स्वास्थ्य

पोस्ट कोभिड : हेर्दा सामान्य तर, शारीरिक तथा मानसिक रूपमा शिथिल 

उपेन्द्र खड्का 


तस्बिर साङ्केतिक

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिमा ‘पोस्ट कोभिड’ को समस्या देखिने क्रम बढेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन टेकु अस्पतालमा पोस्ट कोभिडको समस्या लिएर आउनेको सङ्ख्या बढेको बताउँछन्। 

८ महिनाअघि कोरोना सङ्क्रमण मुक्त भएकी ३५ वर्षकी महिलालाई पोस्ट कोभिडको परामर्श दिएको डा. पुनले बताए। उनी शारीरिक तथा मानसिक रूपमा शिथिल थिइन्। अत्यन्तै कमजोर महसुस हुने, भर्‍याङ चढ्दा स्याँस्याँ हुनेलगायत समस्या थियो। डा. पुनलाई ती महिलाले आफ्नो समस्या सुनाइन्,‘पिँडुला फर्किने, मांसपेशी साह्रै कमजोर भयो, केही गर्न आँट नआउने, मन एकत्रित नहुने, डर, त्रास भइरहन्छ।’

विभिन्न विशेषज्ञले स्वास्थ्य जाँच गर्दा शारीरिक समस्या नदेखिएकाले ती महिलालाई नआत्तिन तथा समय क्रममा समस्या आफै कम हुँदै जाने र स्वास्थ्य समस्या देखिए चिकित्सकसँग सम्पर्क तथा परामर्श गर्न सुझाव दिएको डा.पुनले सुनाए। 

आइतबार पनि कोरोना सङ्क्रमण मुक्त भएर पोस्ट कोभिडको समस्या भएकी करिब ५५ वर्षकी महिलाले डा.पुनलाई फोन गरिन्। अढाई महिना अघि सङ्क्रमणमुक्त भएकी उनले आफ्नो पढाउने पेसा भए पनि पढाउन आँटै नपुग्ने र मर्छु कि भन्ने सोच आएको सुनाएको डा. पुनले बताए। ५५ वर्षकी ती महिलामा खानपान रुचे पनि केही गर्ने शक्ति नै थिएन।

आजकाल दैनिक जसो नै पोस्ट कोभिडको समस्याका बिरामीको फोन आउने गरेको डा. पुनले सुनाए।

०००

भक्तपुर अस्पतालमा पनि पोस्ट कोभिडको समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या बढिरहेको छ। भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा. सुमित्रा गौतमले पोस्ट कोभिडका बिरामी बढ्न थालेको बताइन्। पोस्ट कोभिडका बिरामीको उपचार तथा परामर्शका लागि अस्पतालमा पोस्ट कोभिड केयर ओपिडी क्लिनिक सञ्चालन गरेको उनले जानकारी दिइन्।

०००

त्यसै गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि पोस्ट कोभिडका बिरामीको चाप बढिरहेको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले पोस्ट कोभिडका बिरामी बढिरहेको बताए। 

अस्पतालमा पोस्ट कोभिड केयर क्लिनिक चलाउने विषयमा छलफल भइरहेको र आज मंगलबार बस्ने चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका विभागीय प्रमुखहरूको बैठकले निर्णय गर्ने अधिकारीले जानकारी दिए। अधिकारीले भने, ‘बैठकमा पोस्ट कोभिडको छुट्टै ओपिडी सञ्चालनका लागि प्रस्ताव पेस गरिएको छ।’

होम आइसोलेसनमा बसेकालाई पनि समस्या

कोरोना सङ्क्रमण भई अस्पतालमा उपचार गरेका व्यक्तिमा मात्रै नभएर होम आइसोलेसनमा बसेका व्यक्तिमा पनि पोस्ट कोभिडको समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। 

कोरोना संक्रमणभई बेड नपाएर घरैमा बसेका बिरामी पनि पोस्ट कोभिडको समस्या लिएर आउन थालेको भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले बताइन्। डा. गौतमले भनिन्,‘केसहरू छन्। अव अहिले हुने नै पोस्ट कोभिड केस हुन्। घरमा बसेका केसहरू पनि आउँदै हुनुहुन्छ।’ पोस्ट कोभिडका बिरामीको अवस्था र आवश्यकता अनुसारको उपचार गर्ने गरिएको उनले बताइन्। 

अन्योलमा बिरामी

धेरै पोस्ट  कोभिडको समस्या भएका व्यक्ति स्वास्थ्यकर्मीसम्म आइपुग्न पनि नसकेको चिकित्सकहरू बताउँछन्। कारण,˗कहाँ जाने? यो विषय कसलाई भन्ने अन्योल छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पोस्ट कोभिडको लागि छुट्टै क्लिनिक तथा परामर्शको व्यवस्था नगरेको बताउँछन्। 

पोस्ट कोभिड क्लिनिक वा परामर्श केन्द्र भनेर छुट्टै व्यवस्था गरिएको छ? भन्ने जिज्ञासामा  प्रवक्ता डा. पौडेलले भने,‘सरकारको तर्फबाट छैन। हामीले कुनै त्यस्तो निर्णय गरेका छैनौँ।’ 

अहिले तत्काललाई पोस्ट कोभिडका लागि क्लिनिक खोल्ने भन्ने तयारी नभए पनि आवश्यक परेको खण्डमा भने खोल्न सकिने प्रवक्ता डा. पौडेल बताउँछन्। उनले भने,‘जुन अस्पताल, स्वास्थ्य संस्थाले कोभिडको उपचार गर्नुभएको छ, उहाँहरूले नै व्यवस्थापन गर्नु हुन्छ भन्ने हो।’

उपचार के छ?

पोस्ट कोभिडको समस्या भएका व्यक्तिलाई सामान्यतः भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था नदेखिने तर निरन्तर स्वास्थ्यकर्मीको सहायताको आवश्यकता हुने देखिएको डा.पुन बताउँछन्। डा. पुनले भने,‘भर्ना गरेर उपचार गर्नुपर्ने पनि नदेखिने तर, निरन्तर स्वास्थ्यकर्मीको सहायता चाहिने देखिन्छ।’ तर, कतिपयलाई भने भर्ना गरेर पनि उपचार गर्नुपर्ने अवस्था आउने उनले बताए।

पोस्ट कोभिडको यकिन उपचार विधि नभएको चिकित्सक बताउँछन्। पोस्ट कोभिडको समस्या भएका व्यक्तिलाई जुन अङ्गमा समस्या छ, त्यही सम्बन्धित विशेषज्ञसँग परामर्श लिन सुझाउने गरेको चिकित्सक डा. पुन बताउँछन्। तर,विशेषज्ञ चिकित्सकहरूसँग स्वास्थ्य जाँच गराउँदा तथा परामर्श लिँदा समेत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै देखिने गरेको पाइएको उनले सुनाए। 

पोस्ट कोभिडको समस्या भएका व्यक्तिले हल्का व्यायाम र सन्तुलित खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। हल्का किसिमको व्यायाम गर्दा बिस्तारै यस्तो समस्या कम हुँदै गएको पाइएको डा. पुन बताउँछन्।

अध्ययन अनुसार पुरुषको तुलनामा महिलामा पोस्ट कोभिडको समस्या बढी देखिएको चिकित्सक बताउँछन्। पहिलो लहरमा पनि पोस्ट कोभिडको समस्या देखिएको र दोस्रो लहरमा झन् बढ्ने चिकित्सकको अनुमान छ।

हेर्दा केही छैन दुःख दिइरहन्छ

कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिमा पोस्ट कोभिडको लक्षण स्वरूप शारीरिक रूपमा विशेष गरी अति थकित भएको पाइएको चिकित्सक बताउँछन्। पोस्ट कोभिडको रूपमा व्यक्तिहरूमा ज्वरो आएको महसुस हुने, श्वास फेर्न असहज हुने, छाती भारी हुने, मुटुको धड्कन छिटोछिटो चलेको जस्तो हुने जस्ता लक्षण देखिएको पाइएको छ।

मांसपेशी कमजोर भएको महसुस हुने, कानमा आवाज आएको जस्तो लाग्ने, पेट गडबढी भएको जस्तो लाग्ने जस्ता लक्षण देखिएको पाइएको डा. पुनले बताए। धेरैजसो पोस्ट कोभिडको समस्यामा परेका बिरामीको शारीरिक अवस्था हेर्दा सामान्य देखिए पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा शिथिल हुने गरेको उनले बताए। 

कोरोना सङ्क्रमण भएर सङ्क्रमण मुक्त भइसकेपनि व्यक्तिमा पोस्ट कोभिडको रूपमा सुत्न नसक्ने, आत्तिने, डराउने जस्तो मानसिक समस्या देखिएको चिकित्सक बताउँछन्। 

कोरोना सङ्क्रमित भएर कोरोना मुक्त भएका व्यक्तिमा यस्ता समस्या हप्तौँसम्म रहनुलाई चिकित्सकीय भाषामा ‘पोस्ट एक्युड कोभिड˗१९ सिन्ड्रोम’ भनिन्छ। जसलाई सामान्य भाषामा ‘पोस्ट कोभिड भनिन्छ।’

पोस्ट कोभिडको यकिन परिभाषा नभए पनि सामान्यतः कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको व्यक्तिमा ४ हप्ता भन्दा पछि निरन्तर विभिन्न किसिमका शारीरिक तथा मानसिक रूपमा समस्या देखिए त्यस्तो समस्यालाई पोस्ट कोभिड भनिने गरेको डा.पुनले बताए।

४ हप्ता देखि ६ महिनासम्म पोस्ट कोभिडको समस्या देखिने भनिए पनि त्यो भन्दा लामो समयसम्म नेपालमा समस्या देखिएको डा. पुन बताउँछन्। त्यसपछि लक्षण आफैँ कम हुँदै गएको पाइएको उनी बताउँछन्। संसारमा नै कोभिड पछि देखिने यस्ता लक्षणको यकिन कारण थाहा नभएको चिकित्सक बताउँछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....