अन्तरजातीय विवाह : क्रान्ति होइन, स्वभाविक प्रक्रिया

अन्तरजातीय विवाह : क्रान्ति होइन, स्वभाविक प्रक्रिया

काठमाडौँ : संसारमै नेपाली समाज एउटा छ र त्यो विशिष्ट छ। यस समाजको संरचना अन्य कुनै समाजसँग मिल्दैन र नमिल्नु नेपाली समाजको कमजोरी हैन, विशिष्टता हो।

सबै पूर्वाग्रहहरुलाई परै छोडेर, निर्मम भएर समीक्षा गर्ने हो नेपाली समाजमा दुईथरी स्तरीकरण छन्, ठाडो र तेर्सो स्तरीकरण। स्वतन्त्र भएर समीक्षा गर्ने हो भने, हामीले परिवर्तन चाहेको र नेपाली समाजमा आजको सन्दर्भमा नमिलेको र त्याग्नुपर्ने/छोड्नुपर्ने ठाडो स्तरीकरण हो तर जोगाउनु, प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने चाहिँ तेर्सो स्तरीकरण हो।

हामीले निर्माण गर्न खोजेको आदर्श समाज विभेदरहित हो, एकल रुपतापूर्ण हैन। सबै जात, जाति, जनजाति, धर्म, संस्कृति, भौगोलिक अवस्थितिका मानिसहरु सबै एक हुन्, सबैको एकल पहिचान हुनुपर्छ भनियो भने त्यो नमिल्दो कुरा हुन्छ। सबै जात/जाति/जनजाति/धार्मिक/सांस्कृतिक समूह–सम्प्रदाय स्वयं गौरवशाली छन् र हुनुपर्छ।

नेपाल राष्ट्रभित्र नेपाली मौलिकतालाई आदर्श मान्ने सबै धर्म, जात, जनजाति, धर्म, संस्कृति, भाषा तथा प्रादेशिक पहिचानलाई आदर्श मान्नेहरु सबै अंशियार र वंशियार हुन्।

धर्मकै कारण, जातकै कारण, जनजातिकै कारण, भाषाकै कारण, संस्कृति/संस्कारकै कारण कोही ठूलो/सानो छैन र कहिल्यै हुनुहुन्न। तर स्वपहिचान र स्वधर्ममा रमाउने स्थिति बनाउन आज हामीले कर्म गर्ने हो।

नेपाली समाजको इतिहासमा गर्व गर्नसक्ने धेरै अवसरहरु छन्। सबैले जहानियाँ निरंकुश भनिएको र नेपाली समाजको इतिहासमा कहिल्यै आदर्श बन्न नसकेको राणा शासनकै पालामा पशुसरह किनबेच गर्ने दास प्रथा, आज केही दशकपछि, कुन जात र थर गरेका मानिसहरूलाई दास बनाइन्थ्यो भनेर प्रमाण र अवशेष नै नदेखिने गरेर जसरी अन्त्य गरियो, सम्बन्धको आधार प्रेमलाई बनाएर त्यसैगरी जातीय, लैङ्गिक तथा क्षेत्रीय विभेधहरुको अन्त्य सम्भव छ र त्यसो गर्न हाम्रो पुस्ता सक्षम छ।

लाखौं नेपालीले आजभन्दा अघि नै अन्तरजातीय विवाह गरिसकेको र त्यसका तिता/मिठा अनुभव जे-जस्ता भए पनि आजका मितिसम्म पनि आदर्श विवाह स्वजातीय/मागिविवाह नै छ।

तथाकथित कम्युनिस्ट क्रान्तिकारीहरुले फैलाएको वैचारिक जालमा हामी नफसौँ। तिनले चाहेको नेपाली समाज/संस्कृतिको संरचना तथा सभ्यताको आधारशीला सदासदाका लागि ध्वंश गर्ने हो तर हामी सहृदयीहरुको जिम्मेवारी स्थिति-गत्यात्मक भएर प्राचीनताबाट अविच्छिन्न भएर अघि बढेको मुलधारको ज्ञान, परम्परा जोगाउने र आजको समय सन्दर्भमा नमिल्ने चाल-चलन/संस्कार/संस्कृति त्याग्ने र अनिवार्यताको सिद्धान्त बमोजिम अपरिहार्य परिवर्तनलाई स्वीकार्नु हो।

माथि भनिए जस्तो ठाडो स्तरीकरण (उच्चता/निम्नता) लाई त्याग्ने हो तर तेर्सो स्तरीकरण (बहुपहिचान) लाई जोगाउन सकेनौं भने हाम्रा विविधतापूर्ण संस्कार, संस्कृति, परम्परा लोप भएर, हिजोआज हामिले घाँटी सुक्नेगरी कराएको र सयौँले बलिदान गरेर त्याग्न खोजेको तथाकथित एकल जातीय वर्चस्वभन्दा कुरुप घृणामा आधारित प्रतिक्रियात्मक किसिमको (पश्चिमी समाजसापेक्ष) एकल जातीय, एकल धार्मिक, एकल सांस्कृतिक वर्चस्व नै स्थापित हुन्छ र त्यो हाम्रो आदर्श हैन। विवाह नेपाली समाजमा 'माई लाइफ, माई च्वाइस' होइन। परिवार, नातेदार, कुल, कुटुम्बको आदर्श पनि हो। त्यसकारण विवाह शीर ठाडो गरेर गौरव गर्नसक्ने आदर्श बनोस्, लाजले शीर निहुर्याउने सम्झौता हैन।

अन्तरजातीय विवाह नेपाली समाजको प्रतिमान हैन, उपमान बनाउन हामीले युवायुवतीलाई प्रशिक्षण गर्नुपर्छ। बहुजात, बहुजातीय, बहुजनजातीय, बहुधार्मिक, बहुप्रादेशिक पहिचान भएको नेपाली समाजको मुल प्रवृति स्वजातीय, स्वधर्मी मागिविवाह बनोस् भन्ने कामना गरौँ।

हिजोआज अल्पज्ञान, आधुनिकताको नाममा पश्चिमी समाजका विकृत अभ्यासहरु अनुकरण गरेर, १२/१४ वर्षमा लभ गर्ने, लभ पर्नासाथ शारीरिक सम्बन्ध राख्ने, गर्लफ्रेन्डलाई १४/१६ वर्षको केटोले, विवाह नगरी आफ्नो घरमा लैजाने र केटी पनि लुरुक्क परेर जाने। केटाका बुबाआमा तथा अविवाहित दिदी/बहिनीकै अगाडि गर्लफ्रेण्डसँग सँगै सुत्न तयार हुने। केटाका बुबाआमा, दिदीबहिनीले कुनै प्रतिकार र निरुत्साहन नगर्ने। विवाहअघि नै गर्भ बस्ने र असुरक्षित गर्भपतन अपरिहार्य बन्ने प्रवृत्ति समाजमा फैलँदै छ। यस्तो सामाजिक विचलन, विसंगति तथा कुसंस्कारलाई तथाकथित परिवर्तन अथवा क्रान्ति भनेर आदर्श मान्न सकिँदैन? 

यस्तो कुरीति अन्तरजातीय मात्रै हैन, स्व-जातीय विवाहमा पनि निरुत्साहित गर्नुपर्छ। हामी आफूआफूले मनन गरौँ त हाम्रा छोराछोरीको आदर्श वैवाहिक सम्बन्ध कस्तो चाहन्छौं? पढुन्, जानून्, बुझून्, ज्ञानी बनून्, आत्मनिर्भर बनून् र आफ्नो जीवनको निर्णय लिँदा बुबा/आमा/इष्ट/मित्र/कुल/कुटुम्बको पनि आदर्श बनुन् भन्ने अपेक्षा राख्छौँ/राख्दैनौँ? 

उमेर, शरीर, मानसिक, सामाजिक, सांस्कृतिक तथा व्यावहारिकताले योग्य भएर लिएका निर्णयहरूलाई स्वागत गरौँ। होनहार युवायुवतीहरु पढाइ, लेखाइ, सिप, कला, ज्ञान आर्जन, आर्थिक स्वाबलम्विता ओझेल पारेर मलाई त्यही केटी/केटो चाहिन्छ भनेर एउटै लक्ष्य बनाएर जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षलाई नजरअन्दाज गर्ने गलत प्रवृत्ति व्यक्तिगत स्वतन्त्रताका नाममा संक्रामक सरुवा रोग जस्तै गरेर फैलँदै छ।

आत्मनिर्भर र स्वाबलम्वी भएर, आफ्नो जीवनको निर्णय गर्नसक्ने भएपछि युवायुवतीहरुका स्वतन्त्रताको सम्मान गर्नु पो आदर्श हुन्छ? नेपाली समाजमा सबै जातजाति, जनजाति, प्रादेशिक समुदायको आआफ्नो रीतिरिवाज, चालचलन छन् र तिनीहरु ती-ती समाज र समुदायका सदस्यहरुको आशा र आत्मविश्वासका बाधक छैनन्।

निर्मम बनेर त्याग्ने उच-निच अनुभूति र विभेद हो। विश्वविद्यालयले स्वामित्व लिन नसकेको बहुधार्मिक, बहुभाषिक, बहुजातीय, बहुजनजातीय, बहुप्रादेशिक तथा बहुसांस्कृतिक पहिचानमा अन्तरनिहित भएको ज्ञान पद्धति हैन।

सम्बन्धको आधार घृणामा खोज्ने द्वन्द्वात्मक भौतिकवादी कपुतन्त्रीय गुटहरुको विषाक्त वैचारिक जालोबाट निस्किएर, सहृदयताको फराकिलो राजमार्गमा आएपछि मात्रै धर्म, संस्कृति, भाषा, जात, जाति, जनजाति तथा प्रादेशिक विविधता समस्या र झमेला नभएर अवसर र सम्भावना लाग्छन्।

समन्वयात्मकता र पारस्परिकतामा आधारित नेपाली समाज र संस्कृतिको मुलधारलाई स्थिति गत्यात्मक प्रवर्तन गर्नु हामी सबै नेपाली नागरिकको सामाजिक कर्तव्य र जिम्मेवारी हो।

१ साउन, २०७८, ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।