मिटर ब्याजको जालो : ऋण एक करोड, दैनिक ब्याज एक लाख

मिटर ब्याजको जालो : ऋण एक करोड, दैनिक ब्याज एक लाख

पक्राउ परेका उप्रेती चाबहिलमा गाडिको रिकन्डिसन हाउस चलाएर बस्दै आएका थिए। ब्युरोका अनुसार उनको साथबाट प्रहरीले विभिन्न बैङ्कको १९ करोड बराबरको चेक समेत फेला पारेको छ।

ब्युरोका डिआइजी धिरज प्रताप सिंहका अनुसार उप्रेतीले बैकको ब्याज तिर्न नसकेर समस्यामा परेकाहरूलाई ऋण दिएर चर्को ब्याज असुल्ने गरेको सूचना आएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानमा दुई जना पीडित जाहेरी दिन आएपछि उनलाई पक्राउ गरिएको थियो।

उनले ऋण लिएर  चर्को ब्याज असुलेको भन्दै प्रकाश कार्की र हेमरा गुभाजुले  प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा विभिन्न मितिमा पटक-पटक गरी व्यक्तिगत  कामको लागि रकम लिएकोमा उप्रेतीले चर्को मिटर ब्याज लिएको दाबी छ।

उप्रेतीले प्रकाश कार्कीबाट पटक-पटक गरी चार करोड सोह्र लाख रकमको चेक र हेमराज गुभाजुबाट चार करोड चौध लाख रकमको चेक लिएको जाहेरीमा उल्लेख छ।

रकम नदिएमा डर त्रास देखाई धम्की दिएर बाहिर हिँडडुल, घुमफिर गर्न बन्देज गराई आपराधिक गिरोह समेतको प्रयोग गरेर ज्यान मार्छु भनेर ठगी गरेको ब्युरोले जारी  गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ब्युरोले उप्रेतीको साथबाट १९करोड ४३ लाख ६१ हजार बराबरको चेक फेला परेको उल्लेख गरेको छ।

डिआइजी सिंह गाडिएको रिकन्डिसनको व्यवसाय देखिए पनि उप्रेती चर्को ब्याज असुल्न सक्रिय देखिएको बताउँछन्। घरायसी  र व्यवसायीक समस्यामा परेकाहरूलाई ऋण दिएर ठुलो परिणामको चेकमा हस्ताक्षर गर्न लगाउने र गुन्डाहरू लगाएर असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको सिंहले दाबी गरे।

सिंहका अनुसार उप्रेतीले कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएर राष्ट्रिय वाणिज्य बैङ्कको ४ करोड १६ लाख रुपैयाँको चेक लिएका थिए। गुभाजूलाई १ करोड ५४ लाख रुपैयाँ दिएर ४ करोड १४ लाखको चेक लिएका थिए। दुवैको खातामा पैसा नदेखेपछि उनले केटाहरू पठाएर धम्क्याउने गरेको डिआइजी सिंहले बताए।

'एक करोड ऋण दिएर दैनिक एक लाखसम्म ब्याज लिने गरेको देखियो,' सिंहले उकेरासँग भने' डेढ करोड ऋण लिएकोसँग चार करोडसम्म असुल्ने गरेको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेका हौँ।'

पुरानो धन्दा, नयाँ खेलाडी

गणेश उप्रेती

मिटर ब्याज पुरानै धन्दा हो। उप्रेती भने नयाँ खेलाडी देखिए। यस अगाडि क्यासिनोमा नेपालीको प्रवेश खुल्ला हुँदा मिटर ब्याजीहरु सक्रिय थिए। त्यो बेला बलराम सापकोटा, महेश बहादुर सिंह, वीरेन्द्र श्रेष्ठहरू सक्रिय थिए। कोक्याइदिन लत लागेकाहरूलाई चर्को ब्याजमा ऋण दिने र सो बापतको जायजेथा आफ्नो नाममा पास गराएर कब्जा गर्ने सङ्गठित अपराध मौलाएको थियो।

मिटर ब्याजकै केसमा सिंहमाथि कारबाहीको प्रयास भए पनि अन्य भने उम्कँदै आएका छन्। सापकोटा अहिले होटेल व्यवसायमा लागेका छन्।

तराइमा पनि मिटर ब्याजीको चक्रमा परेर सर्वसाधारण फसेका घटना सार्वजनिक भएका थिए। २८ वटा निवेदनबाट मात्रै २० करोड ४४ लाख बराबर ठगी गरेको आरोपमा २ वर्ष अगाडि रामबाबु राय यादव पक्राउ परेका थिए। श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार, सञ्जयप्रसाद रौनियार लगायतका मिटर ब्याजीको पोल खुलेको थियो।

सहकारी पनि मिटर ब्याजीको पन्जामा

पछिल्लो समय केही सहकारी सञ्चालकहरूले बचतकर्ताको रकम अनधिकृत रूपमा चर्को व्याजमा लगाउने गरेको खुलेको थियो। केही सहकारी सञ्चालकहरूले भने चर्को शुल्कमा ऋण निकालेर घर-जग्गामा लगानी गर्दा सहकारी नै डुबेको घटना समेत सार्वजनिक भएका छन्।

त्यसको एक प्रमाण हो गुडविल बचत तथा ऋण सहकारी संस्था। ठगीमा मुद्दा चलेको सहकारीको ठगी प्रकरणको अनुसन्धानमा यसका अध्यक्ष दिवाकर श्रेष्ठ, उनको श्रीमती जेनी श्रेष्ठ, भान्जा रमण श्रेष्ठ मिलेर बचतकर्ताको ७९ करोड ८९ लाख रकम हिनामिनामा समेत मिटर ब्याजको प्रभाव खुलेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरले सहकारीका सञ्चालकसहित मिटर ब्याजीहरुलाई समेत प्रतिवादी बनाएको थियो।

'सहकारीका अध्यक्ष श्रेष्ठले मिटर ब्याजमा पैसा लिएर ब्याज तिरेर बचतकर्ताको बचत दुरुपयोग गरेको खुलेको थियो,' एसएसपी किरण बज्राचार्यले भनिन्'त्यसमा केही मिटर ब्याजीहरु समेत संलग्न देखिएपछि उनीहरूलाई समेत प्रतिवादी बनाएका थियौँ।'

घर बासै उठाउने चक्र

समस्यामा परेकाहरूलाई चर्को ब्याजदरमा ऋण दिएर मिटर ब्याजीहरुले जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गरेको यस अगाडिका अनुसन्धानबाट खुलिसकेका पक्ष हुन्।

५० प्रतिशतसम्म ब्याज लगाउने र साउँभन्दा तेब्बर ब्याज लिए पनि कहिल्यै साउँ नै नसकिने चक्र निर्माण गरेर खाली चेकमा आफू अनुकूल रकम भरी चेक बाउन्स गराएर मुद्दा हाल्ने र निश्चित सर्त सहित पास भएको घर-जग्गा कब्जा गर्ने गरेको देखिन्छ।

सम्पत्ति शुद्धीकरण मुद्दा तर छैन प्रभाव

ललितपुर प्रहरीले गुडविल सहकारीमा संलग्नको सम्पत्तिबारे शुद्धीकरणमा सिफारिस गरेको छ। शनिवार पक्राउ परेका उप्रेतीमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसार छानबिन गर्ने डिआइजी सिंहले जानकारी दिए।

तर सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी देखिन्न। खुलेका मिटर ब्याजीहरुविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धानको सिफारिस गर्ने गरेको छ। तर सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रभावकारी देखिन्न। यस अगाडि पक्राउ परेका मिटर ब्याजीको सम्पत्ति शुद्धीकरण अनुसार अनुसन्धानको सिफारिस भएको थियो।

३ साउन, २०७८, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।