‘पसल खोल्नेवित्तिकै राजासँग आँखा जुध्छ’

‘पसल खोल्नेवित्तिकै राजासँग आँखा जुध्छ’

२०४८ सालमा काभ्रेको ढुंखर्कबाट काठमाडौं छिर्दैगर्दा गोविन्द सापकोटाले हिलो र नाम्लोसँगको नाता अब सकियो भन्ने ठानेका थिए। तर काठमाडौंले उनको आशलाई बेरोजगारीको हाँडीमा भुटनसम्म भुट्यो।

उनको श्रीमतीसँग सर-सल्लाह पनि गरे- सुख खोज्दै सहर छिरियो, झन् दु:खको भारी थपियो। गाउँ नै फर्कने की?’

मेलापर्म र खेती-किसानीमा रमाउन तयार थिएन गोविन्दको मन। उनलाई गाउँ गएर त्यही कुटो-कोदालो, नाम्लो, हँसिया, गोरु र हालो-जुवासँग नाता गाँस्नु नै थिएन।  उनी सहरमा नै बस्ने संकल्पमा अडिग रहे।

रहँदा-बस्दा गोविन्दले काम पाए। काम पाएपछि उनको खुसीको सीमा रहेन। छाक टार्न सजिलो हुँदै गयो। त्यतिबेला ४ जनाको परिवार पाल्न सक्छु भन्ने उनलाई लाग्यो। काठमाडौं छिरेको केही महिनामा लगनटोलमा महिनाको ३ सय रुपैयाँका दरले दुई वटा कोठा  भाडामा लिए।

त्यसबेला गोविन्दको कमाइ दैनिक २० रुपैयाँ हुन्थ्यो। बलियो ज्यान भएका कारण उनी मारबाडी र ठेकेदारको प्रियपात्र पनि बने। तर उनको भित्री मन भने खुसी थिएन।

जे काम गर्न नपरोस् भनेर काठमाडौं आएको, त्यही काम गर्नपर्यो उनले।

‘गाँउको कामबाट दिक्क भएर सहर आएको थिएँ। सहरमा पनि उही गाउँले काम पाइयो, भारी बोक्ने। सुरुमा त गुजरा चलाउन पर्ने थियो, खुसी नै भइयो। तर मन भने रमेन,’ गोविन्द भन्छन्, ‘घर बनाउने ठाउँमा भारी बोक्ने काम जे पाइन्थ्यो त्यही गर्थें। माडे र नेवार व्यापारीको भारी बोक्यो। नाम्लोदेखि भागेको, आखिर उही नाम्लो नबोकी भएन।’

०००
ललितपुर, माहाँकाल गाउँपालिकामा २०२६ सालमा जन्मिएका गोविन्दका पुर्खा धनीमानीमै गनिन्थे उतिबेला। गोविन्दका बालाई कुन्नी के कुराको सनक चढेछ। उनी  ललितपुरको सबै सम्पत्ति बेचेर जम्मा भएको १९ हजार बोकेर काभ्रेको ढुंखर्कतिर लागे २०३० सालमा।

बाले समयमा बुद्धि नपुर्याउँदा आफू घरविहीन हुनुपरेको जस्तो लाग्छ गोविन्दलाई। उनी भन्छन्, ‘बाले  काभ्रेमा जग्गा नकिनेर  ललितपुरमै बसेको भए सुखैले जान्थ्यो जिन्दगी।’

गाउँमा भएको घर भूकम्पले भत्काइदियो। सहरमा घर बनाउन दाम छैन गोविन्दसँग। उनी ४ कोठा भाडामा लिएर बसेका छन् ललितपुर, कल्खुमा। उनी आफूलाई पाटनबासी नै भन्न रुचाउने भइसके। घर कहाँ भनेर कसैले सोध्यो भने जन्मिएको ललितपुर, हुर्किएको काभ्रे भन्दा रहेछन्। उनलाई सहरसँग प्रेम सहरमा हुर्किन नपाएदेखि नै रहेछ।

‘बा त हुनेखाने नै हुनुहुन्थ्यो। हामी तीन भाइ छोरा थियौं। म जेठो। बालाई के सनक चढेछ। हुँदाखाँदाको ठाउँ छाडेर हत्तपत्त मान्छे बसाइ सर्न नचाहने ढुंखर्कमा बसाइ सर्नुभएछ,’ गोविन्द सुनाउँछन्, ‘त्यतिबेला काभ्रेमा हाल्ने पैसा चापागाउँमा हालेको भए अहिले अर्बपति हुन्थें। घर बिहीन हुने अवस्था आउँदैनथ्यो।’

गोविन्दको पाटन दरबार क्षेत्रको कल्खुमा रहेको बाजेको पानीपुरी पसलमा बेला-बखत आउने बुढापाकाले चिना-परिचय सोध्दा आफू यतैको लोकल भन्न पाउँथें भन्ने लाग्दो रहेछ। उनलाई आफ्नो पिता दूरदर्शी भइदिएको भए आफ्नो स्थान धेरै उच्च हुन्थ्यो भन्ने मनमा आइरहने रहेछ।

‘काठमाडौंमा दुई वर्ष मैले भरिया बनेर समय कटाएँ। परिवार पालें,’ गोविन्द भन्छन्, ‘त्यसबेला प्राय: काम सुन्धरातिर नै हुन्थ्यो। हामी खाजामा चिउरा र दालमोठ खान्थ्यौं। मुख फेर्न मन लागे, घ्युमा भुटेको केराउ पाइन्थ्यो सुन्धाराको पुलैमा। त्यही खान्थ्यौं।’

भारी बोक्ने कामबाट आजित भएका गोविन्दलाई भुटेको केराउ खाँदैगर्दा मनमा यस्तो विचार आयो, ‘यही व्यापार पो गर्न पर्छ कि क्या हो?’

गाउँमा भन्दा केही सुख त गोविन्दलाई काठमाडौंले दिएकै थियो। हातमा पैसा देख्न विशेष परिस्थिति कुर्नुपर्ने अवस्था थिएन। थोरै भए पनि कमाइ भइरहेकै थियो। तर नाम्ले जीवनबाट भने पार पाएका थिएनन्।

मुख फेर्न जुनै बेला सुन्धाराको पुलमा आउँदा पनि मान्छेको भीड देखिने। व्यापारीलाई भ्याइनभ्याइ हुने। एक दिन गोविन्दले ती व्यापारीलाई सोधे, ‘यो व्यापार गर्दा कस्तो होला?’

ती व्यापारी रहेछन् बाचाल। उनले केराउ भुट्ने व्यवसाय राम्रो छैन। नगर भन्ने सल्लाह दिएछन्। भारी बोक्नु भन्दा त एकै ठाउँमा बसेर व्यापार गर्दा सजिलो भन्ने लाग्यो गोविन्दलाई। उनले गोजी छामे। तीन सय रहेछ। त्यसपछि उनी लागे माल किन्न।

चना, बदाम, केराउ, भटमास र मकै त्यसबेला ३० भन्दा कम रुपैयाँ पाथीमा पाइन्थ्यो। माल उठाए। बसन्तपुरमा गए। दैनिक १० रुपैयाँ भाडा दिने सर्तमा गाडा भाडामा लिए। र, बेच्न सुरु गरे भुटेको गेडागुडी।

सुरुकै दिन उनले तीन सय लगानीमा २५० को व्यापार गरे। त्यसपछि नाम्लोसँगको उनको नाता टुट्यो। बेला-बखत गाउँमा काम गर्दा पनि उनी तालुमा नाम्लो हाल्दैनथे। आजसम्म पनि गोविन्दले तालुमा नाम्लो हाल्ने अवस्था नै आएन। र, यही संकल्पमा अडिग छन् उनी।

‘सोधेको मान्छेले हुँदैन भन्यो। जे पर्लापर्ला भारी बोक्न भन्दा त मकै बेच्नु सुख भनेर आँट गरें। व्यापार पनि सुरुकै दिन राम्रो भयो। त्यसपछि सही गरेछु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘दिनभरि मरिमेटेर भारी बोक्दा २० रुपैयाँ कमाइ हुने। यहाँ त एकै दिनमा त्यत्रो व्यापार भयो। नाम्लो जीन्दगी बोक्दिनँ भनेर आफैंसँग कसम खाएँ।’

दुई महिनासम्म गोविन्दले दैनिक २० रुपैयाँका दरले गाडा मालिकलाई १२ सय रुपैयाँ बुझाए। र, व्यापार सुरु गरेको तेस्रो महिनामा १५ सय रुपैयाँमा आफैंले गाडा किने। सोही गाडाले तीन छोरी र एक छोरालाई हुर्काए। उनले २०६८ सालसम्म बसन्तपुरमा त्यही गाडामा व्यापार गरे।

‘व्यापार त राम्रो हुने तर नगरपालिकाले बसिखान नदिने,’ गोविन्दले गुनासो गरे।

०००
२०५० सालबाट नगरपालिसँग लुकामारी गर्दै आएका गोविन्दले २०६८ मा आएर हार खाए। उनले फाइनान्समा जम्मा गरिराखेको १ लाख रुपैयाँले पाटन, कल्खुको पुरानो तीन कोठे घरमा ठाउँ किने। त्यसपछि उनको व्यापारको मोड बदलियो।

‘पसल लिएपछि त भुटेको गेडागुडी र मकै बेचेर मात्र भएन,’ उनी भन्छन्, ‘पसलको एउटा नाम दिएर चटपटे बेच्नु पर्यो भन्ने ठानें।’

गोविन्दले चटपटे र विभिन्न थरीका पानीपुरी बेच्न थाले। मान्छेको भीड पनि लाग्न थल्यो। तर पसलको नामै पो जुरेन। उनले गाँउमा हुँदाको क्षण सम्झिए।

‘गाउँमा बाजे भन्थे हामीलाई। सापकोटा बाहुन भएको कारण। उमेर पनि बाजेकै भइसक्या थियो,’ गोविन्द उत्साहित भए, ‘त्यसपछि पसलको न्वारन गरें, बाजेको पानीपुरी।’

०००
२०७२ सालमा भूकम्प गयो। भूकम्पले गोविन्दको गाउँको घरसँगै व्यापार गर्ने थलो पनि भत्कायो। उनैले घरभेटीसँग सल्लाह गरेर १ लाख ९० हजारमा जस्ताको टहरो बनाए। ४० हजार आफूले व्यहोरे। बाँकी घरभेटीले भाडामा कटाउँदै गए।

कोरोना आउनुअघिसम्म गोविन्दको परिवार त्यही चटपटे पसलले नै धानिरहेको थियो। तर कोरोनाको कारण उनको व्यापारले घर धान्न सकेन।

‘छोरो फ्याक्ट्रीमा काम गर्थ्यो। बिहान सात बजे गएर बेलुका फर्कन्थ्यो। दु:ख धेरै, पैसा कम,’ उनी भन्छन्, ‘आफूले चलाउन जानेको त्यही ठेला नै हो। ९ हजार लगानी गरेर ठेला किनिदिएँ। जागिर छोड्यो छोराले। अहिले तरकारी बेच्छ।’

छोराले बेचेर बचेको तरकारी गोविन्द आफ्नो पसलबाट कटाउँदा रहेछन्। ५ हजार लगानीबाट सुरु गरेको तरकारी व्यवसायले उनीहरुको परिवारलाई राहत दिएको छ। हालसालै मात्र उनले छोरालाई थप जिम्मेवारी पनि दिएका छन्।

‘मेरो कमाइले केही गर्नसक्ने अवस्था रहेन। कोरोनाले लामो समय लकडाउन भयो। अहिले छोराले राम्रै कमाउँछ तरकारीबाट। घरको खर्चको जिम्मा उसलाई सुम्पेको छु। मासु र दूध-दही मेरो जिम्मामा छ। विस्तारै सबै उसैले धान्छ।’

कोरोनाका कारण आर्थिक अवस्था धरासायी भएपछि कोरोनाको दोस्रो लहरमै सुरु गरेको व्यवसायलाई नै छोराले निरन्तरता देओस् भन्ने लाग्छ गोविन्दलाई।  आफ्नो चटपटे व्यवसायको अन्तिम मोड आइसेकको छ जस्तो लाग्छ उनलाई। उनी अब श्रमिक जीवनबाट अवकाश लिने तयारीमा छन्।

‘घरभेटीले घर बनाउँछु, ठाउँ खाली गर भनिसकेका छन्,’ उनी भन्छन्, ‘यो ठाउँ छाडेपछि अन्त कता खोज्नु? व्यापार पनि छैन। साथमा पैसा पनि छैन।  छोराले पनि गाडा समायो। अब आफू पसल छाडेर गाउँ नै फर्केर कुटो नै समाउनु पर्ला। गाउँमा १५ रोपनी बारी छ। खान पुगिहाल्छ।’

०००
गोविन्दले आफ्नो निष्कर्ष सुनाइरहँदा फोटो खिच्न  अनुमती मागे र आफ्नो पछाडि रहेको पूर्वराजा ज्ञानेन्द्रको फोटो देखाउँदै भने, ‘यो आउनेगरी खिच्नूस् है।’

‘किन?,’ मैले जिज्ञासा राखें।

‘मलाई राजा मन पर्छ। अरुले जस्तो देश त बेचेनन् नि। राजाको जन्मदिनमा टाँसेको उहिल्यै,’ उनी भन्छन्, ‘पसल खोल्नेवित्तिकै आँखैमा राजा ठोक्किन्छन्। आँखा जुध्छ। अनि चटपटे मोल्न जोस आउँछ।’

उनी चटपट् मोल्न थाले।

सायद, अब बाजेको पानीपुरीमा दही-पुरी खान पाउने छैनन् ग्राहकले। चाउचाउ, साबुन, सरफ पनि किन्न पाउने छैनन् कल्खुबासीले। गोविन्द जीवनको उत्तरार्धमा काभ्रे, ढुंखर्कको गाडी समाउने तरखरमा छन्। उनलाई घरधनीको अन्तिम आदेशको पखाइ छ।

४ साउन, २०७८, १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।