सातै प्रदेशमा मिनी फिल्मसिटी बनाउने तयारी

सातै प्रदेशमा मिनी फिल्मसिटी बनाउने तयारी

काठमाडौँ : चलचित्र विकास बोर्डले सातै प्रदेशमा चलचित्र छायांकनस्थल बनाउने भएको छ। फिल्म सिटीको विकल्पमा बोर्डले इनडोर र आउटडोर छायांकन स्थल बनाउन लागेको हो।

बागमती प्रदेशको दोलखामा फिल्म सिटी बनाउने योजना छ। बोर्डका अध्यक्ष दयाराम दाहालले सातै प्रदेशमा अत्याधुनिक छायांकन स्थल निर्माणको तयारी भइरहेको बताए।

उनले राजधानीको आसपास साँगा क्षेत्रमा चलचित्रको अत्याधुनिक इनडोर छायांकनस्थल निर्माण गर्न लागिएको छ। त्यसका लागि डिपिआर समेत तयार भइसकेको छ। यसका लागि टेन्डर आह्वान भइसकेको दाहालले  बताए।

गत वर्ष सरकारले बजेट घोषणामा स्थानीयस्तरमै चलचित्र छायांकनका लागि स्टुडियो निर्माण गर्ने उल्लेख गरेको थियो। त्यसै अनुरूप काम भइरहेको दाहालले बताए।

उनका अनुसार अहिले प्रदेश नम्बर १ मा बोर्डको कार्ययोजना अनुरूप छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समितिले वराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टापु क्षेत्रलाई चलचित्र छायांकनस्थल बनाउन उपयुक्त देखाएको र स्थानीय तहलाई प्रतिवेदन बुझाइसकेको छ। 

गत सोमबार नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान सहितको टोलीले वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाललाई भेटी प्रतिवेदन बुझाएको थियो।

यसबारेमा नगर प्रमुखले स्थानीय स्तरमा एउटा समिति गठन गर्नुपर्ने समेत सुझाव दिएको अध्यक्ष प्रधानले बताए। अध्यक्ष प्रधानका अनुसार करिब २ सय रोपनीमा चलचित्र छायांकनस्थल निर्माण गर्न लागिएको हो। 

दाहालका अनुसार साँगामा छायांकनस्थल निर्माण गर्न लागिएको छ। काठमाडौँबाट आधा घण्टामा पुगिने ठाउँमा अत्याधुनिक इन्डोर फिल्म स्टुडियो निर्माण गर्न लागेको उनले जानकारी दिए।

उनले काठमाडौँ नजिकै इन्डोर स्टुडियो निर्माण गर्न लागेको बताए। यसको डिपिआर सम्पन्न भइसकेको र चाँडै टेन्डरमा जाने उनले दाबी गरे।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा छायांकनस्थलको विषयमा छलफल भइरहेको उनले बताए।

दोलखामा फिल्म सिटी 

दाहालका अनुसार दोलखाको डाङडुङे डाँडामा अहिले फिल्म सिटीको काम भइरहेको छ। यसको डिपिआर र मास्टर प्लान समेत भइसकेर पहिलो चरणको निर्माण प्रक्रियामा जाने तयारीमा रहेको उनले बताए।

केही सातामा प्रशासनिक र सूचना केन्द्रको भवन निर्माण थालिने उनले बताए। बाहिरबाट फिल्म सुटिङको बारेमा बाहिरबाट आउने मान्छेलाई जानकारी दिनका लागि सूचना केन्द्र राख्न लागिएको हो। 

यस वर्ष फिल्म सिटीमा सरकारले बजेट घोषणा नगरे तापनि प्रदेश सरकारले फिल्म सिटीका लागि लगानी गर्ने र गरिरहेको अध्यक्ष दाहालले बताए। 

२०७४ फागुन ६ मा दोलखाको डाङडुङे डाँडामा पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले फिल्म सिटीको शिलान्यास गरेका थिए।

५ साउन, २०७८, १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।