'अलोकप्रिय हुने डरले मधेसीले नागरिकता नपाएको विषयमा कसरी मौन बस्नु ! त्यसैले लेख्न छाड्दिनँ'

'अलोकप्रिय हुने डरले मधेसीले नागरिकता नपाएको विषयमा कसरी मौन बस्नु ! त्यसैले लेख्न छाड्दिनँ'
तस्बिर : कृष्पा श्रेष्ठ ।

सामाजिक विषयवस्तुलाई चित्रात्मक शैलीमा उनेर पाठकसमक्ष छर्लंग पार्ने आख्यानकार हुन् नयनराज पाण्डे।

आख्यान लेखनमा २०३९ सालदेखि लागेका पाण्डेले पहिलो कथा ‘मलाई सञ्चै छ’ लेखे। ‘नांगो मान्छेको डायरी’ २०३९, ‘विक्रमआदित्य एउटा कथा सुन’ २०४४, ‘ अतिरिक्त’ २०५०, ‘उलार’ २०५३, ‘लु’ २०६८, ‘घामकिरी’ २०७० र ‘सल्लीपिर’ २०७२ गरी ७ वटा त उपन्यास लेखे।

‘खोर भित्रको जोकर’ २०६०, ‘निदाएँ जगदम्बा’ २०६५, ‘चकलेट’ २०६९ र जियरा उनको यो वर्षको कथासंङ्ग्रह हो। संस्मरण कृति ‘यार’ २०७४ मा प्रकाशन गरेका पाण्डेले ‘सन्तोष र हराएको सूर्य’ २०७१, ‘जरायोको  साइकल’ २०७३ बाल चित्र कथासंग्रह समेत प्रकाशित गरेका छन्।

उपन्यास र कथामा अब्बल रहेका पाण्डे १० वर्षअघिसम्म चलचित्रका पटकथा समेत लेख्थे। १० वर्षयता कुनै पटकथा नलेखेका उनेले ‘मलाई माफ गरिदेऊ’, ‘लडाईं, ‘शहीदगेट’, ‘सन्तान थरीथरीका’ ‘बसाई’ ‘शिरीषको फूल’ लगायतका दुई दर्जनभन्दा बढी फिल्मको पटकथा लेखे भने ‘करुणा’, ‘पुष्पाञ्जली’ ‘जीवन यात्रा’ गरी एक दर्जनभन्दा बढी टेलिशृंखलाको पटकथा लेखेका छन्।

हालसालै ‘जियरा’ कथासंग्रह प्रकाशित गरेका पाण्डेको लेखन यात्रा नयाँ कृति जियरामा केन्द्रित रहेर उकेराका लागि प्रजु पन्तले गरेको कुराकानीः

आफ्नो पुस्तक पाठकसमक्ष गएपछि लेखकलाई कस्तो महसुस हुन्छ?
जतिसुकै पाको लेखक भए पनि पुस्तक बजारमा गएपछि केटौलीपन आइहाल्ने रहेछ। मलाई पनि यस्तै भएको छ। यसले ऊर्जा पनि दिन्छ, पाठकले के  भन्नुहुन्छ, कस्ता प्रतिक्रिया आउँछ, पहिलो रियाक्सन कस्तो हुन्छ, चासो त लाग्छ नै।

केही पाठकले पढ्ने वितिक्कै सामाजिक सञ्जालमा प्रतिक्रिया पनि दिनुहुन्छ, त्यतिबेला कस्तो लाग्छ?
मैले राम्रो लेखेको हो भनेर आत्मरतिमा रमाएर बस्नु पनि भएन। पाठकको प्रतिक्रियाले सचेत पनि गराउँछ। पहिलो प्रतिक्रिया अर्ग्यानिक हुन्छ। समीक्षा, समालोचनाले भन्दा यस्ता प्रतिक्रिया जेन्युन हुन्छन् किनभने त्यहाँ जस्तो हो, त्यस्तै हुन्छ। कति प्रतिक्रियालाई भने फिल्टर गरेर बुझ्नुपर्ने हुन्छ।

प्रारम्भिक प्रतिक्रिया कस्तो आइरहेको छ?
धेरैले पढिसक्नुभएको छैन। पुस्तकको कभर सामाजिक सञ्जालमा राख्नुभएको छ। केहीले पढिसेकर इमेल पनि पठाउनुभएको छ। अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाइरहेको छु।

जियरा कोरोनाको ‘उपलब्धि’ हो?
कोरोना संक्रमण सुरु भएपछि धेरै समय घरै बसियो। खासै लेख्न सकिएन पहिलो लकडाउनमा। 'जियरा'मा समावेश भएका कथाहरु पहिल्यै लेखिसेकेको थिएँ। लकडाउनमा भने पुनर्लेखन तथा सम्पादन गर्ने मौका पाइयो।

सुरुदेखि नै तपाईंले आफ्नो कथा पुनर्लेखन गर्नुहुन्थ्यो?
सबै लेखनी पुनर्लेखन गर्न पर्दैन तर केही त पर्छ नै। विषयवस्तु, पात्र र घटनाक्रमलाई मिलाउने काम त गरिरहेकै हुन्छु प्रायः।

तपाईंलाई लेख्नुपर्छ भन्ने कहिलेबाट लाग्यो?
मेरो लेखनयात्रा केटाकेटी बेलादेखि नै सुरु भएको हो। कक्षा ६/७ पढ्दा नै कविता सुनाउने गर्थें विद्यायलमा। रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रमको नियमित स्रोता थिएँ। बासुदेव मुनाल हुनुहुन्थ्यो सञ्चालक। उहाँले हाम्रो कथा–कविता पढेर सुनाइदिनुहुन्थ्यो। मेरा दामलीका साथीहरुमाझ त म सेलिब्रिटी नै हुन्थें। एसएलसी दिएपछि दुई/तीन महिनालाई काठमाडौं आउन पाएँ।
 
१६/१७ वर्षको हुँदा रुपरेखामा कविता छापियो २०३९ सालमा। लामो थियो मेरो कविता। ईश्वरवल्लभले सम्पादन गरेर फुच्चे बनाइदिनुभएको थियो। २०४१ सालमा कथा छापियो रुपरेखामा नै। त्यसपछि त गोरखापत्रको शनिबारे अंकमा, मधुपर्क तथा गरिमामा पनि छापिन थाले।

साहित्यकार भुवन ढुंगानाले हरेक साहित्यकार कवि हो भन्नुभएको थियो। तपाईंले पनि लेखन यात्रा कविताबाटै सुरु गर्नुभएको रहेछ है?
हो नि। कवि नभई सम्वेदना क्याच गर्न सकिँदैन। कविता भनेको सम्वेदना त हो नि। कथा, उपान्यासमा अर्कै ढंगले विस्तारै परिवेश, पात्र र घटनाक्रमलाई उनिन्छ। सम्वेदनाका पक्ष साझा हुन्छन् लेखनमा। ९९ प्रतिशत आख्यानकारको लेखन सुरुवात कविताबाट भएको हुन्छ। सुरुमा सम्वेदना क्याच गरेर कविता लेख्ने, त्यसपछि कथा–उपन्यासतिर ढल्केको देखिन्छ।

कविताबाट सुरुवात गरे पनि पछिसम्म कवि भइरहन नसक्ने किन होला?
कवितामा जुन प्रकारको संवेदना हुन्छ, त्यो त कथामा पनि लेखिएको हुन्छ। सुरुवाती लेखनमा कविता लेखे पनि विस्तारै अन्य विधा पढ्दै गइन्छ। पढाइले कुन विधामा आफ्नो रुचि हो थाहा पाइन्छ। त्यसपछि त्यही लाइन समातेर लेखिन्छ। मलाई कथा–उपन्यास नै लेख्छु भन्ने लाग्यो अनि लेख्न थालें।

सानैबाट कविता लेखें भन्नुभयो, घरमा किताब पढ्ने माहोल थियो?
बुबा शिक्षक हुनुहुन्थ्यो। घरमा पत्रिकाहरु आउँथे। बुबाको सानो पुस्ताकालय पनि थियो। लेखक रुद्रराज पाण्डे हाम्रो वंशज पहिल्यै लेखक हुनुहुँदो रहेछ। उहाँको बारेमा घरमा कुरा भइरहन्थ्यो। उहाँको रचना पनि पढेको। आमाले धेरै प्रेरित गर्नुहुन्थ्यो। पढ्ने माहोल सानैदेखि थियो।

लेखनीमा नै जम्नुपर्छ भन्ने चाहिँ कहिलेदेखि लाग्यो?
मामाघर काठमाडौं भएकाले आउजाउ भइरहन्थ्यो। मामा पनि साहित्यमा रुचि राख्ने। मेरो संगत श्यामल दाइसँग भयो। उहाँले साहित्यमा विचार भनेको के हो, कसरी राख्ने भनेर गाइड गर्नुभयो। लेख्न त लेख्थेँ तर पूरै हिन्दी फिल्म जस्तो, सायद उतैबाट प्रभावित थिएँ।

म दिनकै कथा लेख्थेँ। ती कथा काम लाग्ने त थिएनन् तर त्यसले मलाई कथा बुन्ने शिल्प भने सिकायो। नेपालगञ्जमा सनत रेग्मी, नन्दलाल लम्साल जस्ता साहित्यकारसँग कुराकानी हुन थाल्यो। उहाँहरु राष्ट्रिय स्तरका कथाकार हुनुहुन्थ्यो। उहाँहरुको संगतमा जान थालेपछि कथा यसरी पो लेख्ने रहेछ भन्ने थाहा हुँदै गयो। मेरो सोचको दायरा फराकिलो हुँदै गयो। आफ्नै रचनाको समीक्षा गर्न थालें। मैले लेखेका फिल्मी शैलीका कथाहरु लेख्न छाडेर जनजीवन, समाजका विषयवस्तु उठान गरेर कथा लेख्न थालेँ। लेखनीमा जम्नुपर्छ भन्दा पनि लेखनीमा रम्न थालेपछि लेखनमा जमेँ।  

तपाईंले लेखन यात्राको सुरुवात गर्दा पत्रिकामा रचना छाप्न ठूलै पापड बेल्नुपर्थ्यो। ‘गरिमा’, ‘रुपरेखा’ र मधुपर्कमा छापिनु ठूलो कुरा हुन्थ्यो। यी पत्रिकामा छापियो भने लेखकको सान नै ठूलो हुने समय थियो। तपाईंका पनि केही अनुभव छन्?
हो, त्यतिबेला यी पत्रिकामा आफ्ना रचनाहरु छापिनु ठूलो कुरा थियो। छापियो भने देशव्यापी चर्चा हुन्थ्यो। गरिमामा मेरो रचना ४३ सालमा मात्रै छापियो। त्यसपछि ३ अंक धारावाहिक नाटक २०४५ सालमा छापियो। गोरखापत्रको शनिबारे अंकमा छापिनु पनि धेरै ठूलो कुरा हुन्थ्यो।

त्यो बेला गोरखापत्रको शनिबारे अंक त एकदमै राम्रो हुन्थ्यो। मातृभूमि, नयाँ सन्देश पनि राम्रै पत्रिकामा गनिन्थे। यी पत्रिकाहरुमा रचना छापिँदै गएपछि नारायण  ढकाल, विमल निभाहरुसँग मेरो संगत भयो। उहाँहरुको लेख हेरी–हेरी हुर्किएँ। आजपर्यन्त उहाँहरुसँग मेरो संगत छ।

तपाईंले सुरुवातमा कथा लेख्दाका विषयवस्तु र अहिलेका विषयवस्तुमा के फरक पाउनुहुन्छ?
पहिले र अहिले धेरै फरक भएको छ। समाज नै परिवर्तन भइसक्यो। राजनीतिक व्यवस्था त पूरै फेरियो। मैले लेखनको सुरुवात गर्दा देशमा पञ्चायतकाल थियो। त्यतिबेलाको लेखनमा पञ्चायतलाई प्रहार गर्ने तरिकाले लेखिन्थ्यो। सीमितता थियो लेखनीमा।

त्यतिबेला 'अलिखित', 'माधवी', 'घामका पाइलाहरु' जस्ता कालजयी कृतिहरु पनि नआएका हैनन्। तर लेखनीलाई परिस्थितिले धेरै प्रभाव पार्छ। माओवादी जनयुद्ध, मधेस विद्रोह र गणतन्त्रसम्म आइपुग्दा जुनसुकै लेखनीको पनि विषयवस्तु त परिवर्तन भइनै हाल्छ।

अहिले धेरैको सोचाइमा परिवर्तन आएको छ। दलित, महिला, मधेसी सीमान्तकृत समुदाय, अल्पसंख्यकका मुद्दाहरु प्रखर भएर आएका छन्। यी कुराहरु लेखनमा झल्किने नै भए। लेखनका विषयवस्तु हाम्रोमा झन् फराकिलो हुँदै गएको छ भने तरिका पनि बदलिएका छन्। त्यसैले त लेखनीका हरेक विधाका विषयवस्तु पनि बदलिएका छन्।

तपाईंले चलचित्रका पटकथा, कथा–उपन्यास लेख्नुभयो। आफूलाई कुन विधाको लेखक भन्न रुचाउनुहुन्छ?
पेसागत रुपमा सिनेमा पनि लेखेँ। पटकथा धेरैको लेखियो। त्यो विल्कुल पेशागत लेखन थियो। अहिले आएर हेर्दा कथा, उपन्यास लेखेपछि सबै विधाको लेखक भइयो नि।

दुई दर्जनभन्दा बढी चलचित्र पटकथा लेख्नुभयो। कुन चाहिँ पटकथा लेख्दा ‘वाह! क्या लेखेँ’ जस्तो भयो?
दुई दर्जन फिल्म र एक दर्जनभन्दा बढी टेलिशृंखला लेख्दा पनि सन्तुष्ट भइनँ। चलचित्र लेखनबाट गर्व गर्ने खासै चिज भेट्दिन आफूमा। सिनेमा भनेको विशुद्ध निर्देशकको हुने भयो।

मैले लेखेको समयमा नेपाली फिल्महरु हिन्दीबाट डोमिनेट थिए। त्यहाँ जस्तै कथा लेख्नै पर्थ्यो। निर्देशकले उतैको अनुकरण गर्न भन्थे। आफ्नोपन नभएकोले होला वाह! क्या लेखेँ भन्ने लाग्दैन हालसम्म। ‘मलाई माफ गरिदेऊ’ फिल्मबाट उत्कृष्ट पटकथा लेखक अवार्ड पाएको हुँ। तर सन्तुष्ट भने हुन सकिनँ फिल्म लेखनीबाट।

किन हिन्दीबाट डोमिनेट भएको?
निर्देशक, निर्माताहरुले त्यही चाहन्थे। हामीले नयाँ कुरा दिन खोज्दा पनि निर्देशकले बुझ्दैनथे। कम्युनिकेट राम्रो हुँदैनथ्यो। लेखक र निमार्ताबीच कम्युनिकेट थिएन। त्यसै कारणले पनि होला मैले 'बसाईं', 'शिरीषको फूल', 'मैना'को पटकथा लेख्दा पनि  अपेक्षा गरेअनुसार फिल्म चलेन।

विदेशतिर किताबमाथि बनेका फिल्मले राम्रो गरिरहेका छन्। नेपालमा भने त्यो देखिँदैन। किन यस्तो भएको होला?
सायद पाठकलाई किताब पढ्दा आफ्नो समझमा आएको दृश्य र फिल्मको तालमेल मिल्दैन होला। अर्को कारण भनेको, निर्देशकहरु भिज्युअल ल्याङ्वेज बुझ्दैनन्। क्यामेराको एंगल कम्पोजिट, क्लोज सट, मिड सट र सम्पादन बाहेक केही नजान्ने आलाकाँचा सम्पादक छन्। यस्तो भएपछि पटकथामा मिहिनेत गरेर मात्रै भएन। खासमा भन्दा निर्देशकले भिज्युअल नबुझेकाले सिनेमामा मिहिनेत गर्न पनि पाइएन। सन्तुष्ट हुनेगरी काम गर्न पनि पाइएन।

तपाईंले पछिल्लो पटक मैना लेख्नुभएको १० वर्ष भइसक्यो। फेरि फिल्ममा काम  गरौँ भन्ने लाग्दैन?
अहिले प्यासन छैन ममा। पटकथा लेख्दा चाहिने धैर्यता पनि छैन। ६-७ महिना लाग्छ, एउटा पटकथा लेख्न। अर्थोपार्जन कति हुन्छ, त्यसले पनि भर पर्छ। अहिले खगेन्द्र लामिछाने, दिपेन्द्र के खनाल, सुवर्ण थापाले निर्देशन गर्नुभएका सिनेमाले मेन स्ट्रिमका सिनेमालाई प्रभावकारी हस्तक्षेप गरेर विस्थापित गर्दै छन्।

काम गर्ने नै हो भने त निर्देशकलाई मनाउन धेरै सजिलो छ अहिले। लेखनमा नयाँ गरौं भन्दा कन्भिन्स हुने निर्देशकहरु हुनुहुन्छ। लेख्न छाडेको १० वर्ष भइसके पनि अफर भने नआएको हैन। लकडाउन हुनुअघि एउटा फिल्म लेख्ने कुरा भएको थियो, लकडाउनले काम रोकियो।

चलिरहेकोभन्दा अलि फरकपन भएका फिल्ममा स्क्रिप्ट लेख्ने रहर अझै छ?
हुन्छ नि, किन नहुनु। सामाजिक विषयवस्तुमा आधारित रहेका फिल्मको स्क्रिप्ट लेख्ने रहर अझै छ।

दर्जनौँ सिनेमा लेखे पनि सन्तुष्ट हुन सक्नुभएन। उपन्यास, कथासंग्रह कुनबाट सन्तुष्ट हुनुहुन्छ?
पुस्तकको सवालमा भने म सबैबाट सन्तुष्ट छु। लेखकलाई हरेक पुस्तक फरक लेख्छु भन्ने हुन्छ नै। तर मानक स्थापना गरिदिने पाठकले हो। केही पाठकले 'उलार'लाई मानक मानिदिनुभएको छ। केहीले 'लु' लाई। मधेसको मुद्दामा लेखेँ, अब पुग्यो भन्ने हुँदैन। नयाँ-नयाँ मुद्दा उठाउँ भन्ने भइरहन्छ।

कथा र उपन्यास दुवै लेख्नुहुन्छ। फरकपन त विधा अनुसार हुने भइहाल्यो। तपाईंले कसरी फरक गर्नुहुन्छ?
कथा र उपन्यासमा धेरै फरक छ। कथाको एउटा पात्र त्यसैको वरिपरि घुमेको परिवेश हुन्छ। उपन्यासमा परिवेश, चित्रण, बिम्वको प्रयोग हुने भयो। मैले कथामा काम गर्दा एउटा पाटोमा गर्छु। 'जियरा'मा भने केही नयाँ गरेको छु। कथाका प्लटहरु छन्। उपन्यास र कथा लेख्दा नयाँ-नयाँ प्रयोग गरिरहेको हुन्छु म। उपन्यासमा पनि कोशिस त्यही नै रहन्छ।

कथा, उपन्यास दुवै लेख्ने लेखकले उपन्यास लेख्दालेख्दै भएन भने त्यही विषयवस्तुलाई कथामा ढाल्ने गरेको पनि पाइन्छ। तपाईंले यस्तो गर्नुभएको छ?
छैन। यस्तो गर्नुहुँदैन जस्तो लाग्छ। किनभने, कथा लेख्दा कहाँबाट सुरु गर्ने, कहाँ गएर अन्त्य गर्ने पहिल्यै प्लट तयार हुन्छ। तर उपन्यासमा कथा कसरी टुंगिने भन्ने हुँदैन। पात्रहरुसँग बढी खेलिन्छ उपन्यासमा। समय नै धेरै दिइन्छ। भिज्युअल केन्द्रित हुन्छ। कथा मुद्दा केन्द्रीत हुन्छ, प्रहार गर्ने किसिमले लेखिन्छ।

केही लेखक साहित्यले मुद्दा उठाउने होइन, मुद्दा नै उठाउने भए गैरआख्यान लेख्दा भइहाल्यो नि भन्छन्तपाईंले लेख्नुभएका कथा, उपन्यास चाहिँ किन मुद्दाकेन्द्रित हुन्छन्?
लेख्नुको आ–आफ्नो उद्देश्य हुन्छ। मेरो उद्देश्य मुद्दा उठाउनु पनि हो। मलाई के लाग्छ भने, साहित्यमा मुद्दा उठाउँदा मुद्दा मात्रै उठ्दैन, कला, सम्वेदना सबै उठ्छ। ज्सले गर्दा पाठकलाई पछिसम्म गडेको हुन्छ। कथाले सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ। यसो भन्दैगर्दा कथाले समाज सुधार्छ भन्ने खोजेको होइन। तर मलाई कथा लेख्न मुद्दा हुनैपर्छ।

तपाईंले उठाउने विषयवस्तु र पात्र चयनले कम्युनिष्ट होकी भन्ने छनक पाइन्छ भन्छन् केही पाठक!
हाँसो। कम्युनिष्टकै बीचमा पनि यो कम्युनिष्ट होइन भन्छन् मलाई। प्रजातान्त्रिकहरुले पनि मान्दैनन्। मेरो सदस्यता केहीमा छैन। तर साहित्य प्रगतिशील हुनुपर्छ भन्ने मेरो मान्यता छ। प्रगतिशील साहित्य समाज रुपान्तरणको लागि लेख्ने हो। साहित्य भनेको अग्रगमनको लागि लेखिने हो। म कम्युनिष्ट हैन।  

तपाईंको विचारधारा के हो त?
पहिले क्याम्पस पढ्दा नेविसंघमा आबद्ध थिएँ। त्यहाँ रहँदा उनीहरुसँग विचारधारा मिलेन। वामपन्थी साथीहरुसँग संगत हुँदा जडसुत्रवादी उहाँहरु कलालाई अपहेलना गर्ने। साहित्य लेख्दा पनि नारा लेख्ने, कलाविहीन विचारलाई साहित्य मान्ने। दुवैमा यो खालको अतिवाद मलाई मन परेन।

हेर्दा कस्तो विचारहिनता जस्तो देखिएको छ। कुनै पनि राजनीतिक दलको विचारलाई पनि समाउन सकिएको छैन। किनभने सबैको व्यवहार उस्तै देखिएको छ। माक्र्सवादी हुँ भन्नेसँग पक्कै पनि मेरो निकटता छ। उहाँहरुप्रति सम्मान अवश्य छ। तर मेरो लाइन यही हो भन्ने अवस्थामा म छैन।

अब तपाईंका पुस्तकबारे कुरा गरौं। नयनराज पाण्डे भन्ने वित्तिक्कै ‘उलार’ भन्ने सम्झने पाठक पनि हुनुहुन्छ। यसबारे तपाईं के भन्नुहुन्छ?
खुसी लाग्छ। नेपालमा मधेसका विषयमा धेरै कम साहित्य लेखिएको छ। मधेसबारे धच गोतामे, धु्रवचन्द्र गौतमहरुले लेख्नुभयो। मधेसी समाजबारे विमर्श भएको थिएन लामो समय। उलार आएपछि केही न केही विमर्श भयो जस्तो लाग्छ।

जनकपुर, वीरगञ्ज जाँदा धेरै पाठकले ‘तपाईंले साहित्यमार्फत मुद्दा स्थापित गर्नुभयो’ भन्नुभएको थियो। राष्ट्रिय मुद्दा बन्यो भन्नुभयो। तर फेरि लुलाई मानक मानेर सम्झने पाठक पनि उत्तिकै हुनुहुन्छ। सीमारक्षा गर्ने मधेसीबारे लेखिएको छ। राज्यले दिनुपर्ने महत्व दृष्टिकोण पुस्तकमार्फत आयो भन्ने कुरा आयो। पाठकले जुन पुस्तक सम्झिए पनि खुसी त लाग्छ नि।

तराई–मधेसको मुद्दा उठाउनेलाई एकताका विखण्डनवादी भनिन्थ्यो। अहिले अलि मत्थर त भएको छ तर अझै पनि विखण्डनवादीको ठप्पा लगाइन्छ। विखण्डनवादीको आरोप लाग्ला भन्ने डर लाग्दैन?
कहिलेकाहीँ त मधेसका मुद्दा उठाउँदा डर लाग्छ। जियरामा पनि मधेसीले नागरिकता नपाएको कुरा उठेको छ। कतिपयलाई यी विषयवस्तु पच्दैन पनि। तर मधेसमा नागरिकताको समस्या कति छ भन्ने मधेस छिरेपछि मात्रै थाहा हुन्छ।

नागरिकता खुकुलो हुने वित्तिक्कै भारतीयले लिन्छन् भन्ने जड काठमाडौंमा बसेको छ। यदि भारतीयलाई नागरिकता बाँडिन्छ भने त्यो त सरकारको गल्ती हो नि। पैसा खाएर नागरिकता बाँड्ने अनि सदियौँदेखि मधेसमा बसेका नेपालीलाई नागरिकताविहीन बनाउने? सारा दोष मधेसीलाई दिने?

आफ्ना छोराछोरी विदेश गएको केही समयपछि त्यहाँको नागरिकता पाउँदा खुसी हुने, यहाँ बुहारी ल्याउँदा अनेकथरी पास गर्नुपर्ने नागरिकता पाउन? विखण्डनवादीको आरोप लाग्छ भनेर एक लेखकले आफ्नो देशको नागरिकको समस्यामा आँखा चिम्लेर कसरी बस्न सक्छ? म पनि सक्दिनँ। त्यही भएर लेखिरहन्छु। कतिपयले भन्नुहुन्छ, मधेसमा पहाडमा भन्दा धेरै विद्यालय थिए, मधेसीले किन पढेनन् भनेर। तर उहाँहरुले के बुझ्नुभएन भने, भाषा जबरजस्ती नेपाली भिडाइयो।

म पढ्ने विद्यालय पनि कोर मधेसमा थियो। तर मधेसी विद्यार्थी नगण्य थिए। किनभने त्यहाँ भाषाको समस्या थियो। नेपालीमा पढ्नुपर्थ्यो सबै विषय। यसले गर्दा उहाँहरु विद्यालय आउनै छाड्नुभयो। समस्या धेरै छन्। त्यसकारण अलोकप्रिय भइन्छ भन्ने डरले मधेसको मुद्दाबारे लेख्न छोड्दिनँ। मेरा कलम चलुन्जेल लेखिरहन्छु मधेसको विषयमा।

मधेसका मुद्दा लेख्दै गर्दा ‘पसर्नल थ्रेट’ पनि आएको छ कि?
व्यक्तिगत रुपमा मलाई त आएको छैन। तर लु नाटक मञ्चनको तयारी नै रोकियो। नाम त  भन्दिनँ तर वरिष्ठ निर्देशकले काम गर्न नसक्ने भइयो भन्नुभयो। सायद भारतीय पक्षबाट आएको होला।

सल्लीपिर लेख्दा नयनराज तराई–मधेस छोडेर हिमाल चढे, त्यहाँ फ्लप भए। त्यसपछि फेरि मधेस झरे पनि भनिन्छ। हिमाल उक्लेर गल्ती गरें जस्तो लाग्दैन?
लाग्दैन, बरु गर्व लाग्छ। बौद्धमा शेर्पा समुदायले गरेको सम्मानले मैले शेर्पा समुदायलाई न्याय गरेको अनुभूति भयो। लेखन वृत्तमा चर्चा भएको हो यसबारे।  हामी एउटा न एउटा पूर्वाग्रह राख्छौँ, यो लेखकले यही गर्ने भनेर। तर त्यस्तो हुँदैन।

हामीलाई हिमाल पुग्न कति दिन नै लाग्छ र? तराईंको लेखकले हिमाल उक्लिएर त्यहाँको वस्तुस्थिति अध्ययन गरेर लेख्नै नसक्ने भन्ने होइन। हजारौँ किलोमिटर पर गएर रिसर्च गरेर लेख्छन् विदेशतिर। हाम्रोमा नसकिने भन्ने हुन्छ र? एकै दिनमा पुगिन्छ हिमाली क्षेत्र। जब म हिमाली क्षेत्र गएँ, त्यहाँ पुस्तक समयमा पुग्दो रहेनछ।

हिमाल चढ्ने शेर्पा भनेर राज्यले उनीहरुलाई गुमाराहमा राखेको छ। त्यसैलाई विषयवस्तु बनाएर लेखेँ। यो कृति मलाई उत्कृष्ट लाग्छ।

जुन भूगोल बुझिन्छ, त्यो समुदायको कथा–उपन्यासमा त्यहाँको पात्रलाई न्याय गर्न सकिन्छ, फरक भूगोलकोलाई सकिँदैन भन्ने मान्यता पनि छ। तपाईंलाई न्याय गर्न सकें जस्तो लाग्छ?
शेर्पा समुदायले पनि हामीले गर्न नसकेको काम तपाईंले गर्नुभयो भने। मैले समात्ने भनेको मुद्दा हो। भाषा, भूगोल त फरक कुरा हो। मैले त्यहाँको मुद्दालाई न्याय गर्न सकें, यही नै ठूलो कुरा हो। त्यसमाथि उहाँहरु हाम्रो संस्कृतिको विविधतालाई पनि देखाइदिनुभयो भनेर खुसी हुनुभयो।

नयनराजले संस्मरण कृतियार’ त लेखे तर मेरो समेत बदनाम गरे, त्यो पुस्तक घरमा राख्न समेत सकिनँभनेर एक लेखक तथा पत्रकारले भन्नुभयोयसरी अर्काको बदनाम नै गर्नेगरी गर्नेगरी संस्मरण लेख्नुहुन्थ्यो ?
लेखनमा त्यस्तो हुँदैन। हामीकहाँ इमानदार भएर संस्मरण लेख्ने चलन छैन। यसरी लेख्नु स्वस्थ कुरा हो। रिसिइबी हैन, इमानदार हुने हो, मित्रता बोल्डली लेख्ने हो। आफ्नो महिमा मण्डन गर्ने मात्रै चलन थियो। मैले त यारमा रियलाइज गरेको छु। आत्ममूल्यांकन गरेको छु।

आफ्नो आत्ममूल्यांकन गर्दा अरुलाई खुइल्याए जस्तो देखियो नि त!
खासमा हामीकहाँ महिमा मण्डन गरेर संस्मरण लेख्ने चलन छ। यार पढेपछि त्यो त हट्यो नि। मानक भत्केकै हो संस्मरण लेखाइको। यसमा साथीहरुले चित्त दुखाउनुपर्ने कुरा छैन। अहिले पनि तपाईंले इंगित गर्नुभएको साथीसँग मेरो राम्रो सम्बन्ध छ।

तपाईंका पुस्तक प्रायः एउटा हिट र अर्को फ्लप हुने गरेको देखिन्छ। घामकिरी उपन्यास पनि फ्लपकै कोटामा पर्छ है?
हो। अरु उपन्यासको तुलनामा कम प्रशंसा भएको हो। तर लेखकहरु कुमारजी र शिवानीजीले मेरो पुस्तक मानक हो भन्नुभएको थियो। यसमा प्रेमकथामा मात्रै अल्झिए धेरै पाठक तर गरिबी र पछौटेपनको मुद्दा पनि उठाएको छु। बजारले विकास गरेको सौन्र्दयको मापनको पनि विरोध गरेको छु। तर इमानदार भएर भन्नुपर्दा यो पुस्तक लेख्दा मैले धेरै आनन्द महसुस गरेकै हो। अर्काे कुरा पनि भनिहालौँ, घामिकिरीको नयाँ संस्करण केही परिर्वतन भएर आउँदैछ।

किन केही परिर्वतन गर्न खोज्नुभएको?
४० प्रतिशतभन्दा बढी सानो भएर आउँछ पहिलेको तुलानामा। हुन त पाठकको हातमा गइसेकपछि कटाउन पाइन्नँ पनि भनिन्छ तर यस खालको प्रयोग घनचक्करमा सञ्जीव उप्रेतीले गरिसक्नुभएको छ।

घामकिरी लेख्दा आनन्द पनि भयो भन्नुभयो। तर फेरि ४० प्रतिशत साइज घट्दै छ भन्नुभयो, कुरा नमिले जस्तो भयो नि!
होइन, चुस्त बनाउन खोजेको हो। यो नराम्रो प्रक्रिया हैन। फिक्सन कसरी सम्पादन गर्ने भनेर बुझ्न चाहनेलाई पनि यसले सिकाउँछ। एक्सपेरिमेन्ट गरेको हो। साहित्यिक पुस्तक बजारमा गएपछि पाठकको हुन्छ भन्ने मान्यता पनि छ। तर भएको मान्यतालाई मान्नेभन्दा पनि केही धारणालाई भत्काउनै पर्छ भन्ने लागेको हो। केही परिर्वतन गरौं भन्ने हुटहुटीले यस्तो गरिएको हो। पाठकले पहिलेको र अहिलेको पुस्तक तुलना गरेर पढ्दा पक्कै पनि फरक महसुस गर्नुहुन्छ।

अहिले आएको नयाँ पुस्तक जियराको अर्थ के हो?
जियरा भनेको आत्मा, मन हो। खासमा यो हिन्दीमा पनि प्रयोग हुन्छ। तर नेपालगञ्जतिर देहाती जीवनमा बढी प्रयोग हुन्छ।

जियरामा १३ वटाकथा छन्। सबै कथामा प्रश्नैप्रश्न छन्। राजनीतिप्रति कथामार्फत राज्यलाई प्रश्न सोध्नुभएछ है?
हो नि। राजनीति धेरै परिर्वतन भयो। तर समस्या ज्युँकात्युँ रहे। हामीले चाहेको परिर्वतन राजनीतिले पूरा गर्न सकेको छैन। त्यसैले मेरो कलममार्फत सत्तासितको झगडा हो।

पहिले–पहिले महिलालाई प्रमुख पात्र बनाएर कृतिहरु लेखिँदैनथे। यसअघिका तपाईंकै कृतिमा पनि थिएनन्। तर जियरामा महिलालाई प्रभावशाली र प्रमुख पात्र बनाउनुभएको छ। लेखक संवेदनशील हुँदै गएको कि, परिस्थिति बदलिएर मनस्थिति बलिएको?
लेखक फेरिनुपर्यो नि। मान्छे हुनुको अर्थ त परिर्वतन पनि हो नि। मलाई के लाग्छ भने, मेरा पूर्ववर्ती रचना उलारमा द्रौपदी पात्र थिइन्, जुन सहने पात्रको रुपमा चित्रित गरिएको थियो। त्यो बेलाको राजनीतिले निर्माण गरिदिएको पात्र हो त्यो।

लु उपन्यासमा आउँदा अलि फरक निर्णय गर्नसक्ने पात्र छन्। राजनीतिक घटनाक्रमले पनि महिला, मधेसी, दलित, जनजातिको मुद्दाबारे व्यापक बहस भएको छ। भलै राजनीतिज्ञले बेवास्ता गरुन्।

समाजमा महिला हस्तक्षेप गर्नेगरी अघि बढिरहेका छन्। जियरा लेख्दा मैले महिलाको वास्तविकता नै पस्केको हुँ। धनी होस् या गरिब वर्ग, महिलाले भोग्ने विभेद भनेको समान हुन्छ गहिरिएर नियाल्यौँ भने। त्यसैलाई कथामा उतारेको हुँ।

अब पुस्तक समीक्षा र समालोचनाको कुरा गरौँ। पहिले–पहिले पत्रिकामा समीक्षा र प्राध्यापकहरुले समालोचना पनि निकाल्थे साहित्यिक कृतिहरुको। अहिले त फेसबुक टिप्पणी बाहेक समीक्षा र समालोचना भएको देखिँदैन। किन यस्तो भएको होला?
समीक्षामा न्याय गर्न नसक्ने भए। समीक्षा हेरेर पुस्तक पढ्ने कि नपढ्ने भन्ने जमात पनि छ। तत्काल समीक्षा नआए पनि केही समयपछि त आउनुपर्ने हो। तर पछिल्लो समय कम भएको छ। साथी हो, रिसाउलाकी भनेर पनि हुनसक्छ।

पहिलेपहिले समालोचना कडा आउँथ्यो। बासुदेव त्रिपाठी, ईश्वरवल्लभ, तारानाथ शर्मा र अभि सुवेदी लगायतको समालोचना पढेपछि मानक बन्थ्यो पुस्तकको। यो प्राज्ञिक बहस अहिले भएको छैन। विश्वविद्यालयले पनि कोर्षको मात्रै गरेको छ। यसरी बहस नहुनु भनेको साहित्यलाई ठूलो क्षति हो।

प्रकाशक तथा लेखक रिसाउला भनेर समीक्षा, समालोचना नगर्नु भनेको त बौद्धिक दरिद्रता हैन र?
हो। बौद्धिक विकास रोकिन्छ यसो हुँदा। त्यसैले समीक्षा हुन जरुरी छ।

बौद्धिक विकासको लागि नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाले पनि काम गर्नुपर्ने हो। यसबारे तपाईंको धारणा के छ?
प्रज्ञाले केही गरेको छैन, साहित्य विकासको लागि। एकेडेमीसित हाम्रो रिलेसन नै भएको छैन। एकेडेमीले हाम्रा राम्रा साहित्य अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्थ्यो। त्यो पनि गरेको छैन। कनिका छरे जसरी बजेट छरेको छ। आफू जानुभन्दाअघि गरेका बाचा सम्झेका छैनन् पदधिकारीले। सत्ताको भजनमण्डली गएपछि हुने नै त्यही हो। प्रज्ञामा सत्ताका भजनमण्डलीहरु छन्।

वास्तविक साहित्यकार बाहिर रहे भन्न खोज्नुभएको हो?
साहित्यकार पनि हुनुहुन्छ तर भजन मण्डली हुनुभएन। नेपाली साहित्य उत्थानको लागि काम गर्नुपर्यो। वर्षको केही थान पत्रिका निकालेर हुँदैन। कमसल साहित्य अनुवाद गरेर नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गर्नुभएन नि एकेडेमीले। तर भएको यही छ। बरु निजी क्षेत्रले साहित्य विकासको लागि काम गरेको छ तर सरकारीले गरेन।

२६ असार, २०७८, १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।