कांग्रेस महाधिवेशन : १२ साउनबाटै सम्भव छ, तल्लो तहको अधिवेशन ?

कांग्रेस महाधिवेशन : १२ साउनबाटै सम्भव छ, तल्लो तहको अधिवेशन ?

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाअधिवेशनको कार्यतालिका भदौ १६ देखि १९ सम्म तोकिएको छ। तर अन्तिम समयसम्म क्रियाशील सदस्यता विवाद समाधान नहुँदा १२ साउनबाट सुरु हुने भनिएको तल्लो तहको अधिवेशन अझै अलमलमा छ।

कांग्रेस महाअधिवेशनका लागि १२ साउनबाट तल्लो तहको अधिवेशन हुँदै केन्द्रको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। त्यसका लागि कांग्रेससँग एक हप्ताभन्दा कम समय मात्र बाँकी छ।

तल्लो तहबाट सुरु हुने अधिवेशनको प्रारम्भिक मतदाताको रुपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगोमा पुग्न लागेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले दावी गरेको छ।

समितिका सदस्य तथा प्रवक्ता प्रदिप पौडेल सदस्यताको विषय टुंगो लागेर पार्टी सभापति सभापति शेरबहादुर देउवालाई बुझाउने क्रममा छ।

‘हामीले प्रतिवेदन दिन सभापति देउवासँग समय पर्सि बिहीबारको मागेका छौँ। सभापतिज्यूले कहिलेको समय दिनुहुन्छ। त्यस अनुसार हाम्रो तर्फबाट टुंग्याउँछौँ,’ उनले उकेरासँग भने, ‘सदस्यताको अधिकांश विषय टुंगिएका छन्। बारा र सप्तरीका केही बाहेकको सदस्यताको विषय टुंगिएको छ। समितिको काम अन्तिम सदस्यताका टुंगो लगाउने अन्तिम चरणमा छ।’

सभापति देउवाले समितिको प्रतिवेदन बुझेपछि केन्द्रीय कार्यसमितिमा पेस गर्नेछन्। यससँगै अधिवेशन सुरु हुनेछ। पौडेल सदस्यताको विषय टुंगो लगाउने क्रममा भएको ढिलाइका कारण १२ को कार्यतालिकामा हेरफेर हुने बताँउछन्।

‘कार्यतालिका अनुसार १२ साउनबाटै तल्लो तहको अधिवेशन सुरु हुने सम्भावना छैन। आठ/दस दिन पछाडि सर्नसक्छ। तर केन्द्रीय महाअधिवेशनको मितिमा कुनै परिवर्तन हुँदैन। नटुंगिएका स्थानको सदस्यता थाती राखेर पनि अधिवेशन सुरु गर्न सकिने बाटो खुलेको छ,’ उनी भन्छन्। क्रियाशील सदस्यता विवाद टुंगो नलागेका जिल्लाको हकमा केन्द्रले टुंगो लगाउने पौडेलले बताए। ‘सहमति हुन नसकेका विषय हामीले केन्द्रमा नै पठाइदिएका छौँ,’ उनले भने।

क्रियाशील सदस्यताका लागि देशभरबाट जम्मा ८ लाख ५२ हजारको नाम इन्ट्री भएकोमा ८ लाख २० हजारको संख्यामा सदस्यता कायम भएको पौडेल बताउँछन्।

कार्यतालिका अनुसार २० असारमा सदस्यताको टुंगो लगाइसक्नुपर्थ्यो। तर त्यसको दुई साताभन्दा बढी समयसम्म पनि यो विषयले निकास पाउन सकेन।

साउन २ मा बसेको कांग्रेसको पदाधिकारी बैठकले निर्धारित समयमा नै महाधिवेशन सम्पन्न गर्नेगरी तल्लो तहको महाअधिवेशनको मिति हेरफेरको प्रस्ताव केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो।

५ साउन, २०७८, १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।