मेरा बाको हातमा पेन्सन, रुपा विकको बाको हात किन रित्तै ?

मेरा बाको हातमा पेन्सन, रुपा विकको बाको हात किन रित्तै ?

म कक्षा चढ्दै गए। ७ कक्षा, ८ कक्षा,  ९ कक्षा, १० कक्षा । अहिलेसम्म त मास्टरै सकियो। म सँगै पढेको धेरै ब्राह्मण÷क्षेत्री-नेवार समुदायका साथीहरू पनि म सँगै कक्षा चढ्दै गए।  

जति माथि कक्षा, उति दलित साथीको सङ्ख्या कम। रुपा पनि छुट्दै गइन्।  अब मेरा प्रतिस्पर्धीको सूचीमा रुपा विक थिइनन्। ब्राह्मण–क्षेत्री र नेवार समुदायका साथीहरू प्रतिस्पर्धी भए। 

दलित समुदायका धेरै साथीलाई त मैले स्कुल पढ्दा नै छोडिसकेको थिएँ। उनीहरूसँग मेरो प्रतिस्पर्धै भएन। रुपा पनि एउटै कक्षामा दुई वर्ष फेल भइन्। पछि त उसको विवाह नै भयो। उनी बल्ल १० कक्षा पुगेकी थिइन्। तर त्यो भन्दा अगाडि बढेन उनको पढाई।

रूपमा छुटेसँगै एक प्रश्नले भने मलाई छाडेन। म सँगै पढेका दर्जनौँ दलित साथीले किन मैले जस्तै गरी पढ्न पाएनन्? उनीहरूका बा–आमाले पढाउन चाहन्थे। तर के बाध्यता आइपर्यो  र उनीहरूले बिचैमा स्कुल छाडे ?

ब्राह्मण हुन् या क्षेत्री। म विद्यालयमैहुँदा २० वर्ष नपुग्दै छोरीको विवाह गरिदिने सङ्ख्या घटेको थियो। तर दलित समुदायमा समस्या उस्तै थियो।

एक त उनीहरू अलि उमेर ठुलो भएपछि मात्रै विद्यालय आउन पाउँथे। कतिले त घरमा रडाको नगरी मौका पाउँदैनथे कक्षा कोठा टेक्न। त्यसरी झगडै गरेर विद्यालय आउनेहरूका लागि विद्यालयको वातावरण उनीहरू मैत्री थिएन। उनीहरूमाथि हुने शिक्षकको दुर्व्यवहार सम्झँदा त अहिले पनि आङ सिरिङ हुन्छ। 

कक्षा ५ मा पढ्दा म १० वर्षकी थिएँ। परियार थर भएकी अर्की साथी त्यस्तै १३-१४ वर्षकी थिइन्। वातावरण विषय पढाउने शिक्षकले कसरी नुहाउनु पर्छ भन्ने पाठ पढाएका थिए। एउटा तस्बिरमा एउटा बच्चाको कट्टु मात्रै लगाएर नुहाइरहेका थिए। त्यो तस्बिर देखाउँदै परियार साथी जो छात्रा थिइन् उनी तिर हेर्दै सरले भने, ‘हिजो तैँले नुहाएको मैले देखेको थिएँ। किन पेटीकोट लगाएर नुहाएकी हेर त यसरी नुहाउनुपर्छ।’ उनी चर्को स्वरमा हासे।

कोठामा रहेका अन्य पनि हाँसे। त्यो साथी लाजले रातो पिरो भइन्। केही बोल्न सकिनन् । मात्रै निहुरेर बसिन्। 

अलि पहिले ब्राह्मण र क्षेत्री समुदायमा जन्मनेहरूको त छोरीकोमात्रै छिटो विवाह हुन्थ्यो र पढाइ रोकिन्थ्यो। छोराहरूको पढाई र जागिर प्राथमिकतामा पर्थे। अहिले पनि पर्छ। तर दलित छोरा होस् कि छोरी पढाइलाई उनीहरूले प्राथमिकतामा राख्नै पाएनन्।

मेरो दलित साथी केटीहरूको विवाह हुने, केटाहरूले घरायसी काम गर्ने वा कमाउन साउदी जानुपर्ने बाध्यता थियो। मैले मास्टर्स सक्काउँदा उनीहरूका छोराछोरी ८÷१० वर्षका भइसकेका थिए। कति साथीहरूलाई त पाठेघर खस्ने रोगले गाँजी सकेको छ।  सायद सानै उमेरमा गर्भवती भएर होला। 

गरिबी अशिक्षा त्यसमाथि २० वर्ष भन्दा कम उमेरमै आमा बन्नुको पिडा उनीहरूले भोगेका थिए। मेरा दलित पुरुष साथीहरू घर व्यवहार र जीविकाको भारले थिचेर उमेरमै जीर्ण रुख झैँ देखिइसकेका छन्। गाउँ पुग्दा चिन्नै नसक्ने भएका छन् मेरा सहोदर उमेरकाहरु। 

मेरा बा-फुपू मास्टर भए रुपा विककी बा-फुपू किन मास्टर भएनन्? 

रुपा विक कक्षा ८ सम्म मैसँगै थिइन्। उसका बा आरनमा फलाम पिट्थे। मेरो घरमा हलो जोत्थे। उसकी आमा त्यही बाहुनको घरमा घरायसी काम गर्थिन्। रुपा कहिलेकाहीँ बा–आमाको साथ लागेर हाम्रो घर आउँथिन्। उसको शरीरमा मैले लगाएर थोत्रिएको पुरानो भएको, ४ ठाउँमा टालेको कपडा हुन्थ्यो। स्कुलको लुगा बाहेक उसले मैले जस्तो नयाँ लुगा लगाएको कहिल्यै देखिन। 

बालपन त उसको पनि मेरो जस्तै थियो। उसका बा पनि मेरा बा जस्तै थिए। उसकी आमा पनि मेरी आमा जस्तै थिइन्। तर फरक थियो जातको। दुखै गरेर भए पनि खान पुग्ने जग्गा थियो मेरो बाको। आफ्नो घरको धन्दा मात्रै गरे पुग्थ्यो मेरी आमालाई। तर रुपाको बाको आफ्नै जग्गा थिएन। किन? 

रुपाकी आमालाई किन गर्नुपर्थ्यो अर्काको घरमा धन्दा?  मेरो थोत्रा कपडा टालेर लगाउनुपर्ने बाध्यता किन थियो रुपालाई?

मेरा बा शिक्षक। अहिले अवकाश पाइसकेको। बुढा भए बा। वर्षाै बाहुनको खेतमा काम गर्ने रुपाको बा पनि बुढो भए नि अब त। पहिले जस्तो काम गर्न सक्दैनन् मेरा बा झैँ। मेरो बालाई पेन्सन आउँछ। घर खर्च टर्छ। तर रुपाको बालाई किन पेन्सन आउँदैन?

मेरी आमा बिरामी हुँदा हामीले काठमाडौँको सरकारी नै भए पनि अस्पतालमा उपचार गराउन सक्छौँ। तर रुपाकी आमाको आङ खसेको वर्षाै भइसक्दा पनि किन पोको बोकेर अप्ठेरो गरी हिँड्नुपरेको छ? किन रुपाले उपचार गर्न काठमाडौँ ल्याउन सक्दिनन् आमालाई? 

मेरी फुपू मैले पढेको सरकारी विद्यालयमा पढाउनुहुन्थ्यो, अहिले पनि पढाउनुहुन्छ। तर मैले विद्यालय पढ्दा कुनै परियार, विक, मिजार शिक्षक शिक्षिकाले पढाउनु भएन किन? 

यस्ता प्रश्न धेरै छन्। तर खै उत्तर?

म तथाकथित उच्च जातिको ब्राह्मण। रुपा विक कथित दलित। उत्तर यही हो यी सबै प्रश्नको?

नेवारले कोठा नदिने बाहुनलाई दोष !

केही समय अघि दलितले कोठा नपाएको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड चल्यो। यही विषयलाई जोड्दै कतिले त दलितलाई कोटा दिन हुँदैन, कोटा दिएर बिग्रेको, अदक्ष जनशक्ति बढेको जस्ता तर्क पनि गरे।

आरक्षण कोटा खराबै हो त?

महेशचन्द्र रेग्मीका केही किताब पढ्ने हो भने थाहा हुन्छ पहिला पृथ्वीनारायण शाहको पालामा सीमित जातलाई कसरी मलजल गरिएको थियो। बिसे नगर्ची दलित थिए। उनले खर्च कसरी जुटाउने सल्लाह दिए। तर पृथ्वीनारायण शाहले आफ्नो आखिरीतिर थर अनुसार श्रम विभाजन गर्दा बिसे नगर्चीको भागमा अर्थ परेन। किनभने उनी दलित थिए। 

सीमित ७ थरलाई पोसे शाह शासकहरूले। त्यसैलाई निरन्तरता दिए राणाहरूले। 

२००७ सालमा प्रजातन्त्र आयो तर हलिया प्रथा हटेन। दलितहरूलाई प्रजातन्त्र आएन। प्रजातन्त्र आएको १३ वर्ष पछि मात्रै छुवाछुत प्रथा अन्त्यको घोषणा भयो। तर घोषणाको अवस्था के छ त्यो त काठमाडौँमा जातको आधारमा कोठा पाउन नसक्ने अवस्थाले नै देखाइहाल्यो। 

को अछुत नामक पुस्तक २०१३ साल तिर छापियो। तर त्यो पुस्तकमा प्रतिबन्ध लगायो सरकारले।  पुस्तकै रोक लगाउने प्रजातन्त्रले दलितको हितमा काम गरेन। 

कोटा प्रथाको सुरुवात ६३ साल पछि भयो। केही मेरा दलित भाइबहिनीहरूले उच्च शिक्षा हासिल गर्न लाएको देखेको छु। केहीले सरकारी जागिरमा नाम निकाल्न कोसिस गरिरहेका छन्। 

तर अहिले उनीहरू ट्रोलको सिकार हुने गरेका छन्। उनीहरूलाई कोटे प्रणाली भनेर उडाइएको छ, हियाइएको छ, अपमान गरिएको छ। हिजो शासकद्वारा पालिएका केही थान तथाकथित उच्च जातले उनीहरूलाई अझै पनि हियाइरहेका छन्।

कोटा प्रणाली ४५ प्रतिशत हो। त्यसमा मधेसी, जनजाति,  दलित, महिला सबै पर्छन्। यही कोटा प्रणालीलाई लिएर उनीहरूलाई होच्याउने काम भइरहेको छ। हिजो शाह शासक अनि राणा शासकले मात्रै होच्याउँथे, हेलाँ होचो, व्यवहार गर्थे। अहिले होच्याउने हैसियत धेरैले पाएका छन्। 

किन रुपा विकको बाबाको जग्गा भएन महेशचन्द्र रेग्मीको पुस्तक पढेपछि बुझेँ।

कारण थियो राजा, राणाले बाहुन, क्षेत्रीलाई बिर्ता–जागिर भनेर दिने जग्गा। त्यो जग्गा उनीहरूले आफैँले राख्नुपर्थ्यो। दलितलाई बेच्न पाइँदैनथ्यो। पुस्ता सर्दै गयो। जग्गा पनि सर्दै गयो।  

सुरुमा बाहुनले पाएको जग्गा उसका छोरा नाति हुँदै मेरा बाका पुस्तासम्म केही रोपनी भएर आइपुग्यो। तर रुपाका बा दलित थिए। उनको पुस्तामा हली बन्ने चलन सर्दै आयो । आरनमा हँसिया उधाउने कर्म सर्दै आयो। तर जग्गा सर्दै आएन। 

त्यसैले मेरा बा जग्गा धनी भए। रुपाका बा आरनको आरनै। मेरा बाका कारण म मास्टर्स गर्न सक्षम भए। रुपा गाउँको गाउँ नै। त्यसैले मेरा बाले पेन्सन पाउँछन्। रुपाका बा रित्तै।

७ असार, २०७८, १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।