कभर स्टोरी

मेलम्ची खानेपानी आयोजना नै बचेको छैन कि भन्ने डर

‘बाढीका कारण मेलम्ची आयोजनाको सुरुङमा बालुवा भरिएको छ,’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्त भन्छन्, ‘अहिले हामीले अनुमान गर्दा सबैतिर गरी करिब दुई अर्बको क्षति भएको छ। बाटो बनेको छैन। बाटो बनेपछि मात्रै आयोजनास्थलमा के/के भएको छ हेर्न सक्छौं।’

सुरेन्द्र बजगाईं


तस्बिर: मेलम्ची खानेपानी आयोजना

काठमाडौं : गत वर्षको अन्त्यमा बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं खसालियो। खानेपानी आयोजनाको उद्घाटन गरेका थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले। २२ फागुन २०७७ मा मेलम्ची खानेपानी आयोजना उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको भन्दै भाषणबाजी गरिरहे।

सुरुवातमा काठमाडौंका विभिन्न स्थानमा परीक्षणका लागि खोलिएको भए पनि १ असार २०७८ बाट केही समयलाई पानी बन्द गर्ने तयारी थियो। 

आयोजनास्थलमा रहेको सुरुङको परीक्षण सफल भयो/भएन हेर्न केही समय ती सुरुङबाट पानी पठाउने र फेरि जाँच गरेर आयोजनालाई पूर्णता दिने तयारी थियो। आयोजनाको परीक्षण सकिएपछि करिब दुई महिनामा उपत्यकामा फेरि मेलम्चीको पानी आउने बताइएको थियो। 

तर, गत असार १ गते मेलम्ची क्षेत्रमा आएको बाढीका कारण मेलम्ची आयोजना अनिश्चितजस्तै बनेको छ। बाढीले मेलम्ची बजारमात्र तहसनहस भएन, आयोजनामा पनि ठूलो क्षति पुगेको छ। 

‘बाढीका कारण मेलम्ची आयोजनाको सुरुङमा बालुवा भरिएको छ,’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्त भन्छन्, ‘अहिले हामीले अनुमान गर्दा सबैतिर गरी करिब दुई अर्बको क्षति भएको छ। बाटो बनेको छैन। बाटो बनेपछि मात्रै आयोजनास्थलमा के/के भएको छ हेर्न सक्छौं।’

१ असारको बाढीले मेलम्ची आयोजना क्षेत्र पुग्ने करिब ८ किलोमिटर बाटो बगाएको छ। त्यही बाटोमा पर्ने दुई वटा पुल पनि बगाएको छ। त्यसबाहेक प्रत्यक्ष/अप्रत्यक्ष मेलम्ची आयोजनासँग जोडिएका पाँच वटा पुलको अस्तित्व अहिले छैन। बाढीले आयोजना पुग्ने स्थलमार्ग नै रोकिदिएको छ। 

प्रवक्ता पन्तका अनुसार हेलम्बुको अम्बाथानस्थित आयोजना स्थलमा पनि प्राविधिकहरु पुगेर अनुगमन गरेका छन्। तर हाल त्यहाँ उपकरणहरु पुर्याएर काम गर्नसक्ने स्थिति छैन। निरन्तरको वर्षाका कारण फेरि नदीको किनारबाट बाटो बनाएर लैजाँदा असुरक्षित हुने उनको भनाइ छ। 

‘वर्षाको समय नसकिँदासम्म हामीले फेरि काम सुरु गर्न सक्दैनौं,’ पन्त भन्छन्, ‘वर्षा अलि साम्य भएपछि साउन, भदौबाट बाटो बनाउने र काम थाल्ने सोच छ हाम्रो।’

परीक्षण सुरु भएसँगै बाढीको चपेटामा मेलम्ची 
१ असारबाट मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको काम सुरु भएको थियो। काठमाडौं उपत्यकाका लागि सुन्दरीजल क्षेत्रबाट पानी वितरण गरिएको थियो। आयोजनाको परीक्षणका लागि त्यसलाई पनि रोकेर १ गतेबाट मेलम्ची आयोजनास्थलकै सुरुङमा पनि पानी हाल्ने काम बन्द गरियो।

सुरुङमा जम्मा भएको पानी प्रतिसेकेन्ड दुई सय लिटरको दरले विस्तारै खोल्ने तयारी रहेको बताउँछन् पन्त। उनी भन्छन्, ‘हामीले पानी बन्द गरेको १५ दिनपछि सुरुङबाट पानी खोलेर परीक्षण गर्ने तयारी थियो। तर १ गते नै बाढीले सबै बिग्रियो।’

यस पटकको बाढीले नदीमा ठूला–ठूला ढुंगाहरु ल्याएको छ। पन्तका अनुसार ती ढुंगाले आयोजनाको सुरुङमा क्षति पुगेको भए आयोजना बच्न गाह्रो छ। तर सुरुवातमा बालुवाले पुरेपछि मात्रै ती ढुंगाहरु सुरुङमा पुगेका हुन् भने आयोजना बच्ने सम्भावना धेरै हुन्छ। 

पन्तले भने, ‘अहिले आयोजनाको सुरुङमा १० देखि १५ मिटरसम्म पुरिएको छ। अब वर्षा सकिएपछि मात्रै हामीले विस्तृत रुपमा काम गरेर आयोजना कस्तो अवस्थामा छ भन्न सक्छौंं।’
निरन्तर काम भएमा पुस-माघसम्ममा वैकल्पिक रुपमा सञ्चालन हुन्छ आयोजना

पन्तका अनुसार सडक खोल्नेदेखि सुरुङ बनाउने सबै काम आयोजनाले सकेसम्म चाँडो होस् भन्ने चाहिरहेको छ। तर वर्षाका कारण ती काम द्रुत गतिमा भएका छैनन्। सँगै सुरुङ खोलेर पानी बाहिर पठाउनुपर्ने अर्को चुनौती छ। बाढीसँग आएको बालुवा छिरेर सुरुङ टालिएको हुँदा पानी खोल्ने अर्को चुनौती थपिएको छ आयोजना सामु। 

‘यो सबै कामको लागि सुरुवातमा हामीले सडक बनाउनुपर्ने हुन्छ, पुल बनाउनुपर्ने हुन्छ,’ पन्त भन्छन्, ‘सडकको काम हामीबाट हुन्छ वा सडक विभागबाट हुन्छ, अहिलेसम्म टुंगो लागेको छैन। तर वर्षा सकिएपछि अस्थायी पुल र सडक निर्माण गरेर भए पनि काम गर्ने तयारी गरेका छौं।

पन्तका अनुसार आयोजनाका लागि स्थानीयसँग मिलेर बाटो खन्नेबारेमा छलफल भएको छ। तर यसलाई दीर्घकालीन समाधानको रुपमा भने हेरिएको छैन। तत्कालै सडक निर्माण गरेर काम गर्न सकिएमा आगामी पुस महिनामा फेरि काठमाडौंमा पानी पठाउन सकिने पन्त बताउँछन्। 

‘वर्षा सकिएपछि साउन, भदौमा काम सुरु गर्यौं भने कात्तिक, मंसिरसम्म काम सकेर पुसमा वैकल्पिक रुपमा पानी उपत्यकामा पठाउन सक्छौं,’ पन्त भन्छन्, ‘हामीलाई मुख्य कुरा सडक चाहिएको छ। सडक बनेपछि काम चाँडोभन्दा चाँडो हुन्छ।

आयोजनामा काम गर्ने पाँच जना अझै बेपत्ता
दशकौंदेखिको आयोजनामा पुगेको क्षति त छँदै छ, मेलम्ची आयोजनाले यस पटकको बाढीमा मानवीय क्षति पनि भोग्नु परेको छ। पन्तका अनुसार आयोजनामा काम गर्ने ८ जना मानिस बेपत्ता भएका थिए, जसमा दुई नेपाली, तीन भारतीय र तीन चिनियाँ नागरिक थिए। यीमध्ये तीन जनाको शव भेटिएको छ भने पाँच जना अझै बेपत्ता छन्।

आयोजना पुनः चालु गर्न गाउँपालिकाको सहयोग छ

–राजेन्द्र पन्त, प्रवक्ता, मलेम्ची खानेपानी आयोजना 

गाउँपालिकाबाट आयोजना पुनः चालु गर्न कुनै असहयोग भएको छैन। काठमाडौं महानगरपालिकाले गरेको सहयोगमा केही भेदभाव भयो भनेकै हो। तर गाउँपालिकाले असहयोग हुँदैन भनेको छ। यो पटक पनि हुँदैन नै भनेको छ। हामीले सडकको लागि सहयोग मागेका छौं, असहयोग नगर्ने भनेका छन्। हामीले पनि उनीहरुलाई सहयोग र उनीहरुले पनि हामीलाई सहयोग गर्ने भनेर अघि बढेका छौं। 

मेलम्ची आयोजनाकै सडक निर्माण गर्न डेढ करोड रकम हालेका छौं। त्यो बाहेक सामाजिक उत्थानका लागि १ करोड रुपैयाँ सहयोग दिएका छौं। 

मेलम्चीलाई हामीले सडक निर्माणमा ५० लाख र सामाजिक उत्थान कार्यक्रम भनेर ६० लाख दिएका छौं। 

सामाजिक उत्थानभित्र आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि आय-आर्जन, सिपमुलक कार्यक्रम, विद्यालयलाई सहयोग लगायतका कार्यक्रम थिए। उनीहरुले माग गरेअनुसारका आयोजनामा हामीले पैसा दिन्थ्यौं। अहिले उनीहरुको घरबार नै उठेको छ। त्यस्तो बेला विपद्बाट पिल्सिएका मानिसको उत्थानका लागि सहयोग गरेका हौं। 

सडक निर्माणको लागि हेलम्बु र मेलम्चीमा फरकफरक बजेट दिइएको हो। हेलम्बुमा धेरै सडक बिग्रिएका छन्। त्यहाँ बढी रकम दिइएको छ। मेलम्चीमा कम सडकमा क्षति भएको छ। त्यो हेरेर ५० लाख छुट्याएको हो।

सडकका लागि छुट्याइएको बजेट अनुसारको काम हुन्छ। हेलम्बुमा रातो पुलमाथिको बाटोलाई सहयोग हुन्छ। जहाँबाट गाउँपालिकाको सिमाना सुरु हुन्छ, त्यहाँबाट सडक निर्माणको काम हुन्छ। हामीले यी सबैमा उपभोक्ता समितिसँग मिलेर काम गरिरहेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

निर्मलाले न्याय नपाएको ३ वर्ष :   अब त आमालाई आस पनि छैन

के-के भएन र यो बिचमा। दोषीको पक्राउको माग गर्दै कञ्चनपुरदेखि काठमाडौँसम्मका सडकदेखि सदनसम्म तात्यो। छानबिन समिति बन्यो। पटक-पटक आरोपी भन्दै विभिन्न व्यक्ति पक्राउ परे र....

सम्बन्धन नपाएका विद्यालयलाई प्रदेश २ सरकारको २४ करोड अनुदान

तर, सम्बन्धन स्वीकृति र जनशक्ति व्यवस्थापनको सुनिश्चितता नभई प्रदेश सरकारले प्रदेशका ४८ विद्यालयलाई आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ मा जनही ५० लाख (पहिलो र दोस्रो....

हेटौंडा कपडा उद्योग- ८ : काठमाडौंमा घुमेर प्रतिवेदन बनाइयो, त्यो पनि मन्त्रालयमै अलप

समितिलाई रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने कार्र्यादेश दिइएको थियो। समितिले हेटौंडा कपडा उद्योग लगायत देशभरका रुग्ण उद्योगबारे प्रतिवेदन....

कान्ति हराएको मेलम्ची : फर्किएला रौनक ?, फेरि बन्ला व्यापारिक हब ?

हरेक बर्खामा आउने बाढीकै स्वरुपमा सुरु भएको बाढीले विस्तारै लेदो पनि बोकेर ल्यायो। र, मेलम्ची नगरपालिका वडा नम्बर ६, ७, ९, १०, ११ र १२....

ट्रमा-वीर छानविन प्रतिवेदन : ट्रमाको तथ्यभन्दा प्रशंसा बढी, वीरको छानविन अख्तियारले गरोस्

ट्रमा र वीरमा भएको अनियमितताबारे उकेराले श्रृंखलावद्ध समाचार प्रकाशित गरेको थियो। दुवै अस्पतालका जिम्मेवार अधिकारीले गरेका बदमासी उजागर भएपछि मन्त्रालयले छानविनका लागि समिति गठन गरेको....