स्थायी कमिटीमा नेपाल पक्ष उपस्थित हुने एमाले नेता नेम्वाङको विश्वास 

स्थायी कमिटीमा नेपाल पक्ष उपस्थित हुने एमाले नेता नेम्वाङको विश्वास 

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य सुभासचन्द्र नेम्वाङले माधवकुमार नेपाल पक्षसँग छलफल गरेर नै स्थायी कमिटीको बैठक बोलाएको बताएका छन्।

तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा नेपाल पक्ष आउने/नआउने अनुमान अहिले नगर्न उनले आग्रह गरे। 

‘उहाँहरूसँग छलफल गरेर नै बैठक बस्न लागेको हो,’ नेम्वाङले उकेरासँग भने ‘बैठकको एजेन्डा छलफलकै आधारमा टुङ्गिएको छ।’ उनले नेपाल पक्ष नआउने भनेर अहिले नै टिप्पणी गर्न नहुने बताए। 

तर, नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले भने सरसल्लाह नगरी एकपक्षीय रूपमा बोलाइएको बैठकमा आफूहरू नजाने बताएका छन्। 

स्थायी कमिटी सदस्य नेम्वाङले स्थायी कमिटीको बैठक र संसदीय दलको बैठकमा नेपाल पक्षलाई बोलाइएकाले आउने विश्वास व्यक्त गरे। एमालेको विवाद समाधान कार्यदलले १० बुँदे सहमति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाइसकेको छ। 

बालुवाटारबाट बाहिरिएर निजी निवास पुगेका निवर्तमान प्रधानमन्त्री एवं अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा आएर आत्मालोचना गर्ने स्थान समेत नरहेको बताएका थिए। 

१ साउन, २०७८, ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।