चालीस कटेपछि रमाउने सपना क्षणभरमै चकनाचुर

चालीस कटेपछि रमाउने सपना क्षणभरमै चकनाचुर

हेलम्बु  : सिन्धुपाल्चोक, मानेबगरका लाक्पा सिन्की तामाङको घरबाट मेलम्ची खोलाको बगर पुग्न १५ मिनेटको बाटो हिँड्नुपर्छ।

१८ महिनाअघि कतारबाट नेपाल फर्किएका तामाङले वैदेशिक रोजगारीमा कमाएको पैसाले डेढ आना जग्गामा बनेको पुरानो घर किनेका थिए मानेबगरमै।

२०७२ सालमा आएको भूकम्पले पुरानो घर भत्कियो। त्यसपछि उनले २ तले पक्की घर बनाए। घर त बनाए तर ऋण कसरी तिर्ने? योजना बुन्न थाले, कतारमा डोजर चलाउँदै।

घर खोलाबाट टाढा भएकाले खोलो र पहिरोको डर छैन भन्ने लाथ्यो उनलाई। बाढीले असर गर्ला भन्ने कल्पना समेत थिएन। तर आसार १ गते आएको बाढीले कटान गर्दैगर्दै असार ३ गते  रातको ३ बजे तामाङको घर मेलम्ची खोलामाथि पसारिन पुग्यो।

‘भुइँचालोपछि मेरो परिवार बजारमा नै बस्न थाल्यो। घरमा नै सानोतिनो खाजा पसल थियो। त्यही पसल गरेर बस्ने भन्ने मनासायले म नेपाल आएँ,’ उनी भन्छन्, ‘कतारमा पनि लकडाउनको कारण काम भएन। अब देशमै बस्छु। घर छँदैछ। छोराछोरीलाई पढाउन सानोतिनो खाजा पसलले पनि  पुगिहाल्छ भन्ने लाग्यो।’

तर, तामाङलाई आफ्नो योजना यति छोटो समयमा नै  खोलामा बिलाइजाला भन्ने कल्पना समेत थिएन। दुई छोरी र एक छोरा भएका तामाङ आर्थिक अवस्था कमजोर भएको कारण सन् २००७ बाट विदेशिएका थिए।

‘गाउँमा पाखो बारी थियो, सम्पत्तिको नाममा। ४ चारको माइलो म। बाले छुट्टिएर बस भन्नुभयो,’ तामाङ भन्छन्, ‘एक मुरी धान, एउटा थाल, कोदालो र आम्खोरा लिएर छुट्टिएको सन् २००७ मा।’

पुर्ख्यौली सम्पत्तिको नाममा आएको २ रोपनी पाखो–बारीले तामाङ परिवारलाई खान पुग्ने अवस्था नै थिएन। उनी गाउँलेसँग ८० हजार ऋण काडेर कतार लागे श्रीमती र छोरीको लागि छाक किन्न। कतार गएको दुई वर्षमा नै  तामाङले घर गणेशे मानेबगरमा डेढ आनामा बनेको पुरानो घर किने।

‘ऋण तिरिनसक्दै फेरि ऋण लिएर बजारमा घर किनेको थिएँ,’ उनी भन्छन्, ‘श्रीमतीले छोरीहरु हुर्काउँदै थिई। विदेश बसेपछि खाने-लाउने समस्या भने हटेको थियो।’

तीन वर्ष कतार बसेर फर्किएका तामाङलाई नेपालमै केही गर्नुपर्छ जस्तो लागिरहन्थ्यो। त्यसैले सन् २०१० मा उनी नेपाल आए। कुखुरा पाल्न थाले। दुई लटसम्म कुखुराले राम्रो सम्भावना देखायो। तेस्रो लटको कुखुराले भने तामाङलाई नमाज्जाले अत्याएछ।

‘२ हजारसम्म कुखुरा हालेको थिएँ। दुई लट त राम्रो भयो। आश देखायो। तेस्रो लटले नराम्रोसँग घाटा बनायो। घाटा सहेर फेरि व्यापार गर्ने अवस्था पनि मेरो थिएन,’ उनी सुनाउँछन्, ‘के गर्ने–गर्ने भयो। त्यसपछि सन् २०१२ मा फेरि कतार गएँ।’

तामाङ दुई वर्ष कतार बसे। काम राम्रो परेन। कमाइ पनि भएन। निराश भएर नेपाल फर्किए। तैपनि उनले ३ रोपनी खेत भने जोडे। केही समय कृषि कर्ममा नै रमाए उनी। तर नेपाल बसिरहँदा बढ्दो उमेरका छोराछोरीको सपना किन्न पो नसकौंला की? उनको मनमा यो प्रश्नले सताई रह्यो। त्यसपछि फेरि २०१५ मा ओमन पुगे। त्यही साल भुइँचालो आयो।

गाउँमा श्रीमती छोराछोरी मात्र। छोराछोरी पनि सानै थिए। दुःखको बेला परिवारसँग हुन बस्न पाए शान्ति होला कि भन्ने लाथ्यो उनलाई। एक वर्ष नपुग्दै उनी फेरि नेपाल आए।

‘नेपाल आएपछि फेरि के गर्ने-गर्ने भयो। न बस्ने बास छ,  न उति पैसा नै छ साथमा। मजदूरी गरेर पनि उही चाल। भनेको बेला पैसा नपाइने,’ तामाङ भन्छन्, ‘जे नहुनु भइहाल्यो। अब ऋण काडेर भए पनि बजारमा घर बनउने भन्नेतिर लागेँ।’

तामाङ घर बनाएर साहुको ऋण तिर्न फेरि सन् २०१७ मा कतार हानिए। भूकम्पले भत्काएको घर ठड्याउँदा लागेको ऋण तिरिसक्दा कोरोना आइपुग्यो। कोरोनाको कारण कतारमा पनि लकडाउन भयो। तामाङलाई नेपाल नै जाउँ, परिवारसँगै बसौं जस्तो लाग्यो। काम पनि उति थिएन। उनी १८ महिनाअघि नेपाल आए।

‘पटक-पटक गरी ८ वर्ष हाराहारी विदेश बसेर कमाएको सम्पत्ति भनेको त्यही घर र खेत थियो,’ तामाङ भन्छन्, ‘घर त गइसक्यो। अब खेतलाई पनि खोलाले खाइदिन के बेर? घरबाट बगरमा पुग्न १५ मिनेट लाग्ने ठाउँमा त बाढी आयो। खेतसम्म पनि नपुग्ला भन्नेके छ र?’

तामाङ यतिबेला दाताहरुले दिएको टेन्टमा बसिरहेका छन्।  दाताले दिएको राहत लिइरहेका छन्। र, डिलबाट हेरिरहेछन्, मेलम्ची खोला। जहाँ निँदाएको छ, उनको जीवनको पक्की सपना।

‘असार १ गते बाढी आउदा म साँझको भात पकाउँदै थिएँ। खोलो डाङ्ग र डुङ्ग गर्दै आयो,’ उनी सम्झन्छन्, ‘पकाएको भात डढ्यो। हामी भागेर माथि डाँडामा आयौं। आफन्तकहाँ बस्यौं। भोलिपल्ट खोलो माथि सर्दै आयो। हत्तपत्त महँगा सामान निकाल्यौं। सबै सामान त निकालेर नि कता राख्ने यस्तो बेला।  घर ढलिहाल्ला भन्ने त मनमा थिएन नि।’

बाढी डाँडामा नै उक्एिलाझैं माथि-माथि उर्लिन्थ्यो। तामाङ भगवानसँग घर जोइदेऊ प्रभु भन्न थाल्थे। टर्चलाइट बाल्दै उनी घन्टाघन्टामा घर हेरिरहन्थे। आफू निँदाउला र घर मेलम्चीले बगाउला भन्ने पिर थियो उनलाई। उनी ३ गते रातभर जागा रहे।

३ गते राति घरलाई खोलाले आफूमाथि पसार्यो। उनको हातको टर्च पनि निभ्यो। तामाङ झन् अनिद्रामा परे।

‘केही थिएन।, दुःख गरेर यति भएको थियो, दैव लाग्यो। दुःख गरेपछि हुने रहेछ भन्ने था भभो। जसोतसो गरौंला भनिन् श्रीमतीले पनि,’ तामाङ सुस्केरा हाल्छन्, ‘मन नबुझाएर पनि अर्को विकल्प त छैन।’

उमेरले ४० पुग्न तामाङको दुई वर्ष बाँकी छ। ४० कटेपछि रमाउने सपना अनुसार नै उनको जिन्दगी चल्दै थियो। तर ४० कट्नै लाग्दा रमाउनेभन्दा पनि तामाङलाई दुई छोरी र एक छोराको लागि भविष्य बनाउन कसरी कमाउने भन्ने पिर परेको छ यतिबेला।

‘पढ्न नै बाँकी छ छोराछोरीले। पढाउन पर्यो। यत्रो वर्षको कमाइ एकैछिनमा सकियो। कमाउन, जमाउन पो टाइम लाग्ने, सकिनँ एकै छिन रहेछ,’ उनी भन्छन्, ‘गाँउको (ढोडिनी) पुख्र्यौली बारीमा गएर बसौं भने पनि बच्चाको पढाइमा समस्या हुन्छ। बजारमा बसौं घर गइगयो। फेरि घर-घडेरी जोड्न कि विदेशिन पर्यो। खै, के गर्ने हो, कसरी गर्ने हो?’

तामाङ सरकार र स्थानीय तहको आश गरेर बस्ने सोचमा छैनन्। उनी सकेसम्म आफ्नै पौरखले फेरि शून्यबाट उठ्न चाहन्छन्। उनलाई श्रीमतीको साथले नै दुःख जित्छु जस्तो लाग्छ।

‘दुःख–सुख जे गरे पनि यतै गर्ने कि भन्छिन् श्रीमती। तर बालबच्चालाई अभावमा राख्न पनि हामी सक्दैनौं,’ उनी भन्छन्, ‘हुनु–नहुनु भइसक्यो। अब फेरि उस्तै त कसोगरी होला र? बुढेसकालमा सुखले जिउँला भन्ने रहर थियो। मेलम्ची लाग्यो। फेरि दुःखमै धकेल्यो।’

२१ असार, २०७८, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।