ओली सरकारको बेला पूँजी बजारले मारेको फड्को देउवा सरकारको पालामा कायम रहला !

ओली सरकारको बेला पूँजी बजारले मारेको फड्को देउवा सरकारको पालामा कायम रहला  !

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारको झन्डै साढे तीन वर्षे कार्यकालमा पूँजी बजारले फड्को मार्न सफल भयो।

अघिल्लो बुलमा नेप्से परिसूचक १८ सय ८१ विन्दुमा पुगेको थियो। त्यस बेला अर्थमन्त्री विष्णु पौडेल थिए। अहिले नेप्से ३ हजार पुग्दा पनि पौडेल नै अर्थमन्त्री थिए। 

पूँजी बजारप्रति अर्थमन्त्रीको सकारात्मक सोचको कारण नेप्सेमा यो सुधार आएको जानकार बताउँछन्। 

ओली सरकारमा भएकै समयमा नेप्से परिसूचक ११ सयबाट ३ हजारसम्म पुग्यो। 

अहिले पूँजी बजारको पूँजीकरण पनि ४० खर्ब छ। नेपालको वार्षिक बजेट १६ खर्बको भएकाले बजार पूँजीकरण बजेटभन्दा अढाई गुणा बढी छ। नेपालको कुल ग्राहस्थ उत्पादन ४६ अर्ब छ। त्यसैले पूँजीबजार कुल ग्राहस्थ उत्पादनको हाराहरीमा पुगेको मान्न सकिन्छ। 

पछिल्लो समय ३७ लाखभन्दा धेरै लगानीकर्ताले डिम्याट अकाउन्ट बनाएका छन्। अनलाइन टिएमएस पनि ७ लाखभन्दा धेरैले लिएका छन्। दैनिकरूपमा अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्ने क्रममा छ। 

केही समयअघि प्राथमिक सेयर निष्कासन (आइपिओ) निश्कासन गरेको युनियन लाइफ इन्सुरेन्समा २१ लाख हाराहारीमा लगानीकर्ताले आवेदन दिएका थिए। यो संख्या अहिलेसम्मको उच्च हो। यो भनेको जनसंख्याको १५ प्रतिशत मानिस प्रत्यक्ष–अप्रत्यक्षरूपमा पुँजी बजारमा आबद्ध छन्। 

पूँजी बजारले सिडिएस, नेप्से, सेबोन र ब्रोकरलाई सेवा शुल्कबाहेक महिनाको एक अर्ब रूपैयाँ राजश्व सरकारलाई बुझाउने गरेका छन्। यो सबै कुराले नेपालको पूँजीबजारले राष्ट्रको अर्थतन्त्रको ऐना वा अर्थतन्त्रको मेरुदण्डको रूपमा हेर्न गरिन्छ। 

नेपालमा बेला बेलामा परिवर्तन हुने सरकारले बढ्दो बजारलाई असर गर्न सक्ने जानकार बताउँछन्। 

पछिल्लो एक/डेढ वर्षमा पूँजी बजारमा ठूलो उछाल आएको छ। नेपाली पूँजी बजार अन्य विकसित देशमा भएको पूँजी बजारको हाराहारीमा पुगेको छ। 

केही वर्षयता निफ्रा, महिला लघुवित्त जस्ता नयाँ कम्पनीको आइपिओ निश्कासन, अनलाइनमा भएको सुधार, टिएमएसमा आएको सुधार, आइपिएस कनेक्टमार्फत प्रदेशभरका लगानीकर्ता सेयर बजारमा समावेश भएको कारण नेपालमा पूँजी बजार उच्चतम विन्दुमा पुगेको हो। 

गैर आवासीय नेपाली, विदेशमा श्रम गर्न पुगेका झन्डै ६० लाख नेपाली समावेश हुन पाएको कारण हो। विदेशमा काम गर्ने नेपालीले गएको ११ महिनामा साढे आठ खर्ब रूपैयाँ नेपाल पठाएका छन्। कतिपय श्रमिकले विदेशबाट नै अनलाइनमार्फत कारोबार गर्ने गरेका छन्। त्यसैले वैदेशिक रोजगारबाट आएको पैसा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पूँजी बजारमा लगानी हुने गरेको छ। 

विदेशमा भएका नेपालीले आफूले परिवारमा घर खर्चको लागि पैसा पठाएर बाँकी रहेको पैसा सेयर बजारमा अनलाइनको कारोबारको मार्फत नेपालको पूँजी बजारमा नै भित्रिएको छ।

इन्टरनेटको माध्यमबाट आफू बसेकै स्थानबाट आफ्नो पैसा लगानी गर्न पाउने व्यवस्था भएकै कारण नेपालको पुँजी बजार उकासिएको मान्न सकिन्छ। अहिलेसम्म सबैभन्दा बढी एक दिनमा झन्डै २० अर्ब रूपैयाँको कारोबार भएको थियो। अहिले कारोवारको संख्या पनि झन्डै दुई लाख हुने गरेको छ।

पूँजी बजार बढ्नुको अन्य कारणमा ब्याजदर १ अंकमा भएकाले पनि हो। लगानीकर्ताले अहिले किन्ने सेयर ११ महिनाको ब्याजसहित भएको नेपाल इन्भेस्टरर्स फोरमका छोटेलाल रौनियार अध्यक्ष दाबी गर्छन्। 

केही दिनमा नै चौमासिकको ब्यालेन्स सिट पनि आउँदै छ। गएको ११ महिनामा बैंकले मात्रै ६५ अर्ब रूपैयाँ कमाइ गरेका छन्। यसअघि बैंकले यति धेरै कमाइ गरेका थिएनन्। 

यस्तै, लाइफ, नन लाइफ, हाइड्रो लगायतको कम्पनी पनि फाइदामा गएका छन्। 

अहिले ओली सरकार परिवर्तन भएर देउवाकाे नेतृत्वमा सरकार बनिसकेकाे छ। 

ओली सरकारको पालाका फड्को मारेको पूँजी बजार नयाँ सरकारको पालामा कायमै रहला त ? 

जानकारहरू भने बैंक साथै अन्य वित्तीय क्षेत्रको मूल्य नबढेकाले बजार अझै बढ्ने बताउँछन्। यसलाई सरकारको फेरबदलले खासै असर नपर्ने उनीहरूको भनाइ छ। 

त्यसैले अब दैनिक २० अर्बभन्दा माथि कारोबार हुनेमा लगानीकर्ता ढुक्क छन्। 

यो पटक पहिलेभन्दा धेरै बोनस, लाभांस पाउने अध्यक्ष रौनियार बताउँछन्। 

सेबोनको नीति तथा कार्यक्रम पनि राम्रो आएको सेयर बजारका जानकार बताउँछन्। अहिले पूँजी बजारलाई चाहिने माहौल बनिसकेको मान्न सकिन्छ। त्यसैले अहिलेको अवस्थालाई पुरानो १८ सय ८१ नेप्से पुग्दाको समयलाई दाझ्न सकिँदैन। 

पहिले १५ हजार लगानीकर्ताले डिम्याटमा थिए भने त्यो संख्या बढेर ७ लाखमा पुगेको छ। यो पनि बढ्ने क्रममा छ। यस कारण पुजी बजारको जागरूकता विश्वका विकसित देशमा फैलिए जसै नेपालमा पनि जागरूकता छाएको छ। 

अहिले सानोतिनो व्यापारीदेखि गृहिणी, विद्यार्थी र सरकारी जागिर खानेसम्मको मानिस सेयर बजारमा आकर्षित भएका छन्। कोरोनाको कारण घरमा नै थुनिएकाले अनलाइनबाटै कारोबार गरे। त्यही कारोबारबाट सरकारलाई महिनाको एक अर्ब रूपैयाँ सरकारलाई राजस्वसमेत बुझाए।

यो सकारात्मक कुरा भएकाले अब बन्ने कुनै पनि सरकारले नेपालको पूँजी बजारलाई नकारात्मक असर गर्ने गरी काम नगर्ने रौनियारको दाबी छ। 

माओवादीको तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले पूँजी बजारको राम्रो जानकार भएको मान्छन् इन्भेस्टर फोरमका अध्यक्ष रौनियार। 
‘उहाँ मन्त्री भएको तुरुन्तै अन्तरवार्ता आयो’ उनी भन्छन्, ‘अर्थमन्त्रीले पूँजी बजारको विकास र विस्तारको लागि काम गर्छु। बजारलाई बिच्काउने काम गर्दिनँ भनेका छन्। त्यसैले यसलाई सकारात्मक भएको मान्न सकिन्छ।’ 

उनी शेरबहादुर देउवा नेतृत्वको सरकार पूँजी बजारप्रति सकारात्मक नै मान्नु पर्ने बताउँछन्। त्यसैले यो समय लगानी गर्न हिचकिचाउनु नपर्ने रौनियार बताउँछन्। 

‘लगानीकर्ताले सरकार हेरेर हैन, कम्पनी हेरेर लगानी गर्ने हो’

लगानीकर्ताले सरकारलाई हेरेर भन्दा पनि कम्पनीलाई हेरेर लगानी गर्नुपर्ने रौनियार बताउँछन्। 

‘हामीले लगानी गर्ने भनेको त कम्पनीको प्रोफाइल हेरेर जुन कम्पनी बलियो छ त्यो कम्पनीमा लगानी गर्ने हो। राम्रो बोनस डिभिडेन्ट दिने कम्पनीमा लगानी गर्ने हो,’ उनी भन्छन्, ‘फण्डामेन्टल्ली बलियो कम्पनीमा लगानी गर्नुपर्छ। सधैं ट्रेडिङको लागि मात्रै सेयर किन्नु हुँदैन। हावादारी हल्लाको भरमा परेर सेयर किन्नु मूर्खता हो।’

सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि प्रभाव पार्छ। केही हप्ताअगाडि ५१ वटा कम्पनीमा इन्साइडर कारोबार भएको भन्दै कम्पनीको नाम सेबोलनले सार्वजनिक गर्यो। केही लगानीकर्ताले सेयर बेचेर प्रोफिट बुक गरे। त्यसै कारणले ३ हजार कटेको नेप्सेमा केही गिरावट आएको छ। यो अचानक लगानीर्ताको ‘मास साइकोलोजी’मा परिवर्तन भएकाले नेप्से घटेको जानाकारको बुझाइ छ। 

लगानीकर्ता अझै २० अर्बभन्दा धेरै कारोबार हुने र नेप्से ३ हजार क्रस गर्ने बताउँछन्। संसारमा पूँजी बजारको निकै विकास भइसकेको छ। 

नेप्से १८ सय ८१ पुग्दा सेयरको मूल्य अहिलेको भन्दा बढी थियो। त्यो बेला एडिबिएलको प्रतिशेयर मूल्य हजारभन्दा बढी थियो। नबिलको २४ सयभन्दा बढी थियो। त्यति बेला कुनै पनि बैंकको मूल्य प्रतिसेयर मूल्य हजारभन्दा कम थिएन। त्यसैले अहिले धेरै कम्पनीको सेयर अन्डर प्राइज रहेको रौनियार बताउँछन्। 

अहिले ४० खर्बको बजारमा ७० प्रतिशत बैंकिङ फाइनान्स कम्पनी र लाइफ, ननलाइफ कम्पनीको अहिलेको तुलनामा त्यो बेलामा सस्तो थियो। रौनियार सेयर बजार अझै बढ्नेमा ढुक्क भएको बताउँछन्। 

०००

केही वर्षपहिले बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भनिदिँदा बजारमा ठूलो हलचल नै आएको थियो। नेकपा माओवादी भर्खरै चुनाव जितेर सरकारमा आएको थियो। प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थमन्त्री थिए। त्यस बेला नेप्से ११ सय ७५ थियो। 

बाबुरामले सेयर बजारलाई ‘जुवाको घर’ भन्ने अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलै हलचल भएको रौनियार सम्झन्छन्। 

‘त्यो बेला अहिले जस्तो डिम्याट थिएन। अर्थमन्त्रीले नै त्यस्तो अभिव्यक्ति दिएपछि लगानीकर्ताले कागजको टुक्रा हो भनेर जुन रेटमा पाइन्छ त्यतिमा नै बेचे,’ उनी भन्छन्, ‘त्यो बेला त ११ सय ७५ मा भएको नेप्से २९२ मा पुगेको थियो।’ 

उनी अब त्यो जमाना फर्किएर फेरि नआउने बताउँछन्। पूँजी बजारमा १५ प्रतिशतभन्दा धेरै जनता समावेश भएको कारण त्यसरी नघट्ने बताउँछन्। 

नयाँ सरकार गठन भएपश्चात फेरि सेयर बजार बढ्दो छ। यो सरकारले डेढ वर्षभित्र चुनाव गराउनुपर्ने भएकाले सरकार फेरिँदैमा सेयर बजारमा लगानी गर्न डराउनुपर्ने अवस्था नभएको रौनीयारको दाबी छ। 

सेयर बजार अहिलेको अवस्थामा आइपुग्दासम्म एकै पटक नबढेर क्रमिकरूपमा बढेकाले यसलाई सकारात्मक मान्न सकिन्छ। 

विदेशमा रहेका नेपालीले लगानी गर्ने अवस्था सिर्जना भएको, अनलाइनबाटै सेयर किनबेच गर्ने सुविधा भएको, ब्याज रेट कम भएको, नियमक र लगानीकर्ता संघ पनि सक्रिय भएकाले यो समय सेयर बजारमा लगानी गर्ने सुनौलो समय भएको रौनीयार बताउँछन्। 

‘बैंकलाई ब्रोकर लाइसेन्स दिऔं’ 

धितोपत्र बोर्डको उद्देश्य नै पूँजी बजारलाई व्यवस्थित साथै नियमन गरी लगानीकर्ताको हकहितको लागि काम गर्ने हो। 

धितोपत्रको विकार र विस्तार गर्ने हो भने त ७७ जिल्लामा नै फैलाउनु पर्याे नि। अधिकांश ब्रोकरहरू काठमाडौंको रिङ रोडभित्र मात्रै छन्। 

काठमाडौंमा पनि विशेष गरी अनामनगर र पुतलीसडकमा मात्रै ब्रोकर कार्यालय छन्। 

अनलाइनबाट नै भर्न पाइने भएकाले सबैले आइपिओ त पाएका छन्। तर, दुर्गमका मानिसले बेच्न पाएका छैनन्। आफूलाई परेको सेयर ब्रोकर कम्पनीबाट मात्रै बेच्न पाउने नियमको कारण दुर्गमका लगानीकर्ता मारमा परेका छन्। उनी कमर्सियल बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्ने बताउँछन्। 

कमर्सियल  बैंकका चार हजारभन्दा धेरै ब्रान्च भएकाले ५० वटा ब्रोकरको एकाधिकार हट्ने रौनीयार बताउँछन्। 

‘२० अर्बको कारोबार भएको पूँजी बजारमा ५० जना ब्रोकरको मनोपोली (एकाधिकार) भएको छ,’ उनी भन्छन्, ‘कमिसन पनि संसारमा कहीँ नभएको छ। किन्दा र बेच्दा दुवैतर्फ कतै कमिसन लाग्छ र ?’ ब्रोकरले पाउने कमिसन पनि एकदमै महँगो भएको उनी बताउँछन्। 
अस्ट्रेलियामा सेयर बेच्दा मात्रै कमिसन दिए हुन्छ। भारतमा नै पनि एकदमै थोरै कमिसन दिए हुन्छ। 

कुनै देशमा वर्षभर कारोबार गर्नको लागि निश्चित शुल्क तिर्ने व्यवस्था छ। तर, नेपालमा धेरै कमिसन तिर्नुपर्ने अवस्था छ। 

‘नेपालमा ब्रोकरले एकै दिनमा २५–३० लाख रूपैयाँसम्म कमाएका छन्। सिडिएसले पनि ३५–४० लाख रूपैयाँसम्म कमाई छ। यो अति भएन र भन्या ? लागत त कम गर्नुपर्छ नि। पूँजी बजारको पूँजी हाम्रो, सेयर हाम्रो। लगानीकर्ताले भनेको कुरा त सुन्नुपर्छ नि सेबोन, नेप्से, सिडिएस, राष्ट्र बैंक र मन्त्रालयले। उनीहरू लगानीकर्ताको अभिभावक भएकाले लगानीकर्ताको आवाज त सुन्नु पर्याे नि,’ उनले भने। 

पेमेन्ट समयमा नपाउने र फोन गर्दासमेत फोन नउठाउने ब्रोकरको कारण कति धेरैले दुःख पाएको गुनासो छ। बैंकलाई ब्रोकरको लाइसेन्स दियो भने त उनीहरूले राम्रो प्रविधि पनि भित्र्याउने रौनीयार बताउँछन्। 

‘लगानी बढाउन ब्रोकर कमिसन ०.१५ प्रतिशतमा झारौं’

अध्यक्ष रौनियार नयाँ सरकारले सेयर बजारको विकास र विस्तारको लागि कमरसियल बैकलाई ब्रोकरको लाइसेन्स दिनु पर्ने बताउँछन्। यसो गरेमा देशभर नै पूँजी बजार फैलने उनको धारणा छ। 

पूँजी बजारका लगानीकर्ताको लागत धेरै भएकाले लागत घटाउन पनि नयाँ अर्थमन्त्रीले भूमिका खेल्नुपर्ने रौनीयार बताउँछन्। लागत साह्रै महँगो भएकाले ब्रोकर कमिसन घटाएर ०.१५ प्रतिशतसम्म झार्नुपर्ने उनको भनाइ छ। अहिले ब्रोकर कमिसन ०.२५ प्रतिशत छ।

सेबोनमा एनआरएनलाई तत्काल भित्र्याउनु ने कुरा छ त्यो पनि तत्काल गरिनुपर्छ। पुराने नेप्से व्यवस्थित गरेर विकास विस्तार गरिनुपर्ने छोटेलालको सुझाव छ। उनी पुरानो नेप्से कमजोर भएकाले पिपिपी (पब्लिक प्राइभेट पार्टिसिपेन्ट) समावेश गरेर सुधार गर्नुपर्ने बताउँछन्। यस्तै नयाँ नेप्से भित्र्याउनुपर्ने उनकाे भनाइ छ।  

पूँजी बजारको विकास र विस्तारको लागि भएको निर्णय तत्काल लागु गरिनुपर्ने उनको सुझाव छ।

३ साउन, २०७८, १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।