टिचिङ अस्पतालका दुवै सिटी स्क्यान मेसिन बिग्रिए, बिरामीलाई सास्ती

टिचिङ अस्पतालका दुवै सिटी स्क्यान मेसिन बिग्रिए, बिरामीलाई सास्ती

मेसिन बिग्रिँदा अस्पतालको सिटी स्क्यान सेवा अवरुद्ध भएको छ। जसका कारण बिरामीले अस्पतालबाहिर गएर सिटी स्क्यान गर्नुपर्ने बाध्यता छ। 

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आकस्मिक कक्षको समेत सिटी स्क्यान मेसिन बिग्रिएको जानकारी दिए। 

आकस्मिक कक्षको सिटी स्क्यान मेसिन पुरानो भएकाले बिग्रिएको अस्पतालले जनाएको छ। अर्को सिटी स्क्यान मेसिनको भने ट्युब बिग्रिँदा सिटी स्क्यान सेवा रोकिएको अधिकारीले जानकारी दिए। 

उनका अनुसार यो मेसिनको पहिलोपल्ट ट्युब बिग्रिएको हो। यो मेसिनले दैनिक करिब ६० जना बिरामीको सिटी स्क्यान गर्थ्यो। 

कहिले बन्छ?

अस्पतालका अनुसार सिटी स्क्यान मेसिनको सामान जर्मनीबाट ल्याउनुपर्ने भएकाले त्यो बन्न अझै करिब तीन हप्ता लाग्न सक्छ। 

सिटी स्क्यान मेसिनको ट्युब फेर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने अधिकारीले बताए। 

अस्पतालका अनुसार मेसिनको ट्युब ल्याउने तथा जडान गर्ने प्रक्रिया अघि बढिरहेको छ। 

ट्युब जडानका लागि ‘इस्ट वेस्ट कन्सर्न प्रालि’सँग टेन्डर प्रक्रियामा सम्झौता हुने चरणमा रहेको अस्पतालले जनाएको छ। 

उक्त मेसिन बनेको खण्डमा पनि बिरामीलाई सिटी स्क्यान गर्न सहज हुने उनको भनाइ छ। 

आकस्मिक कक्षको सिटी स्क्यान मेसिन भने तत्काल नबन्ने अधिकारीले जानकारी दिए। उक्त मेसिन पुरानो भएको अस्पतालले जनाएको छ।

२९ असार, २०७८, १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।