प्रदेश १ : बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव 

प्रदेश १ : बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव 

इटहरी : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रदेश सभामा प्रस्ताव गरेका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरेका हुन्। 

प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री राईले बजेट पास गरेपछि नाममा छलफल गर्नुपर्ने बताए। सरकार गठन भए लगत्तै आर्थिक वर्ष २०७५÷७६ भित्र नाम र राजधानी टुङ्गो लगाउने बताएका मुख्यमन्त्री राईले अझैसम्म नामाङ्कनको विषय टुङ्ग्याउन सकेका छैनन्। प्रदेश सरकारले विभिन्न आन्दोलन र विरोधका बिच पनि केन्द्रीय नेतृत्वको दबाबमा बिराटनगरलाई नै प्रदेश राजधानी कायम गरेको हो। 

लामो समय देखि ओझेलमा पर्दै आएको नामाङ्कनको विषय पुनः सतहमा आएको छ। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै दबाब दिँदै आएको छ भने बाकी दलहरू यस विषयमा मौन छन्। मञ्चकी एक्ली सांसद विष्णु तुम्बाहाम्फे बारम्बार पहिचानमा आधारित नाम राख्न दबाब दिँदै आएकी छिन्। मञ्चका केन्द्रीय सचिव केदार उप्रेतीले पहिचान मेटाउने षड्यन्त्र भइरहेको भन्दै प्रदेशको नाममा पहिचान जोडिएन भने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

नीति कार्यक्रम र बजेट पास भएको भोलिपल्टबाट प्रदेश राजधानी र नामाङ्कनका विषयमा छलफल गर्नुपर्ने मुख्यमन्त्री राईको प्रस्ताव छ। असन्तुष्टहरूबाट सडक आन्दोलन हुन सक्ने भन्दै निषेधाज्ञाकै बिच नाम टुङ्गो लगाउने प्रदेश सरकारको योजना छ। 

आइतबार मुख्यमन्त्रीले जवाफ दिएपछि बहुमत सदस्यको ध्वनि मतले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। 

३१ जेठ, २०७८, ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।