमा पुर्‍यायो। २०१७ साल पुस १ गतेको राजनीतिक घटना र परिदृश्यको चर्चा अन्य कुनै प्रसङ्गमा गरौंला। 

वयोवृद्ध नेता केबी गुरुङले बिपी मेलमिलापका लागि नेपाल आउनु अगावै उहाँलाई भारतीय समकक्षी केही नेताहरूले ‘हामी यहीँ (भारत) बाट प्रधानमन्त्री घोषणा गरेर स्वदेश फिर्ता पठाउँछौँ’ भन्दा बिपीले ‘मलाई प्रधानमन्त्री त नेपाली जनताले बनाउने हो’ भनेको स्मरण सुनाएका थिए।

गुरुङका अनुसार बिपीले त्यतिबेला ‘तपाईँहरूले मलाई प्रधानमन्त्री बनाउने हैन’ भन्ने जवाफ दिएका थिए। त्यसको केही समयपछि भारतको निर्वासन बसाइ राजनीतिक कारणले प्रतिकुल बन्दै गएपछि गान्धीको आदर्श अनुसरण गर्दै मेलमिलाप नीति लिएर बिपी स्वदेश फर्किएको प्रसङ्ग गुरुङले यो स्तम्भकारलाई सुनाएका थिए। 

त्यसपछि पनि बिपीलाई तत्कालीन पञ्चायती शासकले उदारभाव प्रकट गर्न सकेनन्। शंका र भयको नजरले मात्र हे¥यो। तर बिपीले शासकप्रति उच्च करुणाभाव प्रकट गरिरहे। राष्ट्रियताका सवालमा राजासँग मेरो घाँटी जोडिएको छ भन्नु उनको साहस थियो। तर राजा वीरेन्द्रले बिपीको उक्त भावनालाई बुझ्न सकेनन्।

देशभित्र भएको राजनीतिक उथलपुथलपश्चात् राजाले २०३६ सालमा बहुदल र निर्दलको निर्वाचन घोषणा गरे। साथै २०३७ सालमा निर्वाचन सम्पन्न भयो। अस्वाभाविक रूपमा बहुदललाई हराइयो। उक्त सन्दर्भका बारेमा स्वर्गीय नेता रामहरि जोशीले आफ्नो आत्मकथामा ‘निरंकुश पञ्चायती व्यवस्था र त्यसको अन्त्य’ शीर्षकमा विस्तृत व्याख्या गरेका छन्।

निर्वाचनकोे परिणामलाई बिपीले सहज रूपमा स्वीकार गर्नु नेतृत्वमा हुनुपर्ने गुणको अर्को उदाहरण थियो। तर यतिबेला दलभित्रको आन्तरिक निर्वाचन होस् वा अन्य निर्वाचन पराजितको नतिजा सामना गर्नु परे प्रतिशोधमा उत्रिने संस्कार हाबी हुँदै गएको छ। त्यसैले पनि महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसले बिपीको उक्त गुणका बारेमा चर्चा गर्न आवश्यक छ। 

राजनीतिमा सहिष्णुता र सहनशीलताको संस्कार अपनाउँदै आएका बिपीले त्यस पटकको निर्वाचन परिणामलाई नमानिदिएको भए मुलुक असहज अवस्थामा फस्ने थियो। कारण भोटको अन्तर खासै धेरै थिएन। तर बिपीले प्रजातन्त्रको भविष्य देखेर परिणाम स्वीकारेका थिए भन्न सकिन्छ। नभन्दै एक दशकमा मुलुकमा २०४६ सालको जनआन्दोलनको बलमा प्रजातन्त्र पुनर्बहाली भयो। 

क्षमता र गुणको पहिचान गर्न सक्ने सामर्थ्य बिपीमा रहेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बताउँछन्। गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको भर्चुअल सभालाई सम्बोधन गर्दै निधिले बिपीको राजनीतिक संस्कारका बारेमा जानकारी गराए।

२०३३ सालमा मेलमिलापको नीति अंगिकार गरेका बिपीले त्यसपछि अहिंसाको राजनीतिलाई संस्कार बनाए। हिंसाले क्षय र भय उत्पन्न गराउँछ भन्ने राम्रैसँग बुझेका उनले ढिलो–चाँडो देशमा प्रजातन्त्र पुनर्स्थापना हुन्छ भन्ने विश्वास व्यक्त गरेका थिए। आफ्ना विरुद्ध राज्य द्रोहको मुद्दा रहँदा–रहँदै २०३३ सालमा मेलमिलापको नीति अंगिकार गर्दै स्वदेश फर्किनु उनको दूरदर्शिता र दृढ आत्मविश्वास थियो। सबैभन्दा ठुलो विश्वास उनलाई आफ्नो नैतिक चरित्र र गुणको थियो। विरासतको दाबी गर्ने पुस्तामा उक्त गुणको अभाव छ। 

राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई सार्थक नारा बनाएका बिपीको क्यान्सर रोगले ग्रस्त अवस्थामा २०३९ साउन ६ गते निधन हुन पुग्यो। उनको भौतिक जीवनको अवसानपछि पनि नेपाली राजनीतिले शिखर व्यक्तित्वका रूपमा उनलाई स्मरण गर्दै आएको छ। विशेष गरी जन्म दिवस र स्मृति दिवसको अवसर पारेर उनलाई स्मरण गरिँदै आएको छ।

विभिन्न उतार–चढावका बाबजुद जीवनको उत्तरार्द्धमा गान्धीका गुण अनुसरण गरेका बिपी कोइरालाले जनतालाई सधैँ राजनीतिको केन्द्रमा राखे। आफू तपसिलमा रहेर त्यागलाई सर्वोपरि ठाने। त्यसैले पनि उनी अहिलेको पुस्ताका लागि स्मरणीय छन्। 

गान्धीले बुद्धका आदर्श गुण अनुसरण गरेजस्तै बिपीले पनि बुद्धका पञ्चशीलको सिद्धान्त अनुसरण गरे। २०१६ सालमा निर्वाचित प्रधानमन्त्री बनेका बेला त्यही गुणलाई राष्ट्रको जीवनमा उतारे। मुलुकको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित बनाए।

१६ महिनाको अवधिमा इजरायल, पाकिस्तान सहित १७ देशसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न उनी सफल रहे। परराष्ट्रविद् डा. दिनेश भट्टराई त्यसैले परराष्ट्र नीतिका सन्दर्भमा बिपीलाई बिर्सिन नसकिने बताउँछन्। भट्टराई भन्छन्, ‘समय अनुकूल बनाउन परिमार्जित गरिए पनि मुलुकको परराष्ट्र नीति त्यही जग र सिद्धान्तमा उभिएको छ।’ 

बाल्यकालमा गान्धीकै गुण र आदर्शबाट प्रेरित बिपी ४ दशकको सक्रिय राजनीतिक जीवनमा अहिंसा, हिंसा र अहिंसाका पक्षपाती बन्न पुगे। गान्धीकै आदर्श र विचारबाट प्रभावित रहेर भारतीय स्वतन्त्रताको आन्दोलनमा भाग लिन पुगे। भाग मात्र लिएनन्, करिब साढे तीन वर्ष जेल जीवन नै बिताए।

बिपीले भारत प्रवासमै नेपाली राष्ट्रिय कांग्रेस र एकीकरणपश्चात् नेपाली कांग्रेसको स्थापना गरे। उनकै नेतृत्वमा २००७ सालमा राणा शासन अन्त्य भयो। उनका अतिरिक्त गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, महेन्द्रनारायण निधि लगायतका तत्कालीन नेता–कार्यकर्तामा त्याग, निष्ठा, संघर्ष र राष्ट्रभक्ति लगायतका गुण पल्लवित रह्यो।

त्यही गुणको विरासतमा नेपाली कांग्रेस अहिलेको अवस्थामा आइपुगेको हो। बिपी नेपालको राजनीतिक इतिहासमा आदर्श जीवन र उच्च विचारका प्रतिमूर्ति बनेर रहेका छन्। यतिबेला त्यही कांग्रेसमा विरासतको दाबी गर्ने पुस्तामा नेतृत्वको होडबाजी छ। आगामी नेतृत्वका लागि विरासतको पुस्ताबीच तिकडम र रस्साकस्सी चलेको छ। आगामी भदौ १६ देखि १९ गतेसम्म १४औँ महाधिवेशनको मिति तय भएको छ। त्यसैको तयारी गरिरहँदा बिपीको ३९औँ स्मृति दिवस मनाइँदै छ। 

नेतृत्वका लागि तम्तयार पुस्ता अग्रजहरूको आदर्श, विचार र गुणले कति पल्लवित छन्? निष्ठाका प्रतिमूर्ति अग्रजका आदर्श विचार र गुण कति निहित छन्। कांग्रेसले देशका ३/३ वटा आन्दोलनको नेतृत्व गर्न सक्षम रह्यो। अग्रजहरूको योगदान र गुणका कारण यो सम्भव भएको हो। 

निष्ठाले परिपूर्ण अग्रजहरूमा आत्मशुद्धि र आत्मशोधन (आत्ममन्थन) को गुण थियो। किनकि प्रायश्चित र आत्मशुद्धिले मानिसलाई दृढ र संकल्पित बनाउँछ। तर यतिबेला कांग्रेस नेतृत्व गुट, उपगुटमा विभक्त छ। पार्टीमा संवेदनशीलता, सहिष्णुता र हार्दिकताको संस्कार विलुप्त छ। पार्टी प्रतिशोधको संस्कारले निर्घात बन्न पुगेको छ। पार्टीमा अनुशासनहीनता मौलाएको छ। साथै नैतिक धरातल पनि खस्किएको छ। नैतिक बल प्राप्त गर्न कांग्रेस नेतृत्वले वर्तमानमा आत्मशुद्धि र प्रायश्चित गर्न आवश्यक भएको छ।

पार्टीलाई गुट, उपगुट हुँदै गिरोहमा परिणत हुनबाट बचाउन पनि संस्कार र पद्धति निर्माण गर्न आवश्यक छ। साथै आदर्श विचार र सभ्य जीवन शैलीबाट नेतृत्व प्रशिक्षित हुन आवश्यक छ। केही मात्रमा भए पनि अग्रजका आदर्श गुण पछ्याउँदै संस्कारको सञ्चार गर्न नेतृत्वले ध्यान दिन आवश्यक छ। 

नैतिक बल विनाको संगठन लोकतन्त्रमा समूह वा जत्थामा परिणत हुने सम्भावना रहन्छ। साथै नैतिक बल बिनाको नेतृत्व र संगठनले जनमत प्राप्त गरे पनि टिकाउ हुन सक्दैन। अनुशासन बिना निर्माण भएको संगठनले जनमत प्राप्त गरे पनि शासन व्यवस्था सञ्चालन गर्दा निष्प्रभावी मात्र नभएर स्वेच्छाचारी हुने सम्भावना रहन्छ। जसरी निवर्तमान प्रम केपी ओली स्वेच्छाचारी बन्न पुग्दा ५ वर्षका लागि प्राप्त जनअभिमत ४१ महिनामा गुम्न पुग्यो।

स्वेच्छाचारिताले व्यक्तिमा अहंकार र दम्भ पलाउने हो। निवर्तमान प्रम ओलीलाई न पार्टीले अनुशासन अनुसरण गराउन सक्यो। न प्रम ओलीले आफ्नो व्यवहारबाट शासन व्यवस्थामा अनुशासन पालना गराउन सके। कार्यकर्तालाई गुट–उपगुटमा विभाजित गरेर भक्तकै स्वरूपमा उतार्न ओली लालायित रहे। सत्ता वर्हिगमनपश्चात निजी निवास पुग्दा समेत राजा–महाराजाकै शैलीमा कार्यकर्ताको  जय–जयकार र लावा लस्कर सहित गृह प्रवेश गरे। 

एजेन्डा विनाको संगठन र संगठन विनाको जनमत तासको घर जस्तै हो। त्यसैले संगठन र समाजका बीचमा तादम्यता कायम गर्न वैचारिक चिन्तनको आवश्यक रहन्छ। जुन कुरालाई पूर्वप्रम ओलीले कहिल्यै ध्यान नै दिएनन्। उनले सधैँ जवाफी हमलालाई आफ्नो सामर्थ्य सम्झिए। उल्लेखित गुणबाट वर्तमान प्रधानमन्त्री देउवा बच्न आवश्यक छ। जुन गुण यसअघि देउवाबाट पनि प्रदर्शन नभएको भने होइन। 

कुनैबेला प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव होस् वा तत्कालीन माओवादी उम्मेदवार (भरतपुरकी मेयर) रेणु दाहालका पक्षमा नेतृत्वले निहित स्वार्थवश देउवाले देखाएको सहिष्णुता सिद्धान्ततः ठिक थिएन। उक्त निर्णयले आस्थावान् कार्यकर्ताको विश्वासमा चोट लाग्न पुगेको थियो। निष्ठावान् हजारौँ कार्यकर्ता द्वन्द्वकालमा कांग्रेस भएकै कारण मारिए। तर उक्त तथ्यलाई बिर्सिएर पार्टी सभापतिले प्रचण्ड पुत्रीका लागि मत माग्नु कति न्यायोचित थियो?

सामान्य परिवारको पृष्ठभूमिका सभापति देउवाले यसअघि ४ पटक सत्तामा पुग्दा बिर्सिएको आफ्नो विगत यस पटक नर्बिसिदिउन्। लोकतन्त्रमा जनताको विवेक (कन्साइन्स) मत ठुलो हो। मतदानबाट मत व्यक्त गरेका जनताले ५ वर्षका लागि कम्युनिस्टलाई सुम्पिएको सत्ता अनपेक्षित रूपमा फेरि देउवालाई प्राप्त हुनु स्वर्णिम अवसर हो। 

यद्यपि, यतिबेला कांग्रेसमा १४औँ महाधिवेशनको रौनक सुरु भएको छ। महाधिवेशन निर्धारित मितिमै हुन सकोस्। कांग्रेसमा सभापति पदका लागि यतिबेला आकांक्षी धेरै छन्। सभापति पदका तीव्र आकांक्षीमध्ये एक हुन्, वरिष्ठ नेता रामचन्द्र पौडेल। भारतका समाजवादी नेता जगजीवन राम र वरिष्ठ नेता पौडेलको राजनीतिक जीवन एक–अर्काको सन्दर्भमा परिपूरक देखिन्छ। 

यता फेरि सभापति पद हत्याउनकै लागि सभापति शेरबहादुर देउवालाई बालुवाटारको निवास उपयोगी नहोला भन्न सकिँदैन। राजा–महाराजा र कुलिन परिवार खेल्ने जुवा (कौडा)मा चार दाउ रहन्छन्। १६ कौडी फालेर खेलिने उक्त जुवामा चार दाउ र ४/४ (घर) हुन्छन्। दाउ हान्ने स्थललाई ‘खाल’ भनिन्छ। ४/४ दाउमा च्याँखे थाप्नेहरू पनि हुन्छन्। चार दाउका ४/४ घरमध्ये तिया ‘सत्ता’ दाउको घर हो। 

त्यसैगरी कांग्रेसमा यतिबेला तिया दाउका लागि ‘च्याँखे’ थाप्नेहरू धेरै देखिएका छन्। कुनैबेला बिपीले काभ्रेको नालामा आफ्नो उद्देश्य प्राप्ति (काठमाडौं प्रवेश गर्न) का लागि तिया दाउमा च्याँखे थाप्दा रित्तिएका थिए। उक्त प्रसंग बिपीको आत्मकथामा पढ्न पाइन्छ। 

तर, यतिबेला तिया दाउ सभापति पदको ‘बिम्ब’ बन्न पुगेको छ। खालबाट आउने परिणामलाई ख्याल नै नगरी नेताहरू उक्त पदका लागि चारैतिरबाट जुवाको दाउ जस्तै बनाएर खाल हान्न तम्तयार छन्। सभापति पद हत्याउन, दाउ हानिरहँदा च्याँखे थाप्नेहरू पनि कम छैनन्। त्यसरी प्राप्त हुने पद र प्रतिष्ठा भविष्यका लागि कति प्रभावकारी रहला?

गुट र उपगुटमा विभाजित कांग्रेस कार्यकर्ताले अगामी महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्लान्? त्यो झनै प्रतीक्षाको विषय भएको छ। सरकारको नेतृत्वको अवसर प्राप्त कांग्रेस सशक्त र एकताबद्ध भएको सन्देश प्रवाह गर्न पनि महाधिवेशन आपसी सद्भावबाट सम्पन्न गर्न आवश्यक छ। अन्यथा भारतको कांग्रेस जस्तै नेपाली कांग्रेस पनि थला नपर्ला भन्न सकिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

शेरबहादुरको गति र मति

विश्वासको मतको पक्षमा मतदान गर्ने घोषणा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले टीकापुर घटना हुँदा त्यहाँ नभएका चौधरीलाई अनाहकमा जेल हालेको गुनासो गरेपछि त्यसको....

सुँगुर प्रजातिको अधकल्चो मासु खाँदा हुनसक्ने रोग : ट्राइकोनेलोसिस

ट्राइकोनेलोसिस रोग पशुपक्षीबाट मानिसमा सर्छ। यदि सुँगुर, बङ्गुर तथा बँदेल यस परजीवीबाट प्रभावित रहेछन् भने यो रोग मानिसमा सर्न सक्छ। नेपालको परिवेशमा हेर्दा होटेल,रेस्टुरेन्ट तथा....

अन्तरजातीय विवाह : क्रान्ति होइन, स्वभाविक प्रक्रिया

सबै पूर्वाग्रहहरुलाई परै छोडेर, निर्मम भएर समीक्षा गर्ने हो नेपाली समाजमा दुईथरी स्तरीकरण छन्, ठाडो र तेर्सो स्तरीकरण। स्वतन्त्र भएर समीक्षा गर्ने हो भने, हामीले....

सर्वोच्चको फैसलाबारे पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा : अदालतले चलमल नै गर्न नपाउने गरी बन्धन लगाइदियो 

सर्वोच्च अदालतले विघटन बदर गरेको केही समयमै दोस्रो पटक संसद् विघटन हुन पुगेको थियो। दोस्रो विघटनलाई पनि फैसलाले रोकेको छ। सर्वोच्चको दोस्रो फैसलाबाट संविधानको स्थायित्व चाहिँ....

सम्पादकीय : अब  राष्ट्रपति भण्डारीलाई बिदा गर

सम्बोधनमा उनले अदालतको फैसलाको आलोचना गर्दै यसले नेपाली राजनीतिमा दूरगामी असर पर्ने दावी गरे। असन्तुष्टि राखे पनि ओलीले आफ्नो स्वभाव अनुसार चर्कै गाली भने गरेनन्। ....