२० वर्षपछि पुनः रेकर्ड गरिएको ‘तिम्रो मन बदलिएछ’ गीतको भिडियो युट्युबमा 

२० वर्षपछि पुनः रेकर्ड गरिएको ‘तिम्रो मन बदलिएछ’ गीतको भिडियो युट्युबमा 

काठमाडौं : २० वर्षपछि पुनः रेकर्ड गरिएको ‘तिम्रो मन बदलिएछ’ बोल गीतको भिडियो युट्युबमा रिलिज गरिएको छ। 

निकेश खड्काले निर्देशन गरेको भिडियोमा ‘बले’ पात्रबाट परिचित हास्य कलाकार सागर लम्सालसँगै टिकटकबाट चर्चामा आएका दिदीबैनी प्रिज्मा–प्रिन्सी खतिवडाले अभिनय गरेका छन्। यस्तै, आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ। 

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन छ। 

दुई दिनअघि युट्युबमा रिलिज भएको उक्त गीतको भिडियोलाई दर्शकले रुचाएका छन्। युट्युबमा उक्त गीतको भिडियो १२ लाखभन्दा बढी पटक हेरिएको छ। यस्तै, युट्युबमा ४६ सयभन्दा बढीले गीतको तारिफ गरेका छन्। 

२० वर्षअघि यशकुमार र सपनाश्रीले गाएको उक्त गीतको नयाँ भर्सनमा यशकुमार र मिलन नेवारले स्वर दिएका छन्।  

गीतको नयाँ भर्सनमा नयाँ प्रविधि प्रयोग गरिएको गायक यशकुमारले बताए। त्यसकारण गीतलाई आमदर्शक तथा स्रोताले रुचाउने उनको दाबी छ। 

‘यो गीत सबैको भोगाइमा पर्छ भन्ने लाग्छ। मन पराएको मान्छे टाढा हुँदाको पीडा त्यो बेला पनि थियो अहिले पनि छ। त्यसैले भोगाइका आधारमा यो गीत पछिल्लो पुस्ताले पनि रुचाउँछन् भन्ने लागेको छ,’ उनले भने। 

यशकुमारकै शब्द तथा संगीत रहेको गीतमा देवेश राईको एरेञ्ज र साजन शाहको मिक्सिङ छ।

४ साउन, २०७८, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।