मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

काठमाडौँ : कसैलाई धम्क्याए, कसलाई थर्काए वा प्रहरीले पक्राउ गर्दा उनी समाचारका विषय बन्थे राजीव गुरुङ उर्फ दीपक मनाङे। प्रथम पृष्ठ विरलै पाउँथे उनले। राजनीतिमा प्रवेश गरेपछि समाचारको स्थान मात्रै हैन भूमिका पनि बदलिएको छ उनको।

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले हुँदै स्वतन्त्र सांसद बनेका उनले प्रदेश सांसदको शपथै बढो कठिनसाथ खान पाएका थिए। एमालेको साथ पाउँदा प्रदेश सांसद बनेका उनले आफ्नो क्षेत्र मनाङको विकासबारे यसो युट्युबतिर अन्तर्वार्ता दिएर समय कटाइरहेका थिए। जब नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भए उनको मन्त्रीको यात्रा मात्र सुरु भएन गण्डकीमा कसको सरकार बनाउने, कसको ढाल्ने भन्ने निर्णायक नै बने।

आपराधिक यात्रामा सक्रिय रहँदा जति चर्चामा हुन्थे राजनीतिमा हाम फालेपछि चर्चामा दुई गुणा वृद्धि भयो। मन्त्री पद त उनका लागि ठमेलका बारमा चुस्की लगाउने गिलासको मदिरा भन्दा सहज बनिदियो।

मनाङे कति भाग्यमानी भए भने समाज रूपान्तरणका लागि सशस्त्र सङ्घर्षको नेतृत्व गर्दै अहिले गैर कम्युनिस्ट बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई उनको राजनीतिक यात्राको पक्षमा उभिएका छन्। हिजो ठमेल क्षेत्रलाई आधार बनाएर उठ्तिपुठ्तीको व्यवसाय अपनाएर चर्चामा आएका मनाङेको मुहारमा डा बाबुरामले वाल्मीकि ऋषिको छाया देख्न थालेका छन्।

जब मनाङे सहित बाबुरामको समर्थन रहेको जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह, र जनमोर्चाको समर्थनमा  नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्यो बाबुरामले मनाङेसँग खिचेको तस्बिर फेसबुकको आफ्नो पेजमा सेयर गर्दै लामै प्रशंसा लेखे' रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौँ। राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने? किन पूर्वाग्रह राख्ने?'

भट्टराईले मनाङेबारे आफ्नो फेसबुक पेजमा लेखेका छन् : 

राजीव गुरूंग ( दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यस क्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।

मेरो सु विचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातीय/लैङ्गिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतः अपराध/अपराधी एक सापेक्ष अवधारणा हो।

मैले २०५९/०६० सालको दोस्रो बार्ता कालमा देशका विभिन्न जेल/बन्दी गृहको भ्रमण गरेपछि भनेको थिए: नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफू प्रम छदा मैले जेल सुधार निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन।

रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौँ। त्यसैले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने? किन पूर्वाग्रह राख्ने?

उनले आफ्नो टिप्पणीमा ' कुनै पनि मान्छे जन्मजात अपराधी नहुने' तर्क गरेका छन्। समाज/राज्यले मान्छेलाई अपराधी बनाउने साथै वर्गीय/जातीय/लैङ्गिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्ने उनको तर्क छ।

तर यो अवधारणामा मनाङे कतै फिट हुने देखिन्न। उनी जनजाति समुदायका सदस्य भए पनि उत्पीडित वा बहिष्कृत परिवारका हैनन्। मनाङ उनको पुर्खौली थलो भए पनि मनाङका राजीवले दीपक मनाङे बनेको ठमेल क्षेत्रको धोवीचौर क्षेत्रबाट हो।

झिटीगुन्टा तस्करीबाट सुरु भएको उनको अपराध यात्रा ठमेल क्षेत्रको रात्रिकालीन व्यवसाय, ढुंगागिटी हुँदै ठेक्कापट्टामार्फत सांसद हुँदासम्म उनी उत्पीडित र बहिष्कृत भएको कानुनबाट मात्रै हो। बाबुरामले उनलाई यही दृष्टिकोणबाट हेरेको भए यसको परिभाषा उनी नै जानुन्।

उनको आपराधिक इतिहासले उनलाई कसैले जवर्जस्ती अपराधी करार गराएको भन्दा पनि अपराधलाई व्यवसाय बनाएको देखिन्छ। उनको हकमा अपराध बाध्यता हैन व्यवसाय थियो।

ओली र गच्छदारकै लाइनमा भट्टराई

कुनै समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि आफू निकट गुन्डा नाइकेहरूलाई वाल्मीकि नै देख्थे। गैडाको खाग तस्करीमा पक्राउ पर्दा समेत उनका दृष्टिमा वाल्मीकि बनिसकेका आफ्ना चेलालाई प्रहरीले जवर्जस्ती रत्नाकर बनाउने प्रयास गरेझैँ लाग्थ्यो।

दिनेश अधिकारी चरी हुन् या रमेश पौडेल उनी खुल्ला उनीहरूको पक्षमा उभिन्थे। चरी प्रहरी इन्काउन्टरमा मारिए। बाहुन भनिने पौडेल इन्काउन्टर योजनाबाट जोगिएर केन्द्रीय कारागार पुगे। चरीको सङ्गतले अपराधको हल्का प्रशिक्षण पाएका एन महर अहिले ओली समूहको विद्यार्थी सङ्गठनको  कमान्डर छन्।

गुन्डाको मुहारमा वाल्मीकि देख्ने अर्का नेता हुन् विजयकुमार गच्छदार। उनी कुनै समय मनाङेकै चेला रहेका गणेश लामाको मुहारमा वाल्मीकि देख्थे। नेपाली काँग्रेसमै रहँदा लामासँग बाक्लो उठबस रहेका उनले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नेताहूँदा उनले लामालाई केन्द्रीय सदस्य बनाएर राजनीतिमा प्रवेश गराएका थिए।

उनी गृहमन्त्री हुँदा मन्त्रालयमै लामाको बाक्लै चहलपहल हुन थालेपछि आलोचना हुँदा उनले अहिले बाबुरामले गरेको तर्क झैँ रत्नाकर डाँकु वाल्मीकि भएझैँ आफूले लामालाई पनि वाल्मीकि बनाइसकेको तर्क गरेका थिए। गच्छदार काँग्रेसमा फर्किएसँगै लामा पनि काँग्रेसमा समाहित भएर अहिले काभ्रेमा काँग्रेसको कमान्ड सम्हालिरहेका छन्। प्रदेश निर्वाचनमा उम्मेदवार बनेका उनी मनाङेझैँ भाग्यमानी भएनन् र पराजित भए। नत्र गण्डकी प्रदेशमा लोकतन्त्र जोगाउन मनाङे सक्रिय भएझैँ लामा पनि बागमती प्रदेशमा अहिले लोकतन्त्रको अभ्यास गरिरहेका हुन्थे।

इन्काउन्टर नीतिले बदलेको बाटो

तस्बिर : नेपालआज

गुन्डा नाइकेहरूलाई रत्नाकरको भूमिकाबाट वाल्मीकि बन्ने यात्रा तय गर्ने प्रेरणा प्रहरीले नै दिएको हो। सङ्गठित अपराधमा संलग्नहरू जब नेताको संरक्षणमा पुगे प्रहरीले कडा नीति लिँदै कानुनको छिद्रको उपयोग गर्ने रणनीति लियो।

पहिलो टार्गेट बनेका थिए एमालेका सक्रिय युवा नेता रमेश बाहुनबाट। भारतमा लुकेर बसेका उनी प्रहरीको नियन्त्रणमा आएका पनि थिए। तर उनको भाग्य बलियो हुँदा उनी जोगिए। उनको काल दिनेश अधिकारी चरीमा सर्यो र रणनीति चरीमा कार्यान्वयन भयो।

'प्रहरी मुठभेड' मा चरी ढलेपछि सङ्गठित अपराधमा संलग्नहरू भूमिगत भएर ध्यानमा लागे। मनाङेकै परिभाषामा गुन्डालाई खतरा प्रहरीबाट हो। प्रहरीलाई खतरा नेता अनि नेतालाई खतरा गुन्डा।

योबारे जानकार रहेका लामा, मनाङे कुमार श्रेष्ठ लगायतकाहरु प्रहरीका लागि खतरा हुने नेताको संरक्षणको खोजीमा सक्रिय भए। लामाले गच्छदारको साथ पाए। कुमार काँग्रेसका नेताको संरक्षणमा गए। तर मनाङेले बलियो राजनीतिक साथ पाइरहेका थिएनन्।

जिल्ला तहको काँग्रेसी नेताहरूको साथ पाउँदापाउँदै कुमार श्रेष्ठ उर्फ घैँटे इन्काउन्टर नीतिबाट जोगिन सकेनन्। उनी नयाँ बजारमा ढले।

जोगिन गच्छदारको साथले मात्र जोगिन नसकिने बुझेपछि लामा अर्थ परिचालनमा सक्रिय भए। तेस्रो लिस्टमा भए पनि उनी जोगिन सफल भए। सक्रिय अपराधबाट टाढिँदै गएका मनाङे लिस्टमा चढ्नु अगाडि नै राष्ट्रिय प्रजातन्त्र पार्टीको संरक्षणमा गए। राप्रपाबाट एमाले हुँदै स्वतन्त्र उम्मेदवारको हैसियतमा प्रदेश सांसद भए भने प्रहरीको नेतृत्व बदलिएसँगै इन्काउन्टर नीति पनि ओझेलमा पर्यो। मनाङे र लामाको भूमिगत ध्यानले काम गर्यो। उनीहरू रत्नाकरबाट वाल्मीकिको यात्रामा लाग्न भ्याए।

प्रदेश सांसद भएपछि पनि चक्रे मिलनको हत्या प्रयासको अपराधमा अदालतले तोकेको सजाय अनुसार कैद सजाय भुक्तान नगरेको खुलेपछि मनाङे पुन भूमिगत हुन बाध्य भएका थिए २०७४ माघ २ पछि।

चक्रे मिलनको हत्या प्रयासको मुद्दामा २०६९ मै तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाए पनि फैसला गुपचुप राखेको खुलेपछि उनको खोजी भएको थियो। उनी भागेर भारत पुगेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न रेड कर्नरै जारी गराएको थियो।

उनी स्वयम्भूमा पक्राउ पनि परे। सर्वोच्चमा मुद्दाको पुनरावेदन परेपछि हिरासत बाहिरैबाट पैरवी गर्ने सुविधा पाएर कारागारमुक्त भएपछि उनलाई पृथ्वी सुब्बा गुरुङले नै शपथ खुवाएर माननीयको यात्रा पक्का गराइदिएका थिए। माननीय भएपछि पनि कुटपिटमा कास्कीमै पक्राउ परेर रिहा भएका थिए।

अपराधबाट कुस्त अर्थोपार्जन भएपछि संरक्षणका लागि राजनीतिमा लाग्ने प्रक्रिया नेपालमा मात्र हैन अन्त पनि चल्छ। यसका लागि उनीहरूले प्रयोग गर्ने शक्ति आर्थिक नै हो। सङ्गठित अपराधको अन्तिम चरणमा प्रवेश गरेपछि अपराधमा सक्रियहरू कोही व्यापारीको आवरणमा उदाउँछन्, कोही नेताको रूपमा।

व्यापारी बन्दा कालो धन धुल्याइने मौका पाए पनि संरक्षण त्यति बलियो हुन्न। बलियो संरक्षण पाउन सक्ने छाता त राजनीति नै हो। प्रभावशाली दलको प्रभावशाली पद पाएमा सुरक्षा निकायले गुन्डाको व्यवहार गर्ने हतपत हिम्मत गर्दैनन्। लामा निर्माण व्यवसायी मात्र बनेर बसेको भए यो बिचमा उनी पक्राउ परेका समाचार आइनै रहन्थे। अहिले उनको टाउको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको हात छ त्यसैले साजन महर्जन अनि बाघे लामाहरूलाई जति थ्रेट छ लामालाई छैन।

मनाङे त  माननीयनुहुँदै मन्त्री नै बनेर प्रदेश डिआइजीको स्यालुट खाने हैसियतमा पुगिसकेका छन्।

वाल्मिकी नै भए भने त ठिकै हो। नत्र अपराधलाई राजनीतिको आवरणले सधै जोगाइरहन कहाँ सक्छ र। त्यसो हुनेथियो भने राप्रपाका त्यति प्रभावशाली नेता अनि प्रदेश हैन केन्द्रकै मन्त्री बनेका मिर्जा दिलसाद बेग सिफलमा त्यसरी किन मारिन्थे होला र!

बाबुराम अनि गच्छदारका 'वाल्मीकि'को अहिले चकाचक छ। हेरौँ भविष्यमा 'रामायण' लेखिन्छ या 'ओपन सेक्रेट'!

३० जेठ, २०७८, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।