ओलीले बोलाएको संसदीय दल र स्थायी कमिटीको बैठकमा नेपाल पक्ष नजाने 

ओलीले बोलाएको संसदीय दल र स्थायी कमिटीको बैठकमा नेपाल पक्ष नजाने 

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटीको बैठक बस्न लागेको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बैठक बोलाएका हुन्। 

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। तर, एकपक्षीय रूपमा सरसल्लाह नगरी बोलाइएको बैठकमा नेपाल पक्ष नजाने भएको छ। नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले पार्टी एकता हुन नदिने गरी एकपक्षीय रूपमा बोलाइएको बैठकमा आफूहरू नजाने बताए। 

‘पार्टीमा सरसल्लाह नगरी एक पक्षीय रूपमा बोलाइएको बैठकमा जाँदैनौ,’ नेपाल पक्षका सांसद श्रेष्ठले उकेरासँग भने,‘पार्टी एकताको प्रस्तावमा छलफल नगरी बोलाइएको बैठकमा जाने कुरा भएन।’ 

पार्टीको विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। 

स्थायी कमिटीको बैठक पछि दिउँसो ३ बजे नयाँ वानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ।

१ साउन, २०७८, ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।