भाइरल बनाउने गेमले राम्रा गीत-सङ्गीत मारमा परे​​​​​

भाइरल बनाउने गेमले राम्रा गीत-सङ्गीत मारमा परे​​​​​

तपाईँको गायन यात्रा कसरी सुरु भयो ?

म बङ्गाली परिवारमा जन्मेको। सानैदेखि बुबाले सारेगम, रवीन्द्र सङ्गीत सिकाउनुहुन्थ्यो। मेरो पहिलो गुरु बुबा नै हो । २०५१ सालतिर गुरु भोला प्रसाद राईसँग विन्धवासी सङ्गीत प्रशिक्षण केन्द्रमा बेसिक गायन सिक्न थाले। त्यहाँ चौथो वर्षसम्म सिकेर ब्याचलर सकेपछि प्रोफेसनल रूपमा गायन यात्रा सुरु  गरेँ । त्यसपछि विवाह भएर काठमाडौँ आयौँ। त्यहाँ छैंठौँ वर्ष गुरु धनबहादुर गोपाली सर, रविन दास श्रेष्ठ, गुरुदेव कामत सरसंग क्लासिकल गायनको प्रशिक्षण लिए। 

तपाईँले त होटेलमा पनि गाउनु भयो है। त्यति बेला होटेलमा गाउन कतिको सहज थियो?

त्यो बेलामा होटेलमा गाउनेलाई अलि अर्कै नजरले हेरिन्थ्यो। घरबाट राती बाहिर निस्कँदा समाजको डर हुन्थ्यो।  त्यो बेला पुरातन सोच थियो। अहिले होटेलमा गाउनेलाई इज्जतको दृष्टिले हरिन्छ। तर त्यो बेला त्यस्तो थिएन। 

परिवारमा बुबा डाक्टर हुनुहुन्थ्यो। रामभक्त ज्युले धेरै कर गरेर, बुझाएर लानुभएको थियो। शुरुवाती क्रममा साँझ ७ बजे घर फर्कँदा पहिलो पटक एकदमै डर लागेको थियो। मैले सुरुमै फूलबारी रिसोर्टमा गाउन पाए। होटेलमा आउनेहरु भलाद्मी थिए। सङ्गीतका पारखीहरु बढी हुने। राम्रो लाग्यो मलाई। अनि निरन्तरता दिए।

सङ्गीतलाई पेसा बनाउन अलि कठिनै थियो। अब गायनलाई नै पेसा बनाउँछु भनेर निर्णय गर्नुको कारण ?

होटलबाटै मेरो गायनको शुरुवात भयो। सोखको रूपमा गीत रेकर्ड गर्न गएको बेला स्टुडियोमा बुद्ध बज्राचार्य दाइले भिडियो फिल्मको लागि रामभक्त जीलाई मेरो नाम सिफारिस गर्नु भएको थियो। त्यहाँबाट रामभक्तजीसंग पहिलो चिनजान भयो। त्यो बेला गाउने भन्न साथै एकदमै खुसी थियौँ। त्यो अवसर पाएपछि मेरो आवाज मन पराउन थाल्नुभयो । स्टेज कार्यक्रम पनि गर्ने थालेँ। गजल गाउँदै जाँदा स्वरमा पनि निखार र सङ्गीतमा परिपक्वता पनि आउन थाल्यो। त्यस पछि गाउने इच्छा जाग्दै गयो। अनि त अन्त मनै गएन।

त्यति बेलाको सङ्गीतको माहौल भनिदिनुस् न।

त्यति बेलाको सङ्गीतको माहौल राम्रै थियो। म सङ्गीतमा प्रवेश गर्दा रामभक्त जीको उडेर जुन छुन्छु भन्थेँ गीत रेडियो नेपालमा प्रथम भएको थियो । आधुनिक , सुगम सङ्गीतको एकदमै राम्रो माहौल थियो। होटल लाइनमा छिर्नुभन्दा पहिले म पप गीत बढी सुन्ने, हिन्दी गीतहरू बढी सुन्ने र गाउने गर्थे। होटल क्षेत्रमा र रामभक्त जीको सङ्गतपछि मात्रै सुगम सङ्गीतमा रुचि बढेको हो। अहिले सुगम सङ्गीतको गायिका बनेको त्यो माहौलले गर्दा नै हो। माहौल एकदमै राम्रो थियो ।

गायक रामभक्त जोजिजुसंगको भेट र विवाहसम्मको सम्बन्ध कसरी अघि बढ्यो ?

साङ्गीतिक कार्यक्रममा उहाँलाई भेट्ने गर्थे। सङ्गीत प्रशिक्षण केन्द्रमा पनि उहाँले रागहरू प्रस्तुत गरिरहेको देख्थेँ। तर त्यति चिनजान थिएन। स्टुडियोमा बुद्ध बज्राचार्य दाइले कसम तिम्रो कसम भिडियो फिल्मको लागि मेरो नाम रामभक्त जोजेजूलाई रिफर गर्नु भएको थियो। त्यसपछि सँगै गायौँ र होटेलमा सँगै गाउन थाल्यौँ । 

अहिले चैँ केके मा व्यस्त ?

अहिले पनि म व्यस्त नै छु। काठमाडौँ छोडेर पोखरा आएको पनि ७, ८ वर्ष भइसक्यो । अहिले म सेन्ट मेरिज स्कुलमा गायन सिकाउछु। हार्माेनी द मोर्डन सङ अफ पोखरा भन्ने पोखरेली गायिकाहरूको संस्था छ। त्यसमा अध्यक्ष छु। संस्थागत रूपमा पनि लागि रहेको छु। त्यस्तै आफ्नै घरमा म्युजिक रेकर्डिङ स्टुडियो पनि छ। 

हार्मोनी द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा संस्थाबारे केही बताइदिनुस् न?

पोखरालाई कर्मथलो बनाउनु भएको जति पनि गायिकाहरू हुनुहुन्छ, उहाँहरूको साझा संस्था हो। सुरुमा हामीले पोखरेली गायिकाहरूले आफ्नो ठाउँ आफै बनाउनु पर्छ भनेर स्थापना गरेका थियौँ। हामीले आफैले आफ्नै लागि स्टेज बनाएको भने पनि हुन्छ। 

यसले केके कामहरू गर्छ ?

नेपाली सुगम सङ्गीतमा महिला गायनको संरक्षण, संवर्द्धन, प्रशिक्षणका लागि हो संस्था बनेको। लिजेन्डरी हार्माेनी , द वेस्ट अफ हार्माेनि, वेस्ट अफ हार्माेनि धुनहरू गर्यौ। थुप्रै स्रष्टाहरूलाई सम्मान पनि गरेका छौँ। पहिलो लकडाउन अघि पोखराका सबै गायिकाहरूलाई काठमाडौँको स्टेजमा उतार्ने प्लान थियो। त्यो चाहिँ अलि पछि।

अहिले कोभिडले गर्दा सङ्गीत क्षेत्र ठप्प छ । अब कसरी अगाडि बढ्ने योजना छ ?

आफ्नै घरमा स्टुडियो भएकोले हाम्रो रेर्कडिङ त चलिरहेकै छ। मैले सङ्गीत सिकाउँछु। अनलाइन क्लासहरू पनि लिन्छु। सेन्ट म्यारिज स्कुलमा सङ्गीत सिकाउने भएकाले सिकाइमा नै व्यस्त छु। हार्माेनिले गत वर्षको लकडाउनको समयमा विश्व सङ्गीत दिवसको उपलक्ष्यमा हार्माेनि म्युजिकल सिरिज लाइभ प्रोग्रामहरू गरेका थियौँ। त्यसलाई निरन्तरता दिइरहेका छौँ । यस वर्षको विश्व सङ्गीत दिवसदेखि गायकहरूलाई पनि लाइभ कार्यक्रममा सहभागी गराउने योजना बनाएका छौँ। सङ्गीत बजार ठप्प भए पनि मेरो दिनचर्या चैँ व्यस्तै छ।

मन परेका गायक, गायिका, सङ्गीतकार र रचनाकारको नाम लिनु पर्दा ?

पुराना स्रष्टाहरूका सबै गीत सिर्जनाहरू मन पर्छ। म आफू चाहिँ मनिला सोताङ र उदय सोताङको गायन शैली वाट प्रभावित छु । अरुणा लामा, दावा ग्याल्मो, शान्ति ठटालका गीतहरू मन पर्छ। 

मोफसलमा बसेर गायनलाई निरन्तरता दिँदाको कुनै चुनौती ?

आजकल मोफसल र केन्द्रमा त्यति फरक जस्तो लाग्दैन। विदेशमा बसेर पनि आफ्नो काम गर्न सकिन्छ। गीत रेकर्डिङ गरेर बजारमा ल्याउन सक्यौँ भने, टेक्नोलोजीको विकास भएसङै फेसबुक, युट्युब मार्फत आउन सकिन्छ। आफूले कतिको निरन्तरता दिन सकिन्छ भन्ने कुरा हो। 

गायिकाको रूपमा अहिलेको सङ्गीत बजारलाई कसरी हेर्नुहुन्छ ?

कोभिडको कारण सङ्गीत बजार जिरो नै छ। तर कोभिड अगाडी नै आजकल चर्चामा हुने, भाइरल बनाउने आदिले सङ्गीत क्षेत्र ओझेलमा परेको जस्तो लाग्छ। बजारमा पनि ओझेलमा परे जस्तै लाग्छ। गीत रेकर्ड गर्ने कलाकारले खर्च गर्ने र भाइरल बनाउन पनि कलाकारले खर्च नै गर्नुपर्छ । भाइरल बनाउन जुन गेमहरू खेलिन्छ, राम्रो सिर्जनाहरू पछि परिरहेका छन्।

२ साउन, २०७८, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।