नेताको घर–घर किन पुगिरहेछन् विप्लव ?

नेताको घर–घर किन पुगिरहेछन् विप्लव ?

काठमाडौँ : सरकारसँग सम्झौता गरेर भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ चार महिना रेष्टमा बसे। २०७७ फागुन २१ मा उनी राष्ट्रिय सभामा सार्वजनिक भएपछि त्यत्ति बाहिर देखिएनन्। 

सर्वोच्च अदालतबाट विघटित प्रतिनिधि सभा ब्युँतिएपछि असार अन्त्यतिरबाट उनी भेटघाटमा व्यस्त भए। उनको भेटघाटमा पूर्व माओवादीका नेताहरू प्राथमिकतामा देखिन्छन्।

यो बिचमा उनीहरूले भेटघाटमा प्राथमिकता दिएकाहरू पूर्व माओवादीका नेताहरू नै छन् जो शान्तिपूर्ण राजनीतिमा आएपछि छिन्नभिन्न भए। धेरै नेताहरू अहिले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै छैन।

पूर्व माओवादीका नेताहरू अहिले चारतिर छरिएका छन्। एक समूह प्रचण्डसँग छ। अर्को समूह मोहन वैद्य किरणसँग। कम्युनिस्ट राजनीति छाडेको दाबी गर्ने बाबुराम भट्टराइसँग पनि पूर्व माओवादीका सानो समूह छ नै। नेकपा पूर्ववत् अवस्थामा फर्किएपछि रामबहादुर थापा बादल लगायतका नेताहरू एमालेमा मिसिए। अर्को एक समूहको नेतृत्व विप्लव आफैँले गरिरहेका छन्। 

उनको भेटघाटको शृङ्खला पनि यही छरिएका नेता केन्द्रित देखिन्छ। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका नेता बाबुराम भट्टराई, पूर्व माओवादी नेता मोहन वैद्य अनि अहिले एमालेतिर लागेका पूर्व माओवादी नेताहरूसँग भेटघाट गरिसकेका छन्।

उनको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कानुनी हैसियत छैन तर सङ्गठन भने छ। सरकारसँग शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न हुने वाचा गरेका उनले एकाएक बढाएको भेटघाट र छलफललाई शान्तिपूर्ण राजनीतिमा आएपछि छिन्नभिन्न बनेका पूर्व माओवादी शक्तिलाई एकीकृत गर्ने प्रयास झैँ देखिन्छ।

हो त ? 

विप्लवसँगै नेताहरूसँग भेटघाटमा सहभागी नेता धर्मेन्द्र बास्तोला सरकारसँग भएको सहमति कार्यान्वयन, बदलिँदो राजनीतिक परिस्थितिपछिको अवस्थाबारे दलहरूको धारणा बुझ्न भेटघाट र छलफल भइरहेको हो। उनका अनुसार भेटघाटमा कम्युनिस्ट एकताको विषयमा पनि छलफल हुने गरेका छन्।

‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयनलाई मुख्य रूपमा उठाएका छौँ। बदलिँदो राजनीतिक परिस्थितिको बारेमा दलहरूको धारण बुझ्ने काम पनि भइरहेको छ,’उनले उकेरासँग भने,‘बृहत् कम्युनिस्ट एकताको नीति पनि छ हाम्रो। तर,यस विषयलाई लिएर खासै छलफल भएको छैन। दलहरूबाट नयाँ आधारमा, नयाँ एजेन्डामा कम्युनिस्ट एकता हुनसक्ने भन्ने हाम्रो कुरा छ।’ 

उनले पूर्व माओवादी नेताहरूसँग मात्रै नभई नेपाली काँग्रेस र एमालेका नेताहरूसँग समेत भेट्ने योजना रहेको उनले बताए। ‘बुद्धिजीवीहरूसँग पनि हामी भेटघाट गर्ने छौँ’ उनले भने।

पहिलो एजेण्डाः कार्यकर्ता रिहाइ 

फागुन २१ मा तीन बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा विप्लव समूहको पहिलो सर्त विभिन्न अभियोगमा जेलमा रहेका आफ्ना नेता–कार्यकर्ताको रिहाइ थियो। सहमतिपछि पनि १ सय १५ भन्दा बढी केन्द्रीयस्तरका नेता र कार्यकर्ता अझै जेलमा छन्। 

ओली नेतृत्वको सरकारसँगको सहमतिपछि ६२ जना नेता–कार्यकर्ता मात्र अदालती प्रक्रियाबाट रिहा भए। सरकार बदलिएपछि अब नयाँ सरकारसँग उनीहरूले यही मागलाई प्राथमिकता साथ उठाउने तयारी गरिरहेका छन्।

‘१ सय १५ जना साथीहरू अझै जेलमा हुनुहुन्छ।  सहमतिपछि ६२ जना मात्र छुटे।  सरकारले त एक जना पनि छाडेको छैन। सबै अदालती प्रक्रियाबाट छुटेका हुन्,’ बास्तोला भन्छन्,‘सरकारले ठोस रूपमा यसलाई अगाडि बढाउको देखिएन। बुझ्ने र नामावली सङ्कलन गर्ने त गरिएको छ। पहल चाहिँ भएको छैन।’ 

राजनीतिक अजेण्डामा अलमल

सरकारसँग भएको तीन बुँदे सहमतिमा उनको राजनीतिक कार्यदिशा प्रस्ट छैन। सरकारसँगको सहमतिमा। दुवै पक्ष देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत र सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको  उल्लेख थियो।

तर बेलाबखत सार्वजनिक हुने विज्ञप्तिमा उनीहरूले वैज्ञानिक समाजवादलाई अगाडि सार्ने गरेका छन् र जनमत सङ्ग्रह हुनुपर्ने माग अगाडि सार्छन्।

दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि विप्लवले पाँच बुँदे धारणा सहित विज्ञप्ति जारी गरेका थिए। त्यसमा उनले  ‘वैज्ञानिक समाजवाद’ वा ‘दलाल पुँजीवाद’ रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने उल्लेख गरेका थिए।

उनी संसदीय व्यवस्थाको विपक्षमा देखिन्छन्।० दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुन सक्छ भन्दै उनले विज्ञप्तिमा ‘वैज्ञानिक समाजवाद’ वा ‘दलाल पुँजीवाद’ रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने उल्लेख गरेका थिए। 

अहिलेको भेटघाटमा उनले जनमत सङ्ग्रहको आफ्नो मागबारे समेत दलहरूको धारणा बुझ्ने प्रयास गरेको देखिन्छ। तर उनीहरूले उठाएको जनमत सङ्ग्रहप्रति नेताहरू त्यति सकारात्मक देखिएका छैनन्।

पछिल्लो भेटघाटको शृङ्खला

असार २८ गते प्रतिनिधि सभा ब्युँतिएपछि २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै विप्लव राजनीतिक भेटघाटमा सक्रिय भए। उनले असार ३० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवासमा गएर भेटे। सिता दाहालसँगको उनको भेटको तस्बिर मार्मिक थियो।

असार ३१ मा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट गरे उनले। भेटमा प्रचण्ड समेतको उपस्थिति थिए। एमालेमा विवादका कारण नेपाल नयाँ दलको खोजीमा रहेको आशंकाकाविच भएको यो भेटघाटलाई एकीकृत नयाँ दलको अभ्यासको रूपमा हेरिएको थियो।स

तर भेटमा समसामयिक राजनीतिक विषय र कार्यकर्ता रिहाइको बारेमा मात्र छलफल भएको विप्लव नेकपाको दाबी छ।

साउन १ मा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल भएको थियो। त्यसको भोलिपल्ट साउन २ मा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न पुगे विप्लव।

भेटमा क्रान्तिकारी धुर्विकरण,संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाको भनाई छ। 

भेट यत्तिमै मात्र सीमित रहेन। साउन ४ मा सर्वोच्चको २३ फागुनको फैसलापछि माओवादी केन्द्र छाडेर एमाले बनेका पूर्व माओवादी नेताहरू टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाहसँग भेटे विप्लवले। यसमा पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको दाबी गरियो।

दोधारबाट मुक्त हुने प्रयास

राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बराल विप्लव नेकपाको पछिल्लो सक्रियतालाई शान्तिपूर्ण राजनीतिमा अवतरणपश्चात् आफूलाई अगाडि बढाउने बहाना खोजिरहेको रूपमा विश्लेषण गर्छन्। 

‘भूमिगत राजनीति त्यागेर सहमतिसाथ मूलधारको राजनीतिमा आएको अवस्था छ। अहिलेको व्यवस्थामा प्रवेश कसरी के गर्ने भन्ने अप्ठ्यारोमा के गर्ने, के नगर्ने भन्नेमा दोधार देखिन्छ,’उनी विश्लेषण गर्छन्,‘यही अवस्थामा भेटघाट र सम्पर्क बढाएको जस्तो देखिन्छ।’

उनी विप्लवको सक्रियतालाई टुटफुटको अवस्थामा रहेका कम्युष्टिलाई घटकहरूलाई एक बनाउने प्रयासको रूपमा समेत हेर्छन्। नेपालसँगै प्रचण्ड पनि रहनुले त्यसैको सङ्केत गरेको उनको ठम्याई छ।

‘सम्भव भएसम्म प्रचण्ड, माधव नेपाल सबैसँग भेट भएको छ त्यो पनि एउटा  रणनीति  देखिन्छ। विप्लवको रणनीतिमा ओलीजी चाहिँ आउँछन्, आँउदैनन सुरुवातमै यसै भन्न सकिँदैन, उनले भने‘ओली सरकारमा रहँदाको सहमति अनुसार पक्राउ परेका नेता तथा कार्यकर्तालाई छुटाउने भन्ने थियो। त्यो सहमति पुरा भइसकेको छैन।’

बराल पछिल्लो समय माओवादी र काँग्रेस बाबुराम लगायतका सरकारमा सहभागी भएकाले अब कसरी अगाडि बढ्ने भन्ने बहाना बनाएर बाम एकता गर्ने रणनीति बनाएको देखिएको बताउँछन्।

‘सुरुवातमा उहाँहरूले त्यही नै गरिरहनुभएको छ। अहिले उहाँहरूले बाटो पत्ता लगाउन सकिरहनुभएको छैन,’ बरालले भने‘ यसैका लागि भेटघाट बढाएको देखिन्छ।’  

४ साउन, २०७८, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।