४४ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

४४ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं : देशका ४४ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, कैलाली, धनुषा, दाङ, सिन्धुपाल्चोक र झापामा संक्रमण दर बढी छ। 

काठमाडौंमा १२.६ प्रतिशत, ललितपुरमा ५.३ प्रतिशत, रुपन्देहीमा ३.९ प्रतिशत, मोरङमा ३.८ प्रतिशत, भक्तपुरमा ३.७ प्रतिशत, कैलालीमा ३.२ प्रतिशत, धनुषामा २.८ प्रतिशत, दाङमा २.८ प्रतिशत, सिन्धुपाल्चोकमा २.७ र झापामा २.७ प्रतिशत संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ।  

कुल संक्रमितमध्ये आरटी पिसिआर विधिबाट नमुना परीक्षण गर्नेकाे संक्रमण दर १८.९ प्रतिशत छ।

पछिल्लो १४ दिनमा प्रदेश १ का उदयपुर, पाँचथर, तेह्रथुममा सक्रिय संक्रमित बढेको मन्त्रालयले जनाएको छ। 

उक्त अवधिमा गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशकाे रोल्पा, कर्णाली प्रदेशकाे हुम्ला, जुम्ला, दैलेख र रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशकाे डोटीमा सक्रिय संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर ८ हजार ४ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ।

उक्त अवधिमा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन्।

३० जेठ, २०७८, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।