सिंहदरबारभित्रका कर्मचारीलाई सर्कुलर : भोलिदेखि उपस्थित हुनु 

सिंहदरबारभित्रका कर्मचारीलाई सर्कुलर : भोलिदेखि उपस्थित हुनु 

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणका कारण सरकारी कार्यालयहरू पूर्ण रूपमा सञ्चालन भएका छैनन्।

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण सिंहदरबार भित्रका मन्त्रालयमा सबै कर्मचारी उपस्थित हुने अवस्था नरहेका सम्बद्ध मन्त्रालयका कर्मचारी बताउँछन्। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत निर्मला कार्की घर नजिक भएका र आफ्नो सवारी साधन हुनेलाई भोलिदेखि मन्त्रालयमा हाजिर हुन प्रशासनले सर्कुलर गरेको बताउँछिन्। ‘अहिले त्यही २० प्रतिशत कर्मचारी उपस्थित छौँ,कार्कीले भनिन्,‘अहिले आलोपालो गरेर आइरहेका छौ।’ 

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले आज राती १२ बजेदेखि असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ। खुकुलो गर्ने भनिएको निषेधाज्ञामा खाद्यान्नका पसल खुल्ने समय २ घण्टा बढाइएको  छ। किसानलाई लक्षित गरेर केही सहजीकरण गर्ने भनिए पनि सार्वजनिक यातायातका साधन चल्न पाउने छैनन्। 

सिंहदरबार भित्र काम गर्ने मात्र नभएर देशभरका अधिकांश सरकारी कार्यालयका कर्मचारीले आलोपालोमा अत्यावश्यक सेवा दिइरहेका छन्। कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले भोलिदेखि नै सबै कर्मचारी हाजिर हुन आउने अवस्था नरहेको बताए। ‘कोही कर्मचारी बिरामी भएका छन्, कोही कर्मचारी रेष्टमा छन्,’उनले उकेरासँग भने,‘सबै कर्मचारी आउँदैनन्।’ 

उनले मन्त्रालयका ७ वटा महाशाखा मध्ये एउटै महाशाखाका ४ ५ जना कर्मचारी बिरामी भएका बताउनु भयो। 

३१ जेठ, २०७८, १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।