अब सिधै राउटे बस्तीमा पुगेर राहत दिन नपाइने

अब सिधै राउटे बस्तीमा पुगेर राहत दिन नपाइने

सुर्खेत : राहतको नाममा राउटे बस्तीमा गएकाहरूले दुर्व्यवहार लगायतका गतिविधि गर्न थालेपछि स्थानीय प्रशासनले सिधै राहत बाँड्न रोक लगाएको छ।

राउते बस्तीमा बाहिरी व्यक्तिको चल पहल बढेसँगै भिडियो खिचेर दुरुपयोग गर्ने र महिलालाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहत वितरणमा रोक लगाउँदै कसैले सहयोग गर्न चाहेमा राहतलाई एकद्वारा प्रणालीमार्फत वितरण गर्नुपर्ने निर्णय गरेको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतका अनुसार  कोरोना भाइरस सङ्क्रमणसँगै राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई हेरेर राउटे बस्तीमा प्रवेश गरेर राहत वितरण गर्ने  काममा पूर्ण रोक लगाइएको हो।

‘समुदायका लागि प्राप्त हुने सबै प्रकारका नगद तथा जिन्सी सामाग्री एक द्धार प्रणालीबाट वितरण गरिने छ, आफूखुसी कसैले सिधै बस्तीमा गएर सहयोग र राहत दिन पाइने छैन,' उनले भने, ‘कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्नेछ।’ 

राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुर्व्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको महतले जानकारी दिए। 

महतका अनुसार दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ।

३१ जेठ, २०७८, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।