स्वास्थ्य

दबाबमा लुजडाउन : डा. गौतम भन्छन्˗ मर्न पनि किन हतार?

उपेन्द्र खड्का


काठमाडौं : काठमाडौं उपत्यकामा वैशाख १६ गते सुरु भएको निषेधाज्ञा असार १५ गतेबाट ‘लुज डाउन’ मा परिणत भएको छ। सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ भने अधिकांश पसल खुलेका छन्।

उपत्यकाका ३ वटै जिल्लामा बुधबारकै तथ्यांक हेर्दा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई ‘रेड जोन’ मा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौंमा ४ हजार ९ सय १६, भक्तपुरमा १ हजार ५ सय ७७ र ललितपुरमा २ हजार ७ जना सक्रिय संक्रमित छन्। सरकारले कोरोना परीक्षणको दायरा साँघुरो पार्दै लगेको देखिन्छ।

तर, उपत्यकामा मंगलबार र बुधबारको भीड हेर्दा कोराना भाइरस नै हटिसकेको भान हुन्छ।

किन हतार?

कोभिड˗१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम निषेधाज्ञा खोल्न हतार गरिएको बताउँछन्। निषेधाज्ञा खोलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसके प्रत्युत्पादक हुने डा. गौतमले बताए। उनले भने, ‘हाम्रो हिसाबले भन्नुहुन्छ भने छिट्टै खोलियो।’

निषेधाज्ञाकै कारण दूरी कायम भएकाले संक्रमण घटेको डा. गौतम बताउँछन्। अहिले संक्रमण कम देखिए पनि निषेधाज्ञा खोल्न हतारिएकाले संक्रमणको थप जोखिम भएको उनको मत छ। डा. गौतम भन्छन्, ‘संक्रमण कम त भयो तर हतार त गरिहाल्यौं। अचम्मको कुरा के छ भने हामी मर्न पनि हतार गर्छौं। यति साह्रो हतार किन गर्नुपरेको थियो र?’

अहिले पनि फेरि जनस्वास्थ्यको मापदण्ड पालना नगरी गल्ती दोहोर्‍याए अप्ठेरो अवस्था आइपर्ने डा. गौतम बताउँछन्। त्यसैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने उनको सुझाव छ।

‘जसले जनस्वास्थ्यका मापदण्ड पालना गर्दैन, उसलाई कानुनी कारबाही पनि गर्नुपर्छ। सरकारका नियमनकारी निकायले त्यो काम गर्नुपर्छ,’ डा. गौतमले भने, ‘किनभने ऊ मात्रै मर्ने हैन। उसले अरुलाई पनि मार्छ। यो सिरियस विषय हो। यो विषय ज्यानमारा जस्तै हो।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि संक्रमण पूरै कम नभएकाले संक्रणको जोखिम कम भएको बुझियो भने त्यो अर्को दुरावस्था हुनसक्ने बताउँछन्। दोस्रो लहरको डरलाग्दो अवस्थामा सबैलाई संयमित हुन डा. अधिकारीको अनुरोध छ।

दोस्रो लहरमा बेपर्वाह गरेकाले संक्रमणको ठूलो समस्या भोग्नुपरेको उनले बताए। ‘पहिलो र दोस्रो लहरले पनि नचेत्ने हो भने तेस्रो लहरले त्यति धेरै चेत्ने मौका दिँदैन,’ डा. अधिकारीले भने, ‘घरभन्दा बाहिर निस्कने बेलामा मलाई पनि संक्रमण छ, अर्कोलाई पनि छ भन्ने सोच्नुपर्छ।’

जनस्वास्थ्यका मापदण्ड पालना गरेर पहिलो लहर धेरै हदसम्म नियन्त्रण भए पनि दोस्रो लहरमा भने जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसक्दा क्षति व्यहोर्नुपरेको डा. गौतम बताउँछन्। उनी भन्छन्, ‘पहिलो लहरपछि जनस्वास्थ्यको मापदण्डमा ख्याल गरेनौं। विहे, भोज भतेर, आमसभा, जुलुस, नारा, धर्ना जेजे गर्न हुँदैनथ्यो, त्योत्यो सबै गर्‍यौं हामीले। र, हामीले अहिले ९ हजार मान्छे गुमायौं। लाखौं मान्छे संक्रमित भए। ठूलो धनजनको क्षति भयो।’

महामारीको अवस्थामा विहे, भोज लगायतमा भीडभाड गर्न नहुने उनले सुझाएका छन्। डा. गौतम भन्छन्, ‘विहे २ महिनापछि गर्दा पनि हुन्छ नि। ५ जना मान्छे गएर विहे गर्दा पनि हुन्छ नि। मर्ने गरी, घरै खाली हुनेगरी किन विहे मनाउनुपर्‍यो? किन जुलुस, नारा, धर्ना गर्नुपर्‍यो?’

जोखिम कम भएर सामान्य अवस्थामा आयौं भन्ने बेला नै नभएको डा. अधिकारीको पनि मत छ। उनी भन्छन्, ‘धेरै मान्छे जम्मा हुँदा संक्रमणको जोखिम धेरै बढ्छ। भाइरसको रुप परिवर्तन भएको देखिराखिएको छ। बालबालिका, जेष्ठ नागरिक सबै संक्रमित हुनसक्ने सम्भावना पनि देखिराखिएकै छ। जोखिम उच्च नै छ।’

डेल्टाको जोखिम

स्वास्थ्य मन्त्रालयकै प्रवक्ता डा. कृष्णप्रसाद पौडेल व्यक्तिलाई सधैं थुनेर राख्न नमिल्ने भए पनि निषेधाज्ञा खोलेर जनस्वास्थ्यका मापदण्ड पालना नभए जोखिम हुने बताउँछन्। ‘मान्छेबाट सर्ने भएकाले आवागमन बढेपछि जोखिम बढ्छ नै,’ डा. पौडेल भन्छन्, ‘हाम्रोमा डेल्टा भेरियन्ट वैशाख २६ देखि जेठ २० सम्मको स्याम्पलमा देखिइसकेको हो। नयाँ आएको हैन, छँदैछ।’

नेपालमा पछिल्लो समय परीक्षण गरिएका ४८ नमुनामध्ये ४७ मा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको थियो भने एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको थियो। ४७ वटा डेल्टामध्ये ९ वटामा थप उपप्रजाति (उत्परिवर्तन के ४१७ एन) पुष्टि भएको छ। यो उपप्रजाति नेपाल सहित संसारका १० भन्दा बढी मुलुकमा पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।

धेरै अध्ययन थाहा नभए पनि डेल्टाकै उपप्रजाति भएकाले यो पनि संक्रामक नै भएको डा. पौडेल बताउँछन्।

हालसम्म नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७), डेल्टा भेरियन्ट (बी.१.६१७.२) र कप्पा भेरियन्ट (बी.१.६१७.१) गरी ३ वटा भेरियन्ट पुष्टि भएका छन्। डेल्टा र कप्पालाई इन्डियन भेरियन्टका नामले चिनिन्छ भने अल्फालाई बेलायती भेरियन्टका नामले चिनिन्छ। जसमध्ये डेल्टा भेरियन्ट बढी संक्रामक भएको चिकित्सक बताउँछन्।

त्यसो त टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि डेल्टा बढी संक्रामक भएकाले सचेत हुन सुझाउँछन्। उनी भन्छन्, ‘अघिल्लोभन्दा घातक, तीव्र गतिमा फैलने भएकोले परीक्षण, एन्टिबडी, खोपलाई चुनौती देखिएको छ।’

डेल्टाले रुप फेरेकाले पहिलाको तुलनामा बढी संक्रामक छ भनिएको डा. गौतम पनि बताउँछन्। खोपलाई यसले कति काम गर्छ, त्यो महत्वपूर्ण हुने उनी बताउँछन्। डा. गौतम भन्छन्, ‘यस्तो कुराको अध्ययन नभई काठमाडौ, भक्तपुर, ललितपुर जस्ता घनाबस्ती भएका ठाउँमा मान्छेलाई जोगाउन धेरै गाह्रो छ। आज पनि संक्रमित जति छन्, अधिकांश काठमाडौंकै हुन्छन्। त्यो कुरा हामीलाई थाहा छ।’

लुज डाउनका आधार के?

चिकित्सकको मत अनुसार ३ कारणले संक्रमण कम हुन्छ। ती ३ कारण हुन्, धेरै व्यक्ति संक्रमित भएर एन्टिबडी बन्नु, खोप लगाउनु र निषेधाज्ञा।

निषेधाज्ञा र केही हदसम्म खोपका कारण पनि संक्रमण कम भएको डा. गौतमले बताए। नेपालमा केहीले बाहेक खोप लगाउन पाएको अवस्था छैन।

चिकित्सकका अनुसार सबै व्यक्ति संक्रमित भएर रोग विरुद्ध लड्न सक्ने एन्टिबडी बनिहालेको अवस्था पनि छैन। कतिमा एन्टिबडी बन्यो भनेर अध्ययन भइसकेको अवस्था छैन। त्यसैले निषेधाज्ञा खोल्दा संक्रमणको जोखिम झन् बढ्न सक्ने देखिएको चिकित्सकको मत छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी निषेधाज्ञा खुकुलो गर्दा सजिलै रोग सर्न नसक्ने योजना बनाउनुपर्ने सुझाउँछन्। उनी कुन पेसा, व्यवसायीले कसरी सेवा दिने भन्ने पम्प्लेट दिनुपर्ने सुझाउँछन्। तर, त्यो मिहिनेत नदेखिएको उनको निष्कर्ष छ।

डा. मरासिनी भन्छन्, ‘मिहिनेत गरेको देखिँदैन। यसरी सामान दियो भने रोग सर्दैन भन्नुपर्‍यो नि। कतिलाई त कोरोना केहो भन्ने पनि थाहा छैन।’ तर यसरी हचुवामा निषेधाज्ञा खुकुलो गर्दा फेरि अर्को लहरको जोखिम हुने उनी बताउँछन्।

त्यसैगरी निषेधाज्ञा नै ढिलो गरेको र चाँडै खोलिएको डा. मरासिनी बताउँछन्।

त्यसो त डा. पुन पनि संक्रमित कम भए पनि जोखिम भने कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा ह्वात्तै जोखिम बढ्नसक्नेतर्फ सचेत गराउँछन्।

तर, भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतम भने धेरै गम्भीर किसिमका बिरामीको आवतजावतको सहजताका लागि पनि निषेधाज्ञा खुल्नुलाई सकारात्मक रुपमा लिन्छिन्। आफूले पनि खोल्ने सुझाव दिएको मेसु डा. गौतमले बताइन्। उनले भनिन्, ‘उपत्यकामा खुल्नुपर्छ भन्ने मेरो सुझाव थियो। कोठामा थुनेर राखेर पनि ठूलो उपलब्धि होला जस्तो लाग्दैन।’

दबाबले लुजडाउन

के कारणले निषेधाज्ञा खुकुलो बनाइयो भन्ने प्रशासनसँग न ठोस आधार छन्, न त प्रष्ट जवाफ नै छ। संक्रमित बढिहाले व्यवस्थापन गर्ने ठोस योजना देखिँदैन। अनौपचारिक कुराकानीमा प्रशासनका अधिकारीहरुले जनताको भोक र पेसाको दबाब पर्ने जोखिमले लुजडाउन गर्नुपरेको बताएका छन्।

तथ्यांकमा कोरोना भाइरस संक्रमण घटेकाले नै निषेधाज्ञालाई खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाको तर्क छ। के आधारमा निषेधाज्ञा खुकुलो बनाइयो? भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी निरौलाको जवाफ छ, ‘यसको एक मात्र उत्तर केहो भने, तथ्यांक घटेको छ कोरोना संक्रमणको।’

कसैको दबाबबाट नभई विवेकसंगत ढंगबाटै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको दावी छ। संक्रमितको चाप तथा तथ्यांकका आधारमा नै निर्णय गरिएको उनले बताए।

स्वास्थ्य मापण्डको पालना गर्ने दायित्व भने व्यक्तिकै भएको प्रमुख जिल्ला अधिकारी निरौलाको तर्क छ। जनस्वास्थ्यको मापदण्ड कसले पालना गराउँछ त? भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयलाई सम्बन्धित व्यक्तिले नै आत्मनियन्त्रण गर्नुपर्छ। आफैंले सोच्नुपर्छ। आफ्ना लागि हो भनेर सोच्नुपर्छ। सेल्फ कन्ट्रोल सबैभन्दा ठूलो चिज हो।’ मापदण्ड उल्लंघन भए नियम अनुसार कार्बाही हुने उनले बताए।

भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुकेशकुमार केशरीले पनि संक्रमण कम भएको तथ्यांककै आधारमा स्वास्थ्य विज्ञहरुको सुझाव अनुसार नै निषेधाज्ञा खुकुलो बनाइएको जानकारी दिए। एक महिना अगाडि नै जनताबाट निषेधाज्ञा खुकुलो बनाउनुपर्छ भन्ने आवाज आए पनि त्यो बेला पनि चिकित्सकको सुझाव अनुसार नै नखोलेको उनले बताए।

जनस्वास्थ्यका मापदण्ड पालना व्यक्ति स्वयंबाट नै सुरुवात हुनुपर्ने उनको पनि तर्क छ। सहायक प्रमुख जिल्ला अधिकारी केशरीले भने, ‘जनस्वास्थ्यको मापदण्ड पब्लिकबाटै सुरु हुने हो। व्यक्ति आफैंले अनुसासन पालना गर्दैनन् भने हामी प्रशासनले कडाइ गरेर मात्रै हुँदैन। अन्तिम विकल्प चाहिँ हामीले कडाइ गर्ने नै हो।’

रोगको जोखिम बढेर व्यक्तिको मृत्यु भए त्यसको जिम्मेवारी कसले लिने? भन्ने जिज्ञासामा सहायक प्रमुख जिल्ला अधिकारी केशरीको जवाफ छ, ‘लकडाउन कोभिडको रामवाण चाहिँ हैन। लकडाउन गरेर मात्रै साध्ये हुँदैन। केही समयको लागि प्रयोग गर्ने हो।’

सधैं निषेधाज्ञा गर्दा विशेषगरी दैनिक ज्याला मजदूरी गरेर खानेलाई अप्ठेरो हुने उनको तर्क छ। भक्तपुरमा जनस्तरबाट निषेधाज्ञाका कारण खान नपाएर राहत चाहियो भनेर समेत ठूलो आवाज आएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए। उनले भने, ‘जनस्तरबाटै खान नपाएर राहत चाहियो भनेर हामीकहाँ ठूलो आवज आएको छ। बिजनेस सेक्टरदेखि लिएर सबै सेक्टरबाट आएको हो।’

संक्रमण कम भएकाले आर्थिक गतिविधिका लागि पनि सबैलाई चेक एन्ड ब्यालेन्स गर्दा खुकुलो पारिएको उनले बताए। त्यसो त उनी पनि धेरै जोखिम कम भइनहालेको स्वीकार्छन्। स्वास्थ्य मापदण्ड पालना भए–नभएको भने अनुगमन गरिरहेको र गरिने उनले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक उच्च अधिकारीले भने संक्रमण घटेको र दबाबकै कारण निषेधाज्ञा खुकुलो पार्नु परेको खुलाए। ती अधिकारीले भने, ‘एकातिर पूरै खुल्नुपर्छ भन्ने थियो। अर्कोतिर खोल्नु हुँदैन भन्ने पनि थियो।’

निषेधाज्ञा गरेर मजदूरलाई राहतसम्म दिन नसक्दा एकैचोटि व्यक्ति सडकमा आएर निषेधाज्ञा उल्लंघन हुने जोखिम भएकाले पनि खोलिएको ती अधिकारीले बताए। उनले भने, ‘एकैचोटी मान्छे सडकमा आए भने थेग्न सकिन्छ कि सकिँदैन, त्यो पनि त विचार गर्नुपर्‍यो नि।’

यातायात व्यवसायीहरु जिल्ला प्रशासनमा १८ गतेबाट सबै सवारी साधन चलाउँछौ भन्दै आएको समेत ती अधिकारीले बताए। उनले भने, ‘हरेक क्षेत्रले त्यसै गरिदियो भने कसरी थेग्ने?’ सबै कुरा विचार गरेर खुकुलो गरिएको उनले बताए।

०००

दोस्रो लहर सुरु भएपछि त सरकारले कोरोनाको उपचारबाट हात समेत उठाएको थियो।

 सम्भावित अर्को लहरका लागि डा. गौतमले कोभिड˗१९ युनिफाइड अस्पतालहरुको वृद्धि विकास तथा समन्वय गरिरहेको दावी गरे। डा. गौतमले भने, ‘जहाँ अक्सिजन छैन, त्यहाँ अक्सिजन राखिरहेका छौं। जहाँ भेन्टिलेटरहरु छैनन्, त्यहाँ भेन्टिलेटर किनिरहेका छौं।’

दोस्रो लहर जस्तै तेस्रो लहर निम्तियो भने जनशक्ति लगायतको व्यवस्था गरी निजी अस्पताल जान नपरी सरकारी अस्पतालले कसरी सेवा दिन सक्छन् भन्ने विषयलाई ध्यानमा राखेर काम गरिरहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ र परीक्षण, सञ्चार र संक्रमितको व्यवस्थापनका लागि प्रभावकारी काम गरेको देखिँदैन। न रोग नियन्त्रणका लागि ठोस योजना नै बनाएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....