ओप-एड

‘समाजसेवाका नाममा केही बोरा चामल बोकेर हेलम्बु नआए हुन्छ’

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन्- दाताहरु आफ्नै सुरमा आउँछन्। जता लाइन बसेर भीड जम्मा हुन्छ, त्यतै राहत बाँड्ने, फोटो खिच्ने अनि समाजसेवी देखिन खोज्छन्। यस्तो पाराले पनि हुन्छ र?

ईश्वरकुमार मैनाली


सिन्धुपाल्चोकको सेमेसिदाङ हेमाथाङ (बालुवाको चौर) भएको ठूलो खर्क चिरिएर खोलामा झर्दा मेलम्चीको सतह २० फिट उचालियो। नाकोतेमा ६ किलोमिटरभन्दा बढी क्षेत्र पहाड खसेर मेलम्ची थुनियो। त्यही कारण सो क्षेत्रमा ठूलो जनधनको क्षति भयो। तिम्बु, हल्दे, चालिसे, गणेशे मानेबगर र चनौटे लगायतका स्थानमा बस्ती नै जोखिममा छन्।

तर, बाढीको विनासपछि हुनुपर्ने राहतको कामले अझै गति लिन सकेको छैन। जोखिममा रहेका वस्ती के गर्ने भन्ने निश्चित योजना छैन। पर्यटकीय सो क्षेत्र तहसनहस भएको छ। अब कसरी पुरानै लयमा फर्किएला हेलम्बु?

उकेराकर्मी ईश्वरकुमार मैनाली ले हेलम्बु पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याजेङ शेर्पासँग गरेको संवाद:

बाढीले  १ सय १ घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको रहेछ। ४ सय १२ घर उच्च जोखिममा छन्। २४ सयभन्दा बढी बाढीपीडित छन्। यी सबै समस्याबीच अहिले गाउँपालिका के गर्दैछ?
अहिले हाम्रो प्राथमिकता भौगोलिक रुपमै सम्पर्कविच्छेद भएका क्युलमाथिका तिम्बु, हल्दे, चालिसे, मेलम्चीघ्याङ लगायतका बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउनु हो।

हामीले हेलिकोप्टरबाट दाल, चामल र टेन्ट पुर्‍याउने काम गर्‍यौं। बाढीले क्युलबगरभन्दा तलका गणेशे, मानेबगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रमा पनि घर-खेतमा क्षति गरेको छ। बाढी प्रभावितको खाना र बासको प्रबन्धका लागि काम भइरहेको छ।

जिल्ला विपद् व्यवस्थापन र विभिन्न दाताले पनि सहयोग गरिरहेका छन्। अब क्षतिको मूल्यांकन गर्ने, गाउँबासीलाई तत्काल अस्थायी र स्थायी बासको व्यवस्था गर्ने काममा हामी केन्द्रित छौं।

क्षतिको पूर्ण पूर्ण विवरण आयो?
प्रारम्भिक विवरण आयो। अझै विवरण संकलनमै छौं। बाढी आउन सुरु मात्र भएको छ। बर्खा पूरै बाँकी छ। सेमेसिदाङ भन्ने ठाउँको हेमाथाङ (बालुवाको चौर) भएको ठूलो खर्क चिरिएको छ। २५ प्रतिशत मात्र झरेको छ। अझै ७५ प्रतिशत झर्न बाँकी देखिन्छ। त्यो त म आफैले हेरेर आएको हुँ। नाकोतेमा ६ किलोमिटरभन्दा बढी क्षेत्र पहाड खसेर खोलो थुनिएर यो सबै  विध्वंस भएको देखियो। चालिसेको मगर वस्ती नै बगाएको छ। अझै २२ जना सम्पर्कविहीन छन्।

४० भन्दा बढी गोठ-टहरा बगायो। ३५ सय रोपनीभन्दा बढी खेतीयोग्य जग्गा बगाएको प्रारम्भिक विवरण छ। बाढीले ६ वटा पुल बगाएको छ। त्यसमा तीन वटा मोटरेबल पुल र तीन वटा झोलुंगे पुल छन्। उत्तरी हेलम्बुको क्षतिको विवरण पूरै आएको छैन। ८ भन्दा बढी माछा फर्म बगायो। बंगुर, कुखुरा फर्म बगाएको छ। हेलम्बुको व्यापारिक केन्द्र चनौटे ध्वस्त छ।

खोलाबाट १५० मिटरभन्दा बढी दूरीमा रहेका प्रहरी चौकी ढाल्यो। फोन सम्पर्क समेत टुटेको अवस्था थियो। एनटिसीसँग अनुरोध गरेर अहिले फोन सम्पर्क कायम छ।

स्थानीयहरु गाउँपालिकाले अहिलेसम्म केही गरेकै छैन भन्छन् त? तपाईं गरिरहेका छौं भन्नुहुन्छ। कसले झुट बोल्यो?
बाढीले असर नै नगरेकालाई त अहिले के गर्न सकिन्छ र? हाम्रो प्राथमिकता बाढीपीडित हुन्। गाउँपालिकाले दाल, चामल र टेन्ट नदिएको भए कसले दियो रे? ग्याँस, चुल्हो, भाँडाकुँडा कहाँबाट पाउनुभयो रे उहाँहरुले?

जति राहत बाँडिएको छ, सबै वडासँग समन्वय गरेर बाँडेका छौं। अब वडाले नै कतै बदमासी गरेको रहेछ भने म तपार्इंको गुनासोमाथि नजर राख्छु र कारबाही गर्छु।

राजनीतिक रुपमा विचलित केही व्यक्तिले झुटो बोलेको हुनसक्छ। जसले गाउँपालिकाले केही गरेन भन्नुहुन्छ ती साथीहरुलाई केही नपाउनेको नाम टिपाउन आग्रह गर्छु।

राहत जति ग्याल्थुम, चनौटे, मानेबगरमै थुप्रियो। बाढीले बढी प्रभाव पारेको माथिल्लो भेगसम्म पुगेको देखिएन त?
बाढी आएको ११ दिन चनौटेभन्दामाथि राहत लिएर आउनसक्ने अवस्था नै भएन। चनौटे बजारबाट मानेबगर जोड्ने बाटो बाढीले बगायो। मानेबगरभन्दामाथि पनि बाढीले सडक नामोनिसान राखेन। क्युलभन्दा माथि त ५ किलोमिटर सडकमा बगर छ। त्यसभन्दामाथि पनि अधिकांश स्थानमा सडकमार्ग टुटेको छ। त्यसैले समस्या भएको हो।

११ दिनपछि गाउँपालिकासँग भएका २ वटा डोजर चलाएर मानेबगर र क्युललाई सडक मार्गबाट जोड्यौं। क्युलभन्दामाथि वैकल्पिक मार्गको खोजी हुँदैछ।

चनौटे र पाल्चोक जोड्ने रातो पुललाई बाढीले पूर्ण असर नगरेको कारण मात्र क्युलसम्मको सडक सम्पर्क बचेको हो। भौगोलिक सम्बन्ध टुटेपछि हामीले दाताको राहत वडासँग समन्वय गरेर वितरण गर्न भनेका हौं।

गाउँपालिकाले राहत बाड्नै दिँदैन भन्छन् नि सहयोग लिएर आउनेहरु?
दाताहरु आफ्नै सुरमा आउँछन्। जता लाइन बसेर भीड जम्मा हुन्छ, त्यतै बाँड्ने, फोटो खिच्ने अनि समाजसेवी देखिन खोज्ने गर्छन्। यस्तो पाराले पनि हुन्छ र? कहाँ बढी पीडित छन् भन्ने त हामीलाई थाहा हुन्छ नि। त्यसैले सहयोग नै गर्ने हो भने हामीमार्फत गरौं भनेको हो। यदि वास्तविक पीडितसम्म राहत पुगोस् भन्ने चाहना हो भने यसमा आपत्ति जनाउनुपर्ने आवश्यकता छैन। अब आउने, जसले पाए पनि मतलब नगर्ने हो भने हामीले के भन्ने? जानाजान पीडितलाई अन्याय हुन त दिँदैनौ। समाजसेवी देखिन केही बोरा चामल बोकेर आउने अनि जहाँ पायो त्यहीँ बाँड्ने हो भने हेलम्बु नआए हुन्छ।

चनौटे बजार त खोला किनारमा नै बसेको रहेछ। भवन निर्माण सम्बन्धी गाउँपालिकाको कुनै मापदण्ड नै छैन की स्थानीयले नटेरेको?
समथर ठाउँमा सय मिटर र डिल भएको ठाउँमा ८० मिटरमा मात्र भवन निर्माण गर्न पाउने मापदण्ड छ। मापदण्ड आएको ४ वर्ष भयो। तर चनौटेको बजार बसेको त उहिल्यै हो नि।

पछि बनेका घरको नक्सा पास अनिवार्य गरेका थियौं। धेरैजसोले आफ्नो गोजीकै पैसाले घर बनाए। सरकारी निकायमा जानै परेन। बैकिङ कारोबार आवश्यक परेन। त्यसैले उनीहरुले गाउँपालिकालको मापदण्ड टेरेनन्।

चनौटे बजारमा खोलाबाट ३५ मिटको दूरीमा नै घरहरु बनेका थिए। बाढीले खोलाको सतहभन्दा २० फिट अग्लो भएको छ। यसले पनि क्षति पुर्‍यायो। तर मापदण्ड नमानी आफूखुसी गर्दा पनि बढी क्षति भएको हो। अब मापदण्ड आफ्नै लागि हो भन्ने बझ्छन् कि।

अब चनौटे जस्ता बजार त्यहीँ पुनःनिर्माण गर्ने हो कि स्थानान्तरण गर्ने?

बर्खा सकियोस्, त्यसपछि विज्ञको टोली आउला। टोलीले बजार वा वस्ती नै सार्नपर्ने भन्यो भने सार्ने। होइन, नयाँ मापदण्ड बनाउने र जोखिम नहुने स्थान हुन्छ भने खोलाको बहाव क्षेत्रलाई छाडेर नयाँ मापदण्ड अनुसार संरचना बनाउनेतिर लाग्नुपर्छ। स्थानान्तरण गर्ने र पुनःनिर्माण गर्ने विज्ञ टोलीको सुझावमा भर पर्छ।

घरबारै गुमाएकाको पुनर्बास त तत्काल गर्नुपर्‍यो नि। के छ योजना?
हरेक वडालाई एक महिनाभित्र जग्गाको व्यवस्था गर्न भनिसकिएको छ। पीडित र उच्च जोखिममा रहेकालाई उनीहरुको जग्गा भए उनीहरुले रोजेकै ठाउँमा, नभए गाउँपालिकाले खोजेको ठाउँमा स्थायी पुनर्बास गराउने हो। अहिले अस्थायी घरको लागि नक्सा बनाउने काम भइरहेको छ। दुई कोठा, एउटा भान्सा र ट्वाइलेट बनाउने योजना बनाउँदै छौं।

यो बर्खा सकिँदा चाड आइसक्छ। कम्तीमा दुई बर्खासम्म अस्थायी  बासमा बस्न मिल्ने गरी जस्ताका घरहरु बनाउने काम अघि बढेको छ। स्थायी आवासको लागि भने केन्द्र, प्रदेश, विपद व्यवस्थापन, दाताहरु र हाम्रो सहकार्यले नै गर्ने हो। अस्थायी बास पूरा भएपछि स्थायीको प्रक्रियामा जान्छौं।

भौगोलिक रुपमै सम्पर्क टुटेका स्थानमा कसरी सम्पर्क जोड्ने त?
क्युलभन्दा माथि भौगोलिक सम्बन्धविच्छेद छ। त्यसलाई तोड्न मेलम्ची खानेपानी आयोजनाले अम्बाथानसम्म काम गर्दैछ। त्यसभन्दा माथि हामीले पनि गर्छौं। सबैभन्दा ठूलो कुरा पुल नभई भएको छैन। वारि गाउँबाट पारि गाउँ जानसक्ने अवस्था छैन। त्यसले राहत पुर्‍याउन पनि महँगो परिरहेको छ। पक्की पुल र झोलुंगे पुल अहिले तत्काल चाहिएको छ।

पुल र सडक निर्माणमा संघ र प्रदेशको सहयोग चाहिएको छ। विद्युतको समस्या साधान गर्न प्राधिकरणसँग सहकार्य भइरहेको छ।

हेलम्बुलाई पुरानै अवस्थामा फर्काउन गाउँपालिकाले मात्र सक्छ?
हाम्रो गाउँपालिकासँग आम्दानीको स्रोत छैन भन्दा हुन्छ। ग्रेटटेललाई प्रर्वधन गराएर त्यसबाट गाउँबासीको आर्थिकस्तर उकास्ने योजना बनाउँदै छु।

बाढीले गरेको सबैखाले क्षतिको पूर्ति गर्न अरु विकल्प कम छन्। राज्यले पनि सबै क्षति कसरी व्यहोर्न सक्ला र। यो क्षेत्र उकासिने भनेको पर्यटनले नै हो। यसमा सबैको सहयोग चाहियो। हेलम्बुलाई पर्यटन हब बनाउन सरकार, निजी क्षेत्र र जनस्तरबाट सहयोग पाउँछौं भन्ने विश्वास पनि छ। यो क्षेत्रको दीर्घकालीन समस्या समाधानको उपाय पर्यटन नै हो। पहिला बाढीले पारेको समस्या समाधान गर्नतिर लाग्नुपर्ने छ। त्यसपछिको योजना भनेको पर्यटन विकास नै हो।

संघ र प्रदेश सरकारले कुनै सहयोग गरेको छैन?
अहिलेसम्म त त्यति चासो देखाएका छैनन्। पछि गर्लान् कि। अस्थायी र स्थायी बास बनाउँदा प्रदेश र केन्द्रको सहयोगको अपेक्षा गरेका छौं। मैसमजन्य जोखिम न्यूनीकरण ऐन २०७७ अनुसार यसमा केन्द्रले ३०, प्रदेशले ३०, विपद व्यवस्थापनले १० र बाँकी गाउँपालिकाले लगानी गरेर बास निर्माण गर्ने योजना हो। केन्द्र र प्रदेशले सहयोग गरेन भने गाउँपालिकाले मात्र त के गर्न सक्छ ररु हामीसँग कति नै बजेट छ र?

सहयोग छैन भन्नुहुन्छ, फेरि सहयोग गरेको रकम पनि अस्वीकार गर्नुहुन्छ। काठमाडौं महानगरपालिकाले ५० लाख सहयोग गर्छु भन्दा किन अस्वीकार गरेको त?
उसले मेलम्चीलाई २ करोड दिने घोषणा गर्‍यो। हेलम्बुलाई चाहिँ ५० लाख दिने भन्यो। काठमाडौं जाने पानी मेलम्चीको कि हेलम्बुको? नाम मेलम्ची हुँदैमा हुन्छ र? पानी त हेलम्बुको हो नि। क्षतिकै कुरा गर्ने हो भने पनि मेलम्चीभन्दा हेलम्बु क्षेत्रमा बढी क्षति भएको छ। त्यसैले काठमाडौं महानगरपालिकाले हेपेको अनुभव भयो। उसको पैसा चाहिएन। हेपिएर सहयोग लिनुभन्दा आफ्नो क्षेत्रको पर्यटकीय विकास गरेर स्थानीयको आवश्यकता पूरा गरौँला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बिपी स्मृति दिवस : उधारो आश्वासनमुक्त कांग्रेस

अदालती आदेशको जगमा सत्तामा पुगेको कांग्रेसले अरू बेलाभन्दा यस पटक बिपी कोइरालालार्ई स्मरण गरिरहँदा पृथक सन्देश प्रवाह गर्नु आवश्यक छ। जसले नागरिकमा राजनीतिक दलप्रतिको नैराश्यतालाई....

शेरबहादुरको गति र मति

विश्वासको मतको पक्षमा मतदान गर्ने घोषणा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले टीकापुर घटना हुँदा त्यहाँ नभएका चौधरीलाई अनाहकमा जेल हालेको गुनासो गरेपछि त्यसको....

सुँगुर प्रजातिको अधकल्चो मासु खाँदा हुनसक्ने रोग : ट्राइकोनेलोसिस

ट्राइकोनेलोसिस रोग पशुपक्षीबाट मानिसमा सर्छ। यदि सुँगुर, बङ्गुर तथा बँदेल यस परजीवीबाट प्रभावित रहेछन् भने यो रोग मानिसमा सर्न सक्छ। नेपालको परिवेशमा हेर्दा होटेल,रेस्टुरेन्ट तथा....

अन्तरजातीय विवाह : क्रान्ति होइन, स्वभाविक प्रक्रिया

सबै पूर्वाग्रहहरुलाई परै छोडेर, निर्मम भएर समीक्षा गर्ने हो नेपाली समाजमा दुईथरी स्तरीकरण छन्, ठाडो र तेर्सो स्तरीकरण। स्वतन्त्र भएर समीक्षा गर्ने हो भने, हामीले....

सर्वोच्चको फैसलाबारे पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा : अदालतले चलमल नै गर्न नपाउने गरी बन्धन लगाइदियो 

सर्वोच्च अदालतले विघटन बदर गरेको केही समयमै दोस्रो पटक संसद् विघटन हुन पुगेको थियो। दोस्रो विघटनलाई पनि फैसलाले रोकेको छ। सर्वोच्चको दोस्रो फैसलाबाट संविधानको स्थायित्व चाहिँ....