जसपाको आधिकारिता विवाद : निर्वाचन आयोगमा आजदेखि सुनुवाइ

जसपाको आधिकारिता विवाद : निर्वाचन आयोगमा आजदेखि सुनुवाइ

काठमाडौं : निर्वाचन आयोगमा जनता समाजवादी पार्टी जसपाको आधिकारिताबारेको विवादमा आज आइतबारदेखि सुनुवाइ सुरु हुँदैछ।

जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आधिकारिता टुङ्गो लगाउन आयोगलाई भनेपछि आयोगले इजलास गठन गरेर आजदेखि सुनुवाइ सुरु गर्न लागेको जनाएको छ।

यादव र महन्थ दुवै पक्षले पार्टीमा एक भएर बस्न नसक्ने भन्दै आधिकारिता टुङ्गो लगाइदिन सहमति जनाएको सहमतिपछि आयोगले जसपाबारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गरिसकेको छ। 

बिहान ११ बजे बस्ने इजलासमा जसपाका दुवै पक्षलाई बोलाइएको आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए। 

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका महन्थ पक्ष र ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको उपेन्द्र पक्षको विवादले जसपा फुट्ने अवस्थामा पुगेको हो। 

यादव पक्षको शनिबार बसेको बैठकले निर्वाचन आयोगमा आजदेखि सुरु हुने आधिकारिताबारेको सुनुवाइमा सबै कार्यकारिणी समिति सदस्य र सांसदहरू उपस्थित हुने निर्णय गरेको छ। 

३ साउन, २०७८, ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।