अझै किन शङ्का भइरहेछ माधव नेपालमाथि !

अझै किन शङ्का भइरहेछ  माधव नेपालमाथि !

काठमाडौंः राजनीतिक विषयमा समाचार सङ्कलन गर्न क्रियशिल सञ्चारकर्मीहरूसँगको विपक्षी दलका नेताहरूको छलफल कार्यक्रम सञ्चारकर्मीहरूलाई सम्झाउनभन्दा माधव नेपाललाई फकाउन बढी केन्द्रित भयो।

कार्यक्रम सञ्चारकर्मीहरूसँग सुझाव लिने उद्देश्यले आयोजना गरिएको भनिएको थियो। तर विपक्षी दलका नेतामध्ये काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता नेपाललाई फकाउन बढी केन्द्रित देखिए।

एमालेमा बढिरहेको किचलो अझै समाधान भएको छैन। एकताका सर्तहरू मनाउन दुवै पक्ष औपचारिक–अनौपचारिक छलफलमा छन्। माधव समूहका दोस्रो तहका नेताहरू एकतामा बढी नै लचक भइरहेको बेला कतै नेपालले सर्वोच्च अदालतमा संसद् विघटनबारे जारी रहेको सुनुवाइ अगाडि नै धोका दिने त हैन भन्ने शङ्का विपक्षी दलका नेतामा देखिन्छ नै।

त्यो शङ्का शनिवारको कार्यक्रममा पनि देखियो। तर दुवै नेताले शङ्का गर्नेभन्दा पनि नेपालको प्रशंसा गरेर आफैँ आश्वस्त हुन खोजेको देखियो।

काँग्रेस सभापति शेरबहादुर देउवाले भने‘माधव नेपालजी लडाकु हो। उहाँबाट कुनै किसिमको धोका हुँदैन। उहाँको नेतृत्वमा डोमेक्रेटिक पार्टी बन्नेछ भन्ने विश्वास छ। उहाँ पहिल्यै प्रधानमन्त्री भएको हो नि। नेपाली काँग्रेसले उहाँलाई प्रधानमन्त्री बनाएको हो नि।’

प्रचण्डले भने‘ अलिकति अप्ठ्यारो माधवजीलाई हो। तर अहिले माधवजी झन् ठुलो नेता हुनुभयो। एमालेको रियल लिडर माधव नेपाल हुनुभएको छ। केपी ओली खस्किँदै गएका छन्।’

माधव नेपालले भने‘ माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो। आउँछ भन्ने हैन आइसक्यो। शेरबहादुरलाई पत्ता साफ गराउनुस् तपाई बनिहाल्नुस्। वाह क्या गजबको प्रस्ताव। आओस्, माधव नेपाल धोका दिने मान्छे हैन।

उनले भने‘ हामी जुन प्रोसेसमा अगाडि बढेका छौँ त्यसलाई धोका दिने कुनै सम्भावना छैन। सर्वोच्च अदालतमा पेस गरेको हस्ताक्षर फिर्ता लिने काम हुने छैन।’

०००

एमाले केपी ओली समूह र माधव नेपाल समूहबिचको सम्बन्ध हेर्ने हो भने नेपाल समूह अब एमालेको मूलधारमा फर्कन नसक्ने गरी टाढा पुगिसकेको देखिन्छ। तर वार्ता र संवाद अझै सकिएको भने छैन। नेपाल आफ्नै समूहका दोस्रो पुस्ताका नेताहरूको दबाबमा छन्। जो कुनै सर्तमा एमालेमा फर्कन लालायित छन्।

तर उता ओली समूहले पहिलो सर्त नै देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर रिटमा एमालेका तर्फबाट भएको हस्ताक्षर  फिर्ता गर्ने बनाएका छन्। 

पछिल्लो समय एमालेबाट निलम्बित प्रदेशका सांसदबारे आदेश दिने क्रममा सर्वोच्चले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठाएपछि एमाले जेठ २ को अवस्थामा फर्किएको तर्क गर्दै पार्टी एकताका लागि नेपाल समूहका नेताहरू नै सक्रिय भएकाले कतै उनले धोका दिने त हैन भन्नेमा विपक्षी दलका नेता देउवा र प्रचण्ड सशङ्कित देखिन्छन्।

किन शङ्का भइरहेको छ नेपालमाथि

होटल मेरिएटमा भएको ओली र नेपालको वार्ता

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरे। संसद् विघटन हुनुमा पार्टीको आन्तरिक किचलो नै प्रमुख कारण थियो। तत्कालीन समयमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग प्रचण्ड, नेपाल तथा झलनाथ खनाल सहितका नेताहरू असन्तुष्ट थिए। 

संसद् विघटन विरुद्ध सुरुमा नेपाल र प्रचण्डको नेतृत्वमा नेकपाको असन्तुष्ट समूह सडकमा उत्रिएको थियो। जति बेला प्रमुख प्रतिपक्षी दल रहेको  काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सडकमा देखिएका थिएनन्।

संसद् विघटनपछि नेकपा फुटको अवस्थामा पुग्यो। दुई गुटले एकले एक अर्कालाई  कारबाही गर्ने र आफू नै आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा धाउन पुगे। 

दुई पक्षको विवाद सडकमा एक अर्का विरुद्ध नराम्ररी पोखियो। तत्कालीन समयमा ओलीले माधव नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ को संज्ञा दिएका थिए ओलीले।

नेपालले पनि ओलीलाई विभिन्न आरोप लगाए। सर्वोच्चको एउटा फैसलासँगै फुटको आधिकारिकता कुरी रहेको दुई समूह फेरी एमाले र माओवादीको बन्न पुगे। 

त्यसपछि आलीले नेपाल सहितका नेतालाई कारबाही गर्दै पार्टीबाट निलम्बनको घोषणा गर्यो। कारबाहीमा परेपछि नेपालले नेतृत्व गरेको खनाल सहितको समूह बेवारिसे भएको थियो। यो समूहले देशभर समानान्तर कमिटी निर्माणलाई तीव्रता दियो। 

नेपाल पक्षको भूमिकालाई लिएर सरकार गठनमा चमत्कारी अवस्था आउने आङ्कलन गरिएको थियो। तर, त्यसो हुन सकेन। यसको नेतृत्व गरेका थिए नेपालले। अन्तिम समयसम्म पनि नेपालपक्षका सांसदले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नेमा नेपालले देउवा र प्रचण्डलाई आश्वस्त बनाएका थिए। तर राजिनामा आएन। उनीहरू ओलीले विश्वासको मत लिने दिन संसद्मा अनुपस्थित भइदिए।

बिचमा एकाएक नेपाल र ओलीबिच संवाद अगाडि बढ्यो। होटल मेरियटबाट शुरु भएको वार्ताले पार्टी एकताका लागि कार्यदल गठनसम्मको मोडमा पुर्यायो। देउवा र प्रचण्ड नेपालबाट धोका भएको निष्कर्षमा पुगे।  एकता प्रक्रिया अगाडि बढ्दै थियो। कार्यदल छलफलमै थियो। एकाएक ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि नेपाल समूह झस्कियो र देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्यो। ओलीले पनि दाबी गरेपछि प्रधानमन्त्रीमा दुवैको दाबी नपुगेको भन्दै संसद् नै विघटन भयो। त्यसपछि नेपाल र ओलीबिच जारी संवाद टुट्यो।

तर योगेश भट्टराई लगायतका दोस्रो तहका नेताहरू भने अझै संवादमै छन्। नेपालले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छैनन्। यो बेलामा रातारात कतै नेपाल र ओलीको मिलन त हुने हैन भन्ने शङ्का काँग्रेस र माओवादी केन्द्रको मनबाट अझै हट्न सकेको छैन।

आडमा अघि बढ्ने नेता 

शङ्का कायमै रहनुमा नेपालले हिजोका दिनमा देखाएको ढुलमुले नीति प्रमुख कारण हो। उनलाई नजिकबाट चिन्ने नेताहरू उनी आफै नेतृत्व गर्नेभन्दा पनि अरूको आडमा अगाडि बढ्ने नेताको रूपमा विश्लेषण गर्छन्।

नेता प्रदीप नेपाल माधव नेपाललाई पार्टीलाई राम्रो व्यवस्थापन गर्न जान्ने नेताको रूपमा लिन्छन्। तर ठुलो जोखिम मोल्न सक्ने र एक्लै निर्णय लिन सक्ने नेता उनी नभएको प्रदीपको विश्लेषण छ।

‘धेरैजसो उहाँ साथीभाइलाई आडमा अगाडि बढ्ने गर्नुहुन्छ। राजनीतिमा ठुलो जोखिम मोल्ने नेता हैनन्,’ उनले भने। 

माधवलाई नजिकबाट चिनेका अर्का नेता नेकपा मालेका महासचिव सिपी मैनाली उनलाई जटिल अवस्थामा सही निर्णय लिन सक्ने नेतृत्व क्षमता नभएको नेता मान्छन्।

‘उहाँको सबल पक्ष नर्मल अवस्थामा पार्टीले गर्ने निर्णयलाई कार्यान्वयनमा लैजान साङ्गठनिक सक्रियता देखिएको हो,’उनी भन्छन्,‘क्रिटिकल अवस्थामा पार्टी,क्रान्ति र देशको पक्षमा सही निर्णय, प्रस्ताव दिएको घटना मैले एउटै देखेको छैन।’ 

उनले अहिलेसम्म नेता नेपालले क्रिटिकल समयमा सही निर्णय लिएको थाहै नभएको दाबी गर्छन्।

‘उनी या आफ्नो आवेगमा चलेर हो या बाह्य शक्तिको आदेशमा हो क्रिटिकल अवस्थामा सही निर्णय लिन सकेको देखिँदैन,’ मैनालीको विश्लेषण छ,‘सही अवस्थामा सही निर्णय लिन नसक्नु त उनको अयोग्यता नै हो नि।’ 

मैनालीका अनुसार नेपालले एमालेलाई सजिलो अवस्थामा नेतृत्व गरेकाले त्यति ठुला समस्या नआएको बताउँछन्। 

‘कुलो खनेर पानी बग्न थालेपछि रेखदेख गरेजस्तो मात्रै गरेका हुन,’उनी तत्कालीन समयमा मालेमा रहेर काम गर्दाको समय सम्झन्छन्,‘वास्तवमा मालेमा म पछिको दोस्रो नेता भनेकै नेपाल थिए। त्यो बेला उनीबाट पार्टीलाई, क्रान्तिलाई र देशलाई फसाउने गलत खालका विकल्प मात्र आए।’ 

अहिले विपक्षी दलसँग नेपालको क्षणिक मिलन मात्र भएको र आफ्नो छुट्टै सैद्धान्तिक,वैचारिक बाटो नभएकाले नेपालले नयाँ पार्टी खोल्ने आँट गर्न नसकेको उनको मत छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाललाई चमत्कारिक क्षमता बोकेका र जोखिम मोल्न चाहने नेता नभएको विश्लेषण गर्छन्। 

एमाले पार्टी भित्र उनको स्थान अरूभन्दा धेरै सुरक्षित रहेको उनलाई लाग्छ। पछिल्लो समय प्रधानमन्त्रीलाई पनि सत्ता जोगाउनुपर्ने र नेपाललाई पनि आफ्नो फेस सेभिङ गर्नुपर्ने अवस्था रहेको उनको मत छ।

‘जब कर्णालीमा फ्लोर क्रस भयो। त्यसपछि यिनीहरू धेरै पार्टीबाट बाहिरिन्छ भन्ने थिएन। तर,जुन रूपमा समानान्तर सङ्गठन खोल्ने,फ्लोर क्रस गर्न सक्ने,संसद्मा पनि अनुपस्थित भएपछि ओलीलाई झस्कायो,’ उनी भन्छन्।

नेपाललाई नयाँ पार्टी खोलेर नयाँ ढङ्गबाट अघि बढ्दाको जोखिम जानकारी रहेको र नेपालमा नयाँ पार्टीहरूको इतिहास त्यति राम्रो नभएकाले पनि झस्किएको हुनसक्ने उनको मत छ।

‘त्यो रिस्क उठाउने उनीसँग उमेर पनि छैन। त्यो रिस्क उठाएर हारेको उदाहरण उनीसँग हिजो पनि छ। बामदेव सिपी मैनाली,आरके मैनाली,बामदेव गौतमले हिजो उमेर हुँदै महाकाली सन्धिमा उठाएको रिस्क काम लागेन। सायद उनले विगतलाई पनि हेरिरहेका छन्। राजनीतिक भविष्य पनि हेरिरहेका छन्।’ 

०००

दोस्रो पटक संसद् विघटनपछि नेपाल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी यादव समूहसहितको पाँच दलको विपक्षी गठबन्धनमा सक्रिय छन्। उनको सहभागिता एमालेको असन्तुष्ट नेताको रूपमा छ।

उनी निकट विद्यार्थी नेताले दर्ता गरेको नेकपा एकीकृत उनकै योजना अनुसार दर्ता भएको दाबी गर्नेहरू पनि छन्। तर उनले अहिलेसम्म नयाँ दल दर्ता गर्नेबारे सार्वजनिक गरेका छैनन्।

संसद् विघटन बदर भएर अर्कै राजनीतिक अवस्था बने अर्को कुरा। नत्र तत्काल उनी र एमाले अध्यक्ष ओलीबिच एकता भइहाल्ने अवस्था देखिन्न।

त्यसैले भोलिका दिनमा नेपाल एमालेमै फर्कन्छन् या जोखिम उठाउन नसक्ने आफ्नो राजनीतिक इतिहास मेट्दै नयाँ दल दर्ता गर्छन् त्यो अहिले नै प्रस्ट भइसकेको छैन।

१३ असार, २०७८, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।