माधव निवासमा ओली निकट पृथ्वी सुब्बाको चार घण्टा, एक अर्काको मुड बुझ्ने प्रयास 

माधव निवासमा ओली निकट पृथ्वी सुब्बाको चार घण्टा, एक अर्काको मुड बुझ्ने प्रयास 

काठमाडौँ : नेकपा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले अब लोकतान्त्रिक गठबन्धनलाई धोका दिन नसक्ने भन्दै पार्टीमा कायम नरहने सङ्केत गरिरहेका बेला एमाले ओली समूहका दोस्रो तहका नेता भने उनलाई फकाउन अझै सक्रिय छन्। 

नेपाल समूहका दोस्रो तहका नेताहरू समेत सकेसम्म एमालेबाट बाहिरिन नपरोस् भनेर नेपाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति गराउन प्रयत्नरत छन्।

पछिल्लो समय ओली समूहका नेता र नेपालको भेट पातलिएको बेला मङ्गलवार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ नेपाल निवास पुगेर झन्डै चार घण्टा वार्ता गरे।

गुरुङ ओली समूहका प्रभावशाली नेतामध्येका हुन्। उकेरालाई प्राप्त सूचनाअनुसार  गुरुङ नेता नेपाललाई भेट्न दिउँसो १ बजे उनकै निवास कोटेश्वर पुगेका थिए। उनीहरूबिच अपराह्न ४ बजेसम्म कुराकानी भएको थियो।

दुवैको कुराकानी पार्टीमा बढेको विवाद समाधानकै विषय थियो। तर गुरुङले नयाँ प्रस्ताव भने गरेनन्। उनले ओली समूहले भन्दै आएका विषय नै दोहोर्याएका थिए।

'गुरुङले ओली समूहले भन्दै आएका कुरा नै दोहोर्याउनु भयो । उहाँसँग मूर्त प्रस्ताव हुने कुरा भएन,' स्रोतले भन्यो , 'उहाँ नेता नेपालको मुड बुझ्न आएझैँ लाग्यो।'

नेकपा विघटन र एमाले विभाजितको पहिलो प्रहार गुरुङले खेपे। एमालेमा आएको विभाजनका कारण पद गुमाउनेमा उनी अग्रपङ्क्ति छन्। एमाले विभाजनकै कारण उनको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेर नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनेर विश्वासको मत समेत लिइसकेको छ।

मुख्यमन्त्री रहेपछि फुर्सदमा रहेका गुरुङ पछिल्लो समय पार्टी एकताको पक्षमा सक्रिय भएका छन्। उनले आइतबारको स्थायी कमिटी बैठकमा नेपाललाई दोस्रो अध्यक्षमा बनाएर भए पनि पार्टीको एकता बचाउनुपर्ने मत राखेका थिए।

तर, त्यस बैठकमा ओली मौन बसे। गुरुङको प्रस्तावलाई अरू स्थायी कमिटी सदस्यले पनि समर्थन जनाएनन्। अहिले गुरुङले त्यही प्रस्ताव नेता नेपाल निकट नेतासँग पनि राख्न थालेका छन्। 

मङ्गलवार नेपाल निवास कोटेश्वर जानुको उद्देश्य पनि त्यही भएको स्रोत बताउँछ। यता नेपालनिकट स्रोत भने छलफलमा गुरुङले दोस्रो अध्यक्षको कुरा नउप्काएको दाबी गर्छ।

गुरुङको दौडधुपप्रति ओली पक्षकै असन्तुष्टि

नेकपा विघटनको सोझो असर गण्डकी प्रदेशले बेहोर्नु परेपछि गुरुङ जुनसुकै मूल्य चुकाएर भए पनि विग्रह–विभाजन रोक्नुपर्ने बताउन थालेका छन्। बैठकमै उनले दोस्रो अध्यक्षको प्रस्ताव लैजानुको लक्ष्य समेत पार्टी एकताको बिग्रिएको वातावरण सुधार्ने प्रयास देखिएको थियो। कतिपयले ओली–नेपालको मिलनबिन्दु यही हुन सक्ने समेत औँल्याएका छन् ।

तर, ओली समूह भने यसप्रति सकारात्मक छैन। उनीहरूले यसलाई अनावश्यक प्रस्ताव भन्न थालेका छन्। 

'नेता नेपाल प्रचण्ड पथ हुँदै बुढानीलकण्ठ पुगिसक्नुभयो, उहाँलाई फर्काएर थापाथली ल्याउन अब मुस्किल छ। महाधिवेशनमा पराजित हुने तर बाटाबाटामा अध्यक्षको पगरी गुथाउन सकिँदैन। कार्की ब्याङ्क्वेटमा अध्यक्षको पगरी गुथ्नुभयो भन्दैमा एमालेको अर्को अध्यक्ष दिन मिल्दैन,' ओली निकट एक नेताले भने।

यो प्रस्तावप्रति ओली समेत सहमत देखिएका छैनन्। गुरुङले दोस्रो अध्यक्ष प्रस्ताव गरिरहँदा सोमबार ओली पनि नेता नेपालप्रति आक्रामक भएका थिए। उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेकोमा नेपालप्रति आक्रोशित छन्। उनले बैठकमा नेता नेपाल काँग्रेस प्रवेश गर्न बाँकी रहेको बताउँदै कटाक्ष गरेका थिए।

त्यसो त नेता नेपाल पनि ओलीप्रति असहिष्णु बन्दै गएका छन्। गत शनिवार नेता नेपालले प्रधानमन्त्री प्रस्ताव गर्न ओली पक्षका नेता आएका र आफूले झपारेर पठाइदिएको दाबी गरेका थिए।

ओलीले त्यसको जवाफमा नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै निर्मम व्यङ्ग्य गरेका थिए।

तर नेता नेपालनिकट दोस्रो तहका नेता अझै पनि पार्टी एकता विकल्पहीन विकल्प भएको बताउँदै आएका छन्। उनीहरूले ओलीसँग पदको बार्गेनिङ गर्न नहुने तर नेता नेपाल एकतामै फर्कनुपर्नेमा जोड दिने गरेका छन्।

पदाधिकारी ब्युँताइने, विभाग पनि बन्ने

यसैबिच नेकपा एमालेले भोलि (बुधवार) ११ बजे महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ। भोलि बस्ने बैठकले एमालेलाई पुरानै संरचनामा फर्काउने निर्णय मङ्गलवार बसको स्थायी कमिटी बैठकले गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। 

भोलि बस्ने बैठकले नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी (एक अध्यक्ष, दुई वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव) कायम राख्ने निर्णय गर्ने एमाले स्रोतको भनाइ छ। जसमा दुई वरिष्ठ नेता (झलनाथ खनाल र माधवकुमार नेपाल) र एक उपाध्यक्ष (भीम रावल) कारबाहीमा परेका छन् ।

त्यस्तै बैठकले ३१ वटा विभागको प्रमुख, उपप्रमुख पनि तय गर्ने तयारी गरेको छ। बैठकले जेठ २ मा फर्कने आधार तय गर्न महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी नै ब्युँताउने तयारी गरेको पनि स्रोतको भनाइ छ।

जेठ २७ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार जना सांसद (प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा)लाई पुनः बहाली गर्दै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयको वैधतामाथि प्रश्न उठाएको थियो ।

त्यसैले ओली समूह एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै बदल्न लागेको हो।

१५ असार, २०७८, २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।