हेटौंडा कपडा १ : अस्थिर राजनीतिले निलेको उद्योग

हेटौंडा कपडा १ : अस्थिर राजनीतिले निलेको उद्योग

कुनै समय यस्तो पनि थियो, हेटौंडा कपडा उद्योगबाट उत्पादित स्वदेशी कपडा नै देशभर बिक्री-वितरण हुन्थ्यो। जनस्तरदेखि सेनासम्मले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा प्रयोग गर्थे।

उतिबेला स्वदेशमै उत्पादित कपडाको छाप जनमानसमा अझै मेटिन सकेको छैन। यही रफ्तारमा औद्योगिक विकास हुन्थ्यो भने नेपाल यतिबेला कपडा उत्पादनमा आत्मनिर्भर भइसकेको हुन्थ्यो।

तर, अस्थिर राजनीतिको सिकार बन्न पुगेपछि यो स्वर्ण अवसर नेपालीको भाग्यबाट खोसियो। र, परनिर्भरताकै बाटोमा मुलुक चलिरहेछ। स्वर्ण इतिहास बोकेको ‘हेटौंडा कपडा उद्योग’ अन्धकार इतिहास बोकेर बसेको छ। 

हेटौंडा कपडा उद्योगको इतिहास २०३२ बाट सुरु हुन्छ। नेपाल र चीन सरकारको संयुक्त लगानीमा स्थापना भएको यो उद्योग २०३५ सालबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो।

देशमै कपडा उत्पादन गरी आयात घटाउने र कपास खेती विकास गर्न मद्दत पुर्याई कृषि उत्पादनमा विविधीकरण एवं रोजगारी वृद्धि गर्ने उद्देश्य राखी सुरुवात गरिएको थियो यो उद्योग।

उद्योग स्थापना भई सञ्चालन भएको अवधिमा ११ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारीको अवसर सिर्जना भएको थियो।

उद्योग विस्तारको क्रममा २०३८ साउन १५ बाट दोस्रो सिफ्ट सञ्चालनमा ल्याइएको थियो भने २०३९ वैशाख १२ बाट तेस्रो सिफ्ट सञ्चालनमा ल्याइएको थियो। यससँगै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो। 

उद्योगले वार्षिक रुपमा कोरा कपडा ११० लाख मिटर, २५० मेट्रिक टन सुती कपडा र सोही परिमाणमा बुट्टेदार र सेता कपडा उत्पादनको क्षमता राख्ने गथ्र्यो। उद्योगले हेटौंडा औधोगिक क्षेत्रको स्वामित्वमा रहेको २३६.०७ रोपनी श्रेत्रफल ओगटेको छ। त्यस्तै उद्योगको आफ्नै स्वामित्वमा २५६ रोपनी जग्गा समेत छ। उद्योगको लगानी स्थिर पूँजी ८४३ लाख र चालु पुँजी ९१८ लाख रहेको थियो।

स्थापनाको १९ वर्षसम्म यो उद्योग घाटामा थिएन। आर्थिक वर्ष २०५४/५४ बाट कर्मचारी आन्दोलन र राजनीतिक आस्थाका आधारामा व्यवस्थापक नियुक्ति र हस्तक्षेपले उग्र रुप लिन थालेपछि उद्योगमा आर्थिक समस्या सुरु हुन थाल्यो। चालु पुँजी जुटाउन बैँकबाट ऋण लिनुपर्ने स्थितिमा पुग्यो। त्यसपछि बैंकको साँवा-व्याज नै भुक्तान गर्न नसक्ने अवस्थामा उद्योग पुग्यो। यसबीचमा उद्योग पटकपटक बन्द हुन पुगेको अध्ययन प्रतिवेदनहरुमा उल्लेख भएका छन्। 

 

तीन वर्षसम्म उद्योग घाटाकै अवस्थामा जसातसो चल्यो। घाटाकै कारण चल्नै नसक्ने अवस्था आएपछि सरकारले २०५७ माघ १८ मा मन्त्रिपरिषद् निर्णयमार्फत कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिई हेटौंडा कपडा उद्योग बन्दको घोषणा गर्यो। 

उद्योग बन्द भएपछि सरकारले २०५८ मा निजीकरणको प्रयास सुरु गर्यो। निजीकरणका लागि बोलपत्र आह्वान गरियो। तर दुई पटकसम्म निकालिएको सूचनामा बोलपत्र परेनन्। यो अवधिमा बाध्य भएर सरकारले २०५९ कात्तिकमा उद्योगलाई खारेजी प्रक्रियामा लैजाने निर्णय गर्यो। २०५९ पुस ८ मा बसेको विशेष साधारण सभाले विशेष प्रस्तावमार्फत उद्योगलाई खारेजीको प्रक्रियामा लगेको देखिन्छ।

दोस्रो पटक पुनः खारेजी 
खारेज भइसकेको हेटौंडा कपडा उद्योगलाई सरकारले पहिलो पटक आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत पुनःसञ्चालन गर्ने घोषणा गर्यो। घोषणा अनुसार चालु आर्थिक वर्षभित्र नै सञ्चालनमा ल्याउने भन्ने थियो।

उद्योग सञ्चालनमा आएपश्चात् यसको सेयर कामदार, कर्मचारी, निजी क्षेत्र समेतमा बिक्री गर्ने तथा त्पादनहरु नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी लगायतमा प्रयोग गरी बजार सुनिश्चित गरिने उल्लेख थियो।

बजेट वक्तव्यको घोषणा अनुसार उद्योग सञ्चालनको लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको थियो। समितिले प्राविधिक, आर्थिक र बजार समेतको अध्ययन गरी उद्योग सञ्चालन सम्भव रहेको प्रतिवेदन सरकारलाई बुझायो। प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयले ८ करोड २९ लाख बजेट निकासा गरेको थियो।

कम्पनी दर्ता : २०३२ भदौ ३०
शिलान्यास : २०३२ पुस
परीक्षण उत्पादन : २०३५ कात्तिक
औपचारिक उद्घाटन : २०३५ माघ ५
मुख्य उत्पादन : सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा
घाटामा जान थालेको : आर्थिक वर्षः २०५३/५४
उद्योग बन्दको निर्णय : २०५७ माघ १८
खारेजीको प्रक्रिया : २०५९
पुनःसञ्चालनको निर्णय : आर्थिक बर्ष २०६५/६६
परीक्षण उत्पादन : २०६६
दोस्रो पटक खारेजीको निर्णय : २०६६/०७/११ 

बजेट निकासासँगै मेसिन-औजारको मर्मत-सम्भार गरी परीक्षण उत्पादन समेत सुरु गरिएको थियो। उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनका लागि कपासको बोलपत्र समेत आह्वान भइसकेको थियो। तर, सरकार परिवर्तन भएसँगै उद्योग सञ्चालनको योजनालाई फेरि अगाडि बढाइएन। तत्कालीन सरकारले २०६६ कात्तिक १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पुनः खारेजीको प्रक्रियामा लग्यो। 

खारेजीमा लाने क्रममा २०६७ चैत ३० को मन्त्रिपरिषद् निर्णयबाट उद्योगको भवन र भौतिक पूर्वाधारको खारेजी मूल्यांकन गरी आठ करोड १२ लाख २५ हजार आठ सय स्रोह्र रुपैयाँ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा सरकारले लगानी गर्ने, उद्योगको प्लान्ट मेसिनरी, स्पेयर पार्टस, सवारी साधन लगायतका चल्ती सामानको खारेजी मूल्यांकनबाट आठ करोड १४ लाख २६ हजार ६ सय ५० रुपैयाँ वार्षिक ५ प्रतिशत व्याजमा लगानी गर्ने, उद्योगको आफ्नै स्वामित्वमा रहेको २५६ रोपनी जग्गाको मूल्य २० करोड १९ लाख १५ हजार पाँच सय ३० रुपैयाँ २४ पैसा मूल्यांकन गरी उद्योग बन्द गरेको देखिन्छ। 

त्यसपश्चात् विभिन्न समयमा उद्योग सञ्चालनमा ल्याउने भन्दै सरकारबाट पटकपटक निर्णयहरु भएको देखिन्छ। सम्भावनाबारे छानविनका लागि सरकारबाट छानविन समितिहरु गठन गरिए। तर ती समितिका सुझावलाई कार्यान्वयन नगरी त्यसै थन्क्याइँदै आइएको छ। 

राजनीतिक परिवर्तनसँगै आस्थाका आधारमा कर्मचारी भर्ना, कमजोर व्यवस्थापन लगायतका कारण इतिहास बोकेको यो उद्योग सञ्चालन नै हुन नसक्ने गरी जीर्ण अवस्थामा पुग्यो।

सञ्चालन तथा विस्तारका लागि पर्याप्त जग्गा, उत्पादनको सम्पूर्ण प्रक्रिया एकै छानामुनि गर्न सकिने प्रणाली, उपयुक्त भूगोल र वातावरण, स्थानीय स्तरमा नै कामदारको उपलब्धता, जनमानसमा उत्पादित कपडाको गुणस्तरको छाप जस्ता सकारात्मक पक्षहरु रहँदारहँदै पनि कहिल्यै सञ्चालनमा आउन नसक्ने गरी उद्योग बन्द गरियो।   

हेटौंडा कपडा उद्योग बन्द हुनुमा कुनै प्राविधिक कारण थिएन। विशुद्ध प्रशासनिक कारणबाट बन्द भएको उद्योग सञ्चालन हुने प्रशस्त आधार हुँदाहुँदै पनि राजनीतिक नेतृत्वको स्वार्थका कारण पुनःसञ्चालन हुन सकेको छैन।

सरकार परिवर्तनसँगै हेटौंडा कपडा सहितका रुग्ण उद्योगहरु पुनःसञ्चालनका नाममा पटकपटक निर्णयहरु हुँदै आएका छन्। तर पनि सञ्चालनको सम्भावना भने टर्दै आएको छ। उद्योग पूर्ण रुपमा बन्द भएको २० वर्षभन्दा बढी समयसम्म सञ्चालनमा आउन नसक्दा भएका पूर्वाधार भग्नावशेषमा परिणत हुँदै गएका छन् भने महँगा मेसिनहरु कामै नलाग्ने अवस्थामा पुगिसकेका छन्। 

हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ। उद्योगको सुरक्षाका लागि हाल उद्योग रहेको स्थानमा सशस्त्र प्रहरी बलको क्याम्प बसेको छ।

बन्द भएको ११ वर्षपछि सरकारले उद्योग पुनःसञ्चालनका लागि भन्दै २०६८ सालमा अध्ययन टोली गठन गरी सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको देखिन्छ।

(हेटौँडा कपडा उद्योग पुन सञ्चालन फण्डा या  प्रतिबद्धता? कसले डुबायो , किन डुबायो यो उद्योग? पुन सञ्चालन सम्भव छ  ? यी सबै पक्षको मिहिन अवलोकन र विश्लेषणको प्रयास गर्दै उकेराले हेटौँडा कपडा सिरिज सुरु गरेको छ। सोही सिरिजको पहिलो भाग।)

७ असार, २०७८, ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।