कोरोना प्रतिरोध क्षमता पत्ता लगाउन १३ हजारमा एन्टिबडी परीक्षण हुँदै, वैधतामा विज्ञको शङ्का

कोरोना प्रतिरोध क्षमता पत्ता लगाउन १३ हजारमा एन्टिबडी परीक्षण हुँदै, वैधतामा विज्ञको शङ्का
एन्टीबडी परिक्षणको तस्बिर : एबिसीन्युज

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएर कति जनामा एन्टीबडी बन्यो भन्ने पहिल्याउन सोमबारबाट १३ हजार जनामा एन्टिबडी परीक्षण (सेरोप्रिभ्यालेन्स) का लागि नमुना सङ्कलन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमण भएर कति व्यक्तिमा एन्टिबडी बन्यो भन्ने जानकारीका लागि सात वटै प्रदेशमा करिब १३ हजारमा एन्टिबडी परीक्षण गर्ने तयारी गरिएको हो ।

प्रवक्ता डा. पौडेलले भने,‘देशै भरी करिब˗करिब ७ वटै प्रदेशको प्रतिनिधीमुलक नमुना संकलन गरेर करिब १३ हजारको (एन्टिबडी परीक्षण) गर्न खोजेका छौँ।’ 

नमुना सङ्कलनका लागि टोली फिल्डमा जाने तयारीमा रहेको उनले बताए। एन्टिबडी परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट नैतिक सहमति र तालिम लगायतको सबै तयारी पूरा भएको प्रवक्ता डा. पौडेलले उकेरालाई जानकारी दिए। 

प्रवक्ता डा. पौडेलले भने,‘अरू तयारी, स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल क्लियरेन्स लगायतका सबै कुरा भयो। सोमबारदेखि उहाँहरू कार्यक्षेत्रमा जानुहुन्छ, देश भरी।’ 

विभिन्न ठाउँमा पुगेर र्र्यान्डम विधिले देशभरिको जनसङ्ख्यालाई प्रतिनिधित्व हुने गरी एन्टिबडी परीक्षण गर्न लागिएको डा. पौडेलले बताए। उनले भने,‘देशभरिको प्रतिनिधित्व हुने गरी, कतै उच्च जोखिम भएका पालिका, नगरपालिका, महानगरपालिका पनि छन् भने कतै गाउँ  छन्। त्यसले सबैतिरको स्थितिले सालाखाला देशमा के छ त भन्ने थाहा हुन्छ।’

तर, सङ्ख्याको आधारमा यसको प्रभावकारितामाथि भने शङ्का उठेको छ। इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी १३ हजार नमुना परीक्षणले देशव्यापी जनसङ्ख्याको प्रतिनिधित्व हुन नसक्ने बताउँछन्। 

नमुनाको सङ्ख्या सानो भएकाले अध्ययनको वैधता भरपर्दो तथा आधिकारिकता नहुने डा. मरासिनीको मत छ।

उनले भने,‘त्यसको रिपोर्टको बैध र विश्वसनिय हुँदैन। यो (१३ हजार) नमुना एकदमै सानो भयो।’

तथ्याङ्क विभागले नेपाललाई १३ भागमा बाँडेकाले समग्र देशको प्रतिनिधित्व हुने गरी परीक्षण गर्ने हो भने १३ भागमा नै १०-१० हजार नमुना परीक्षण गर्नुपर्ने उनको राय छ। डा. मरासिनिले भने,‘१३ भागलाई लिने हो भने एउटा भागमा १०-१० हजारका दरले परीक्षण गर्नुपर्छ।’ 

कोरोना भाइरस सङ्क्रमण धेरै फैलिएकाले थोरै नमुनाले पुग्ने भए पनि १३ हजार निक्कै कम भएको उनले बताए। डा. मरासिनिले भने,‘जति जनसङ्ख्या धेरै भयो त्यति स्याम्पल साइज सानो हुन्छ। तर १३ हजार त धेरै सानो भयो। १३ हजारले पुग्दैन। कमसेकम १ लाख ३० हजार हुनुपर्छ।’  राष्ट्रव्यापी सर्भे भन्ने हो भने थोरै नमुना धेरै ठाउँमा गर्न नमिल्ने उनले बताए।

धेरै व्यक्ति सङ्क्रमित भइसकेकाले थोरै नमुना लिएर देश भरी परीक्षण गर्नुको अर्थ नभएको उनको तर्क छ। 

डा. मरासिनी १३ हजार नमुना परीक्षण गर्ने भए कुनै निश्चित क्षेत्र तथा सहरको गर्नु उचित हुने सुझाउँछन्। यो नमुनाले एउटा सहरको सर्भे गर्न मात्रै मिल्ने उनले बताए। 

उनले भने,‘सानो ठाउँमा गरेको भए हुन्थ्यो। बरु, काठमाडौँ अथवा विराटनगर, नेपालगन्ज जस्तो ठाउँमा गरेको भए हुन्थ्यो। कमसेकम त्यसको त भ्यालिडिटी र रिलायबिलिटीमा विश्वास गर्ने आधार हुन्थ्यो नि।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. वासुदेव पाण्डेको भने यसमा फरक मत छ। धेरै क्षेत्रमा १३ हजार नमुना परीक्षण गर्दा सर्वेक्षण अवैध नहुने उनले बताए।

१३ हजारमा परीक्षण गर्नु वृहत् परीक्षण नभई प्रतिनिधीमुलुक परीक्षण भएको उनले बताए। डा. पाण्डेले भने,‘१३ हजार भनेको मास टेस्ट हैन। प्रतिनिधिमूलक हिसाबले लिने हो। यो वैध हुँदैन भन्न मिल्दैन।’

०००

समुदाय स्तरमा कुन तहसम्म सङ्क्रमण फैलियो भन्ने थाहा पाउनका लागि एन्टिबडी परीक्षण आवश्यक हुने चिकित्सकको मत छ। एन्टिबडी परीक्षण गर्दा कुन तहसम्म सङ्क्रमण फैलियो भन्ने थाहा पाउनका लागि सङ्क्रमणको हटस्पट बनेर सङ्क्रमण ओरालो लागेको ठाउँलाई प्राथमिकता दिनु उचित हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनको सुझाव छ।

हट स्पट बनेर सङ्क्रमण ओरालो लागेको ठाउँमा एन्टिबडी परीक्षण गर्दा के कारणले सङ्क्रमण ओरालो लागेको हो भन्ने थाहा पाउन सहज हुने उनले बताए। 

‘ओरालो लागेको ठाउँमा परीक्षण गर्दा धेरै मान्छे सङ्क्रमित भएर सङ्क्रमण ओरालो लागेको हो की? निषेधाज्ञाको असर हो की? वा अरू कारणले हो भनेर छुट्टाउन सजिलो हुन्छ,’डा. पुनले भने,‘फैलिसकेको ठाउँमा परीक्षण गर्दा लकडाउन खुकुलो पार्ने कि नपार्ने? भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ।’

हट स्पट बनिसकेको ठाउँमा परीक्षण गर्दा धेरैमा एन्टिबडी देखिएको तथा खोप लगाइसकेको अवस्थामा लकडाउन खुकुलो गर्ने निर्णय लिन सहज हुने उनले बताए।

‘मानौँ काठमाडौँमा सय घरमध्ये ९५ घरमा सङ्क्रमण भइसकेको छ भने बाँकी कति रह्यो र? अधिकांश सङ्क्रमित भए भने एन्टिबडी हुन्छ,’डा. पुनले भने,‘ त्यसैले निषेधाज्ञा खोल्दा पनि हुनसक्छ। हामीलाई तुरुन्तै त्यही मान्छेलाई त्यही ठाउँमा सङ्क्रमित हुँदैन भन्ने थाहा छ।’ 

सङ्क्रमणको फैलिएर उच्च बिन्दुमा पुगेको अवस्थामा एन्टिजेन परीक्षण गर्नु जरुरी हुने तर सङ्क्रमण उच्च बिन्दुमा पुगेर ओरालो लागिरहेको ठाउँमा एन्टिबडी परीक्षणलाई प्राथमिकता दिनुपर्ने चिकित्सक बताउँछन्। 

चिकित्सकका अनुसार समुदायस्तरमा कोरोना भाइरस फैलिएको थियो की थिएन भन्ने पत्ता लगाउनका लागि एन्टिबडीको समूहमा परीक्षण आवश्यक हुने बताउँछन्।  तर, सानो समूहमा परीक्षण गरेर देशभरिको आङ्कलन गर्न मुस्किल पर्ने चिकित्सकको मत छ।  

डा. मरासिनीले भने,‘एन्टिबडी टेस्टले को-को कति प्रतिशत सङ्क्रमित भए भनेर हेर्ने हो। जनसङ्ख्याको कति प्रतिशत सङ्क्रमित भएको रहेछ भनेर हेर्ने हो।’

०००

प्रवक्ता डा. पौडेल हट स्पटमा धेरैमा एन्टिबडी देखिने भएकाले देश भरीको अवस्था थाहा पाउन धेरै ठाउँमा र्र्यान्डम विधिले परीक्षण गर्न लागिएको बताउँछन्। 

डा. पौडेलले भने,‘हटस्पटमा बडीमा एन्टिबायोटिक देखिन्छ, धेरै एक्सपोज भएकोमा एन्टबडी भनेको शरीरमा भाइरस प्रवेश गरेपछि शरीरले त्यो भाइरसको विरुद्ध बनाउने कुरा हो। त्यो भएर हट स्पटमा गरियो भने त त्यहाँ धेरै जनाको पोजेटिभ आउँछ। धेरैमा एन्टिबडी देखिन्छ।’ त्यसैले देश भरीको प्रतिनिधित्व हुने गरी धेरै ठाउँमा एन्टिबडी परीक्षण गरिने उनले बताए।

डा. पोखरेलले भने,‘एन्टिबडी परीक्षण दुई वटा कुरालाई भएको छ। एउटा सोधको प्रयोजनलाई। सेरो प्रिभ्यालेन्स के छ नेपालभरि भनेर अध्ययनका लागि गर्दैछौं। कति जना एक्सपोज हुनुभयो। कति जनामा भाइरस विरुद्ध सङ्क्रमण भएर एन्टिबडी डेपलप भो भनेर हेर्दैछौं।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि सोधका लागि एन्टिबडी परीक्षण भइरहेको उनले जानकारी दिए। डा. पौडेलले भने,‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भ्याक्सिन लगाएकाहरूको कतिको एन्टिबडी आयो भनेर हेर्ने त्यो पनि सोधको आधारमा मात्रै भएको छ।’ 

तर, बिमार पत्ता लगाउने उद्देश्यका लागि एन्टिबडी परीक्षण नभएको उनले बताए। प्रवक्ता डा. पौडेलले भने,‘डाइग्नोष्टि उद्देश्यमा भएको छैन। बिमार पत्ता लाग्ने हिसाबले एन्टिबडी अहिले प्रयोग गरेका छैनौँ। एन्टिजेन मात्रै गरेका छौँ।’

उनले एन्टीबडी परीक्षणका लागि नमुना सङ्कलन सोध उद्देश्यकै लागि गर्न लागिएको जनाकारी दिए।

मन्त्रालयले दोस्रो लहरको सङ्क्रमण बिस्तारै उत्कर्षबाट तल हुँदै गरेको देखिएको अवस्थामा एन्टिबडी परीक्षण गर्न लाग्नु ढिला भएको चिकित्सक बताउँछन्।

३-३ महिनामा एन्टिबडी परीक्षण गर्नु राम्रो हुने तर ढिलो भए पनि परीक्षण गर्नु सकारात्मक भएको पूर्व निर्देशक डा. पाण्डेको तर्क छ। उनले भने,‘गर्नु पर्ने पहिल्यै थियो, ढिलै भए पनि गर्न लागेछ। राम्रो लाग्यो।’

पहिलो लहरमा भदौताका ३१ सयमा एन्टिबडी नमुना परीक्षण गर्दा १४ प्रतिशतमा एन्टिबडी देखिएको डा. पाण्डेले जानकारी दिए। उनले भने,‘त्यति बेला १४ प्रतिशत जतिमा एन्टिबडी देखिएको थियो।’ त्यो अध्ययन गर्दा डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाको निर्देशक थिए।

एन्टिबडी परीक्षणले भविष्यमा योजना बनाउन सहज हुने चिकित्सक बताउँछन्। सङ्क्रमणको इतिहास, खोपलगायतको विषमा पनि प्रश्न सोधिने प्रवक्ता पौडेलले बताए। एन्टिबडी परीक्षणपश्चात् औसत कति नेपालीमा एन्टिबडी बन्यो भन्ने थाहा हुने उनले बताए। डा. पौडेलले भने,‘कतिमा एन्टिबडी देखियो भनेर सालाखाला नेपालीमा कति जनामा रोग प्रतिरोधात्मक क्षमता विकास भयो औसत भन्ने निकाल्छौँ।’

०००

शरीरमा राम्रो एन्टिबडी बनेको अवस्थामा त्यसले कोरोना भाइरस विरुद्ध लड्नका लागि खोपको काम गर्ने चिकित्सकको मत छ।  

चिकित्सकका अनुसार कोरोना भाइरस सङ्क्रमण भएको शरीरमा कोरोनाविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ। 

करिब एक हप्तादेखि एन्टिबडी बन्ने र ६ महिनासम्म रहन सक्ने चिकित्सक बताउँछन्। एसरी हेर्दा एक पटक कोरोना भाइरस सङ्क्रमण भइसकेपछि करिब ६ महिना सम्म सङ्क्रमणले प्रभाव पार्ने जोखिम कम हुने चिकित्सक बताउँछन्। 

तर, जसको एन्टिबडी बनेको छैन त्यस्तो व्यक्तिमा सङ्क्रमणको जोखिम हुन्छ। प्रवक्ता डा. पौडेलले भने, ‘जसको एन्टिबडी भएको छैन त्यो समूह जोखिममा भयो। एन्टिबडी भएको व्यक्तिसँग त रोग विरुद्ध केही प्रतिरोध भयो। खोपले पनि त्यही एन्टिबडी बनाउने हो। ’

एन्टिबडी परीक्षणले सम्भावित तेस्रो लहरमा पनि कति प्रतिशत जनसङ्ख्या जोखिममा हुन्छन् भन्ने पनि पत्ता लगाउन सकिने डा. पौडेलले बताए। कुन स्थान, कुन उमेर समूह, कुन लिङ्गमा कति एन्टिबडी देखियो भन्ने थाहा पाउन सजिलो हुने भएकाले एन्टिबडी परीक्षण गर्न लागिएको उनले बताए।

त्यसै गरी उमेर, पेसा, क्षेत्र लगायतलाई खोपको प्राथमिकता निर्धारण गर्नका लागि पनि एन्टिबडी परीक्षणले सहज हुने उनले बताए। 

एन्टिबडी बनेको व्यक्तिमा रूप परिवर्तन(नयाँ भेरियन्ट) भएको भाइरस सङ्क्रमण भैहालेपनि केही हदसम्म भए पनि सुरक्षित हुने चिकित्सक बताउँछन्। त्यसैले कति प्रतिशतलाई सङ्क्रमण भयो भन्ने थाहा पाउन अध्ययन गर्न लागिएको मन्त्रालयले जनाएको छ।  

डा. पाण्डेले धेरैलाई एन्टिबडी बनेको रहेछ भने धेरैलाई खोप दिन नपर्ने पनि हुनसक्ने बताए। उनले भने,‘एन्टिबडी बनेकोलाई अलिपछि खोप लगाउँदा भयो। हेर्दै जाने घटेपछि लगाउने।’ एन्टबडी बने नबनेको पोजेटिभ वा नेगेटिभ मात्रै नभई कति मात्रामा एन्टिबडी बनेको छ भन्ने पनि अध्ययन गर्नुपर्ने उनले बताए।

सङ्क्रमित भएको व्यक्तिमा ३ देखि ६ महिनासम्म एन्टिबडी कायम रहन सक्ने भएकाले सङ्क्रमण भएका खोपकै काम गर्ने चिकित्सकको मत छ। सङ्क्रमित भएर बनेको एन्टिबडी बढी प्रभावकारी की खोप लगाएको व्यक्तिको प्रभावकारी एन्टिबडी बन्छ भन्ने सवालमा एकिन रूपमा भनिहाल्न हतार हुने डा. पुन बताउँछन्। 

३० जेठ, २०७८, २३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।