क्याप्टेन मोनिका प्रजापतीको प्रसव पीडा र खुसी : डेढ-डेढ घन्टामा पम्पले दूध निचोरेर फ्याल्थें

क्याप्टेन मोनिका प्रजापतीको प्रसव पीडा र खुसी : डेढ-डेढ घन्टामा पम्पले दूध निचोरेर फ्याल्थें

१० वर्षअघि पाइलटको रुपमा करिअर सुरु गरेकी मोनिका प्रजापती अहिले यति एयरलाइन्सकी क्याप्टेन छिन्। उनले ट्रेनिङका क्रममा भेटिएका सुरज भण्डारीसँग ६ वर्षअघि अन्तरजातीय प्रेम-विवाह गरिन्।

एउटै पेसामा आवद्ध मोनिका-सुरजको यो जोडीले क्याप्टेन भएपछि मात्रै बच्चा जन्माउने योजना बनाएका थियो। योजनाअनुसार नै उनीहरुले बच्चा जन्माए।

बच्चा पेटमा आएपछि आफूलाई सोचेभन्दा धेरै गाह्रो भएको अनुभव सुनाउँछिन् उनी। २३ महिनाकी छोरीकी आमा क्याप्टेन मोनिका आफ्नो प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः

पाइलट बन्ने सपना थियो। त्यसैले अरु केहीमा रुचि नदेखाई पाइलट नै पढ्न गएँ। त्यही क्रममा ट्रेनिङ पार्टनरको रुपमा मैले सुरज भण्डारीलाई भेटें। हामी नजिकियौं र एकअर्काविना बाँच्न नसक्ने जस्तो भयौं। त्यसपछि विवाह गर्यौं। हामी दुवैको परिवार कुरा बुझ्ने र रुढिवादी सोचको नभएकोले हाम्रो सम्बन्धलाई सहज तरिकाले स्वीकार्नुभयो।

विवाहअघि नै हामीले बच्चाको प्लान म क्याप्टेन भएपछि मात्रै गर्ने सोच बनाएका थियौं। पाइलटको हकमा प्रेगनेन्सी भएदेखि बच्चा तीन महिनाको नभएसम्म प्लेन उडाउन पाइँदैनथ्यो। त्यसको पनि मैले प्लान गरेको थिएँ, गर्भवती भएको ९ महिनामा अरु रुचिका कामहरु गर्ने। मलाई स्विमिङ गर्न आउँदैनथ्यो। त्यसैबेला स्विमिङ र गितार सिक्ने मेरो योजना थियो।

०००
भाइटीकामा माइती गएको थिएँ। पूजा गर्ने समयतिर मेरो तल्लो पेट बेस्सरी दुख्यो। स्टोन भयो कि भन्ने शंका गरें। तर ड्याडी र भाइ दुवै डाक्टर भएकोले म ढुक्क भने थिएँ।

मलाई सानैदेखि कब्जियतको समस्या थियो। भाइले कब्जियत होला भनेर जिस्क्याउँदै थियो। ड्याडीले अल्ट्रासाउन्डको लागि लगिहाल्नुभयो। अल्ट्रासाउन्ड गर्दा नर्मल नै देखियो। तर दुख्ने समस्या भइरहेपछि फेरि देखाउन जाँदा प्रेगनेन्ट भएको रहेछु।

क्याप्टेन हुनेवित्तिकै हामीले प्लान गरेका थियौं। सुरुमै बच्चा बसिहालेछ। म  दंग परें। घरमा पहिलो नाति-नातिनी आउने भएकोले खुसीको माहोल थियो।

म पहिलेदेखि नै स्वास्थ्यप्रति निकै सचेत थिएँ। फिट हुनका लागि एक्सरसाइज, योग नियमित गर्थें। त्यही भएर गर्भवती हुँदा गाह्रो होला भन्ने सोचेकै थिइनँ।

तर, गर्भ बसेको तीन महिना निकै गाह्रो भयो। हरेक दिन भोमिट मात्रै भइरहने। जे खायो त्यही फर्किहाल्ने। सुरुमै धेरै गाह्रो भएकोले ड्याडीकै घरमा बस्न गएँ। ड्याडी डाक्टर भएकोले केही भइहालेमा उपचार गर्न सजिलो हुन्छ भन्ने लाग्थ्यो। तीन महिना त पूरै सलाइन पानी दिएर नै राख्नुपर्यो मलाई।

गर्भावस्था महिलाका लागि अचम्मकै समय हुने रहेछ। सानैदेखि माछा-मासु भनेपछि भुतुक्कै हुने मान्छे म, मासु त हेर्नै मन नलाग्ने भयो। भेजिटेरियन पो हुने हो कि भन्ने पनि लाग्यो।

त्यतिबेला मेरो खाना भनेकै दाल, भात, तरकारी र गाजर मात्रै थियो। क्रिम, हेयर स्प्रे, साबुनको बासना समेत सहन नसक्ने भएँ। धेरै समय त बाथरुममै बसिरहन्थें।

प्रेगनेन्सी पिरियडमा के-के गर्ने सोच थियो। तर पूरै बेड रेस्टमा बस्नुपर्यो। मानसिक रुपमा यति धेरै तनाव भयो कि, अहिले सोच्दा पनि जिउ सिरिङ्ग हुन्छ। हुन पनि मेरो घरमै आराम गरेर बस्ने बानी थिएन।

दसैं-तिहार जस्तो चाडपर्वमा समेत बिदा नपाइने पेसामा भएर होला, त्यो ९० दिनको बेड रेस्ट जीवनकै सबैभन्दा ठूलो सजाय जस्तो भयो। कोठामा थन्किएर बस्नुपर्यो। कति किताब पढ्नु, कति फिल्म हेर्नु, दिक्क लाग्यो।

चुप लागेर बस्ने बानी नभएकोले फ्लाइट नभएका बेला म क्वालिटी म्यानेजरको रुपमा काम गर्थें। पाँच महिनापछि विस्तारै गाह्रो हुन छाड्यो र फ्लाइट नउडाए पनि क्वालिटी म्यानेजरको रुपमा काम गर्न अफिस जान थालें। ७ महिनापछि भने नर्मल हुँदै गएँ। तर हात-खुट्टा सुन्निने चाहिं कम भएन। श्रीमानले हात-खुट्टामा तेल लगाएर मसाज गरिदिनुहुन्थ्यो।

०००
गर्भवती भएदेखि नै नर्मल डेलिभरी गर्ने मेरो चाहना थियो। प्रेगनेन्सी योगका आसनहरु गर्थें। मैले जँचाइरहेको मेडिसिटी अस्पतालमा प्रेगनेन्सीको समयमा गरिने केयरका लागि ट्रेनिङ पनि लिएको थिएँ। त्यहाँ योग, बच्चालाई बोक्ने, मालिस गर्ने तरिका समेत सिकाइएको थियो।

म नर्मल डेलिभरी नै गर्छु भन्नेमा ढुक्क थिएँ। तर समय आइसक्यो, व्यथा नै लाग्दैन। व्यथा लाग्ने औषधि र सुईं पनि दिइयो तर व्यथा नै लागेन र घर नै खुलेन।

अलिकति ब्लड देखिएपछि भने चिकित्सकहरुले अप्रेसन नै गर्नुपर्छ भन्न थाले। त्यस दिन श्रीमानको फ्लाइट थियो। उहाँ फ्लाइट सकाएर हस्पिटल आउँदै हुनुहुन्थ्यो। म चाहिँ डाक्टरसँग श्रीमानलाई भेटेपछि मात्र अप्रेसन गर्ने ढिपी गर्न थालें। श्रीमान् आएर एकछिन कुरा गरेपछि अप्रेसनको लागि गएको थिएँ।

०००
हामीलाई छोरी मनपर्ने। अल्ट्रासाउन्डबाट छोरी छ भन्ने थाहा पाएपछि हामीमा खुसीको सीमा थिएन। छोरीको नाम समेत पहिले नै सोचिसकेका थियौं। गुगल, युट्युब र शब्दकोशमा हेरेर हजार वटा नाम निकालेर छानेका थियौं। हामीले जन्मनुअघि नै छोरीको नाम सुभारिका राखिसकेका थियौं।

हामी छोरीको आगमन हुने भएपछि उल्लास मनाइरहेका थियौं। बाहिर जाँदा जन्मँदै नजन्मेकी छोरीका लागि टन्नै सामान ल्याएका थियौं।
 
म आज आफ्नो पेट चिरेर नयाँ मान्छे जन्माउँदैछु भनेर आँखा चिम्म गरेर बस्दै थिएँ। डाँक्टरले बच्चा निकालेर मेरो अगाडि राखिदिए। बच्चा भोकाएर मुखले केही खोजेको जस्तो गरिरहेको थियो। डाक्टरले ‘मोनिकाजी तपाईंको बच्चा भोकाएर निस्केछ, दूध खुवाउन सक्नुहुन्छ?’ भन्दा म निकै इमोसनल भएँ।

मेरो पेटमा टाँका लगाइँदै थियो। डाक्टर र नर्सको सहायताले बच्चा मेरो दूध खाँदै थियो। बच्चा जन्मिएको ५/६ मिनेटभित्रै मेरो दूध मजाले खायो।  म त्यो क्षण कहिले बिर्सन सक्दिनँ। जीवनकै सबैभन्दा अविस्मरणीय र रमाइलो क्षण हो त्यो।

२४ घन्टासम्म मलाई आफैं उठ्न अलि गाह्रो भयो। त्यतिबेला श्रीमान् र दिदीको सहायताले छोरीलाई दूध खुवाउँथें। जन्मनासाथ मेरी छोरी अरु बच्चाहरुको तुलनामा खासै रुँदैनथी। स्वर सानो गरी रुने, नचिच्याउने।

मलाई केही डर लागेको थियो, कतै स्वर नलीमा केही समस्या पो छ कि? डाक्टरले गाली पनि गरे। रुने बच्चा किन चाहियो तपाईंलाई? सन्तुष्ट नानी हो, केही भाको छैन भनेपछि ढुक्क भएँ।

मैले तीन महिना समय पूरै छोरीलाई दिएँ। चार महिना लागेपछि पुनः अफिस जानुपर्यो। बच्चाको मायाले धेरै गाह्रो भयो।

गर्भवती भएदेखि एक वर्ष फ्लाइट नउडाउँदा युकेमा १० दिन रिकरेन्ट ट्रेनिङ जानुपर्थ्यो। चार महिनाको बच्चा छोडेर १० दिन युके जाँदा धेरै  गाह्रो भयो। दूध गानिएर मरिएला जस्तो हुन्थ्यो। डेढ-डेढ घन्टामा ट्वाइलेट गएर पम्पले दूध निकालेर फ्याल्थें।

आफूले दूध निकाल्दै फ्याल्नुपर्ने, उता छोरीले बोटलको दूध खानुपर्ने। निकै पीडादायी थियो त्यो समय। आफू स्वार्थी भएझैं पनि लाग्यो। मैले आमा भएपछि बल्ल मातृत्वको सहि अर्थ बुझें।

आमा भएपछि आमाप्रतिको सम्मान झनै बढ्ने रहेछ। आमाले सन्तान जन्माउँछिन् र सन्तानसँगै आमा पनि जन्मिन्छिन्। हरेक आमाहरु आफूलाईभन्दा आफ्नो सन्तानको खुसीमा रमाउने रहेछन्। यो माया र लगाव साँच्चै भावनात्मक हुने रहेछ।

६ असार, २०७८, १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।