‘उपेन्द्र डाक्टरका छोरीले बाबुको किरिया गरे, मेरा छोरीले पनि गर्छन्’

‘उपेन्द्र डाक्टरका छोरीले बाबुको किरिया गरे, मेरा छोरीले पनि गर्छन्’

साँझ ५ बजे। जरंखु, काठमाडौं।

दुब्लो शरीर, बुढो साइकल। सइकलमाथि ५० किलोको मकैको पिठो। झोलाभित्र केही डब्बाहरु। लमकलमक साइकल पेल्दै मानिसको भीड बीचबाट गन्तव्यतिर लम्कँदै गरेका अधवैंशे।

सहरको ‘लकडाउन’ ‘लुजडाउन’ तिर केन्द्रित छ। मानिसहरु जीविकोपार्जनका लागि सडकमा निस्किन थालिसके। सडक किनाराका सटरहरु कोही आधा त कोही पूरै खुलिसके।

निषेधाज्ञाकै समयमा बुढो साइकल ठेल्दै लमकलमक गन्तव्यतर्फ लम्किँदै गरेका गोरखा, धनसिराका रामसिंह घले बिहान, दिउँसो र बेलुका नै सडकमा निस्कन्छन्।

सडकमा निस्कनु उनको रहर होइन। सूर्योदयसँगै उनको सडकमा निस्कने दैनिकी सुरु हुन्छ।

पाँच बजिसक्दा उनी मान्छेका दैलो-दैलो पुगिसक्छन्। उनको चालले उठ्छन्, जरंखु, डाँडागाउँ, धर्मस्थली र लामबरबासी। उनी पुगेपछि उत्तरी सहरबासीको दैलोमा उदाउँछ बिहानी, मिठो दूध चियासँगै।

‘बिहान पाँच बज्दा घर-घर पुगिसक्छु। बिहान-बेलुका २५/२५ लिटर दूध बेच्छु,’ घले साइकल धकेल्दै कथा सुनाउँछन्, ‘२०७६ माघमा दुई गाईबाट सुरु गरेको पेसा। कमाइ उति नहुने। तर विकल्प पनि त छैन।’

उनी आफ्नो पेसाबाट त्यति सन्तुष्ट रहेनछन्। सात वर्ष मलेसिया बसेर २०७६ कात्तिकमा नेपाल फर्केका उनी १० वर्ष मलेसिया बस्ने योजनामा थिए। तर भिसा थपिएन छ। भिसा थपिएको भए आज पनि उनी अग्लाअग्ला इमारतमा रङ दल्दै हुन्थे। घोल्दै हुन्थे, सिमेन्ट, गिट्टी र बालुवा।

‘खै के ताल पर्यो। १० वर्ष त बस्न पाउनुपर्ने,’ साइकल ट्याक्क रोकेर उनी बोल्न थाले, ‘बुढो भयो, काम गर्न सक्दैन भनेर पो दिएन कि?’

उमेरले घले ४८ वर्षका भए। नागरिकताका अनुसार त ५२ वर्ष पुगे। नागरिकतामा बढी उमेर भएकै कारण पो भिसा नथपिएको हो कि भन्ने मनमा लाग्दो रहेछ उनलाई।

‘उतिबेला भत्ताको लोभले नागरिकतामा उमेर बढाएछन् क्यार,’ उनी भन्छन्, ‘१७ वर्षकी दिदीले नागरिकता पाइनन् त्यतिबेला। म १३ वर्षकोले पाएँ।’

०००
हामी घलेको फार्महाउसमा पुग्यौं। दुई रोपनी जग्गामा रहेको फार्महाउसमा  साढे एक रोपनीमा घले परिवारले सिजनल तरकारी लगाउने रहेछ। बाँकी आधा रोपनीमा भने बासस्थान र गाई-गोठ।

‘अहिले ६ वटा गाई छन्। तर दुहुनु भने दुई वटामात्र,’ उनी भन्छन्, ‘ठूलो मात्रामा गर्न सके त राम्रो कमाइ हुनेरहेछ। तर थोरै गर्दा दुःख धेरै कमाइ कम।’

घलेले नेपाल फर्किएपछि त्यहि फार्मबाटै दुई छोरीलाई पढाइरहेका छन्। चार छोरीका पिता घलेका जेठी छोरी जापानमा छिन् भने बाँकी उनीसँगै  जरंखु फार्महाउसमा नै बस्छन्।

‘छोरीहरुले आफू बाहिर छँदा पढ्न उति मन गरेनन्,’ उनी भन्छन्, ‘जेठी ब्याचलर पढ्दापढ्दै जापान गई। माहिलीले पनि १२ पास गरेर बाहिर जाने भनेर पढिनँ। साइली र कान्छी छोरी १२ मा पढ्दैछन्।’

घले १० वर्ष विदेश बस्ने योजनाका पछाडि छोरीहरुको उच्चशिक्षा पूरा गरुन् भन्ने चाहना रहेछ। उनलाई आफू विदेशमा हुँदा छोरीहरुले पढ्न खोजेसम्म पढाउछु भन्ने आँट थियो। तर अब आफ्नै पौरखमा छोरीले सजिलो गरी पढ्न नपाउलान् कि भन्ने पिरमा छन्।

‘छोरा भने पनि छोरी भने पनि यिनै चार छोरी हुन्,’ उनी भन्छन्, ‘सन्तानको कारण मेरो जिन्दगी फेरियो। सन्तानकै लागि गाउँ छाडें, देश छाडें।’
वास्तवमा घलेका ६ सन्तान रहेछन्। पहिलो सन्तान छोरो। २५ दिनमा बितेछन्। त्यसपछि छोरीको जन्म भयो। छोरी पनि दुई वर्षको उमेरमा यो लोकलाई छाडेर गइन्। घले दाम्पतीलाई पर्नु पिर पर्यो।  ठाउँ नै अफापको भएर सन्तान नटिकेका हुन् कि भन्ने परिवारको तर्क घलेलाई ठिकै जस्तो लाग्यो। त्यसपछि उनी २०५४ सालमा गाउँ छाडेर सहर छिरे।

‘ठूलो दाइ छुट्टिइसकेको थियो। बाँकी हामी चार भाइ एकै परिवारमा थियौं। म कान्छो,’ घले भन्छन्, ‘सबैका सन्तान सकुशल थिए। मलाई मात्र दैवले झेल गरे। आमाले ११ सय रुपैयाँ हातमा थमाइन्। त्यही पौसा बोकेर बुढाबुढीले गाउँ छाड्यौं।’

घलेका जेठान नेपाली सेनामा थिए। उनीहरु गाउँ छाडेर सहर आएपछि केही दिन जेठानसँगै बसे। संयोगबस जेठानको पूर्वतिर सरुवा भयो। त्यसपछि घले काम खोज्देऊ भन्न साढुदाइको शरणमा पुगे।

‘साढुदाइ पनि काठमाडौंमा नै बस्ने। जेठानले आधा महिनाको कोठा भाडा तिरिदिएका थिए। काम थिएन,’ उनी भन्छन्, ‘साढुदाइले काम मिलाइदिए।’

गाउँबाट सहर पस्दा घलेको हातमा गाउँले कामको सिप मात्र थियो। साढुदाइले ललितपुरको जावलाखेलमा एक धनाड्यको घर स्याहार गर्ने जागिर मिलाइदिए।

‘हामी बुढाबुढी त्यही घरमा दुई महिना बस्यौं,’ उनी भन्छन्, ‘साहुको परिवारलाई स्याहार गर्ने। खाना पकाउने। सरसफाइ गर्ने काम थियो।’

गाउँमा आफ्नै खेतीले खान-लाउन पुगेको थियो घलेलाई। तर सहरमा निकै संर्घष गर्नुपर्यो। कसोकसो दैवले साथ दिए। घलेले साहुको घर छाड्ने निधो गरे। उनलाई बालाजु औद्योगिक क्षेत्रमा रहेको कोकाकोला फ्याक्ट्रीमा जागिर मिल्यो। तर त्यहाँ पनि धेरै टिक्न भने सकेनन्।

‘कोकाकोला फ्याक्ट्रीमा चार महिना काम गरें। पैसा चित्तबुझ्दो थिएन,’ घलेले सुनाए, ‘छोरी पेटमा आई। हामी बुढाबुढीले नयाँ काम गर्ने घर सल्लाह गर्यौं।’

कोकाकोला फ्याक्ट्रीमा काम गरिरहँदा घलेको दैनिक मजदूरी गर्नेहरुसँग संगत बढ्न थालेको थियो। त्यसपछि उनी ज्यामी कामतिर आर्कर्षित भए। दुई वर्ष ज्यामी भएर काम गरे। चार वर्ष मिस्त्री। तर त्यो कामले पनि मनमा सन्तोष दिएन।

‘ज्यामी हुँदै मिस्त्री भएँ। तर ठेकेदारको बदमासीले त्यो काम पनि छोडिदिएँ,’ उनी भन्छन्, ‘गरिब परिवारको मान्छे। जेठी छोरी तीन सालकी हुँदी हो। दसैंको बेलामा समेत ठेकेदारले पैसा दिएन। दसैं मनाउन पाइएन। अनि मन मर्यो त्यो कामसँग।’

घलेले पेसा परिर्वतन गरिरहँदा उनकी श्रीमतीको भने पुरानै पेसा थियो। घर बदलिन्थे, स्थान बदलिन्थे तर उनीहरुको काम अन्तिमसम्म नै बदलिएन। उनकी श्रीमतीले धनीका घरलाई सजाइनै राखिन्। धनी भान्सामा मिठामिठा परिकार पकाइरहिन्।

‘श्रीमतीले हाउसमेडको काम गरिरहिन्। मेरो कमाइले गुजारा चलाउन गाह्रो थियो,’ उनी भन्छन्, ‘सहर आएपछि सन्तान जन्मिँदै गए। चार छोरी यही काठमाडौंमै जन्मिए।’

छोरीहरु सकुशल हुनु ठूलो सम्पत्ति ठान्छन् घले। छोरीहरुलाई राम्रो जीवन दिन घलेले ज्यामी काम छाडेर बालुवा उत्खनन् गर्ने काम गरे। १० वर्ष देशका विभिन्न ठाउँका बालुवा निकालेर बेचे।

‘बालुवा खन्न थालेपछि खान-लाउन त्यति दुःख भएन। तर छोरीहरु ठूला हुँदै थिए। उनीहरुलाई राम्रो पढ्न त त्यो कमाइले नधान्ने भयो,’ उनी भन्छन्, ‘उमेर पनि ४० कटिसकेको थियो। अनि हतारिँदै विदेशिएँ।’

विदेशमा पनि उनले लेबरकै काम गरे। नेपाल फर्किएपछि उनलाई ठूलै धर्मसंकट पैदा भयो। काम के गर्ने त? घलेले घर-सल्लाह गरे।  

वार्षिक ७२ हजारमा कोठा भाडामा जाँदो रहेछ। ६० हजारमा त वर्षभरिको लागि जग्गा नै भाडामा पाइने रहेछ। शरीरमा बल पनि घट्दै छ। श्रीमती पनि बिरामी भइन्। छोरीहरु विदेशिने धुनमा छन्।

घलेलाई जग्गा भाडामा लिएर छाप्रो हाल्छु, दुई वटा गाई पाल्छु, सकेको तरकारी फलाउँछु भन्ने सोचे। र, नेपाल फर्किएको तीन महिनापछि २०७६ माघबाट पाँच लाख लगानीमा काम सुरु गरे।

‘पाँच लाखमा बस्ने बास, गाई-गोठ, इनार, टनेल सबै बन्यो,’ उनी सुनाउँछन्, ‘गाउँघरमा गरिरहेकै काम हो। पोहोरको लकडाउनमा तरकारीबाट निकै घाटा भयो। तर दूधले परिवार चलायो।’

घलेको अहिले परिवार तरिकारी बेच्छ, दूध बेच्छ र गाँस किन्छ। बिरामी श्रीमतीका लागि औषधि किन्छ। छोरीहरुको सपना किन्न तल्लिन छ।

‘श्रीमतीलाई पायल्स थियो। जडिबुटीले निको हुन्छ भनेर निकै कोशिस गरियो। न्युरोड, असन र रत्नपार्कका जडिबुटी चलाइयो। टिचिङ अस्तपलाका डाक्टरले पनि निको हुन्छ मात्र भने,’ उनी दुखेसो पोख्छन्, ‘पाँच वर्षअघि अप्रेसन गर्नुपर्यो। अहिले दिसा गर्ने झोला सँगै बोकेर हिँड्नुपर्छ। समयमै अस्पताल लाँदा पनि डाक्टरको हेलचेक्र्याइँले श्रीमती बिमार भइन्। त्यसपछि उनले हाउसमेडको काम छोडिन्।’

०००
‘अब विदेश जाँउ भने न शरीरले दिन्छ न बलले,’ उनी भन्छन्, ‘महिनामा तरकारी र दूधले एक लाखभन्दा बढी कमाइ हुन्छ। तर समस्या, पैसा बच्दैन।’

घले अब पाँच वर्ष सहरमा दुःख गर्ने सोचमा छन्। २५ वर्ष गाउँदेखि टाढा रहेका उनले मलेसियामा हुँदा नै बारपाकको तल्लो बजार बालुवामा २० हात जग्गा किनेका थिए। उनी त्यही जग्गामा बुढ्यौली बिसाउन जाने मनसयामा छन्। तर समाज र आफन्तको चालाले भने उनलाई अरु नै विकल्प खोज्नेकी भन्ने पनि लाग्दो रहेछ मनमा।

‘यत्रो दुःख किन गर्छस्। छोरो छैन भन्छन्, चिनेजानेका मान्छे। आफन्त अपुताली खान पाइन्छ भनेर मख्ख छन्,’ उनी भन्छन्, ‘छोरीहरु अब आ-आफ्नो रहरमा उडिहाल्छन्। जताजता गए पनि उनीहरुले आफ्नो धर्म बिर्संदैनन्। छोरा भने पनि छोरी भने पनि तिमीहरु हौं। हाम्रो सेखापछि सम्पत्ति चार दिदीबहिनी बराबर बाँडेर खाओ भनेको छु।’

घलेलाई उनका ग्राहकहरुले पनि छोरो नभएकाले धेरै दुःख नगर्न भन्छन् रे। तर उनको मनले नमान्ने रहेछ।

‘ग्राहकले पनि छोरो छैन के दुःख गरिरहेको भन्छन्। हेर्दा त तिनीहरु पढेलेखेका जस्ता नै देखिन्छन्। तर बुझेका मान्छे कम हुँदारहेछन्,’ घले भन्छन्, ‘मैले छोरीहरुलाई छोरो बनाएर हुर्काएको छु। गिरिजाकी छोरीले आँट गरिनन्। उपेन्द्र डाक्टरका छोरीले आँट गरेर बाबुको किरिया बसे। पिर छैन। मेरा छोरीहरुले पनि गर्छन् मेरो किरिया।’

३१ जेठ, २०७८, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।