प्रदेशलाई उच्च अदालतबाट राहत:  चलचित्र राम्रो या नराम्रो भन्नु चरित्र हत्या हैन

प्रदेशलाई उच्च अदालतबाट राहत:  चलचित्र राम्रो या नराम्रो भन्नु चरित्र हत्या हैन

काठमाडौँ :  युट्युबमा व्यङ्ग्यात्मक शैलीमा चलचित्र समीक्षा गरेकै आधारमा विद्धुतिय कारोबार एन अनुसार मुद्दा खेप्न बाध्य भएका प्रनेश गौतमले उच्च अदालत पाटनबाट सफाइ पाएका छन्। उनले जिल्ला अदालत काठमाडौँबाट यस अगाडि नै सफाइ पाए पनि सरकारी पक्ष पुन पुनरावेदनमा गएका थिए।

पुनरावेदन अदालत पाटनले जिल्ला अदालतकै फैसला सदर गर्दै ' प्रत्यर्थी प्रतिवादीको समीक्षाको प्रस्तुतिको विषय जाहेरवालाद्वारा निर्मित चलचित्रको विषयमा आफूले चलचित्र हेरी सो को आधारमा समीक्षा गरी चलचित्रको यो यो पक्ष राम्रो रहेको र यो यो पक्ष नराम्रो रहेको भनी गरिएको समीक्षाले जाहेरवाला लगायत कसैको चरित्र हत्या गरेको भन्न मिल्ने नदेखिने फैसला गरेको छ।

उच्च अदालतले 'जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समीक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामाग्री प्रकाशित गरेको पनि देखिँदैन र व्यापारिक घाटा भन्ने करा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसुर को विषय हुन सक्ने समेत देखिँदैन'  भनेको छ।

प्रनेशले युट्युब च्यानलमा विक्रम २ फिल्मको व्यङ्ग्यात्मक समीक्षा गरेको भिडियो राखेपछि फिल्मका निर्देशक मिलन चाम्सले चरित्र हत्या गरेको, समीक्षाले फिल्मको व्यापारमा नकारात्मक असर पारेको दाबी गर्दै उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दर्ता गराएका थिए। चाम्सले प्रनेशसँग एक करोड क्षतिपूर्तिको दाबी गरेका थिए। सो आरोपमा प्रनेश पक्राउ समेत परेका थिए।

उच्च अदालतबाट उनले न्याय पाए पनि यदि सरकारी पक्षले सो फैसलामा चित्त नबुझाए सर्वोच्च अदालतमा पुनरावेदनमा जान सक्नेछन्। यसको म्याद फैसला आएको ३५ दिन हुन्छ।

३० जेठ, २०७८, २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।