गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त 

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त 

काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी अर्यालले जानकारी दिए।

यसअघि हिजो दिउँसो प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समय दिएकी थिइन्। 

त्यसपकछि हिजै साँझ विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

त्यसपछि कामचलाउ सरकारका मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि आज प्रदेश प्रमुख पाैडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमाेर्चाका कृष्ण थापाको समर्थन रहेकाले आफ्नाे बहुमत रहेकाे उनकाे दाबी थियाे। 

तिनै मुख्यमन्त्रीले हिजाे प्रदेशसभाबाट विश्वासकाे मत पाउन सकेका थिएनन्। उनकाे पक्षमा २७ मत खस्दा विपक्षमा ३० मत परेकाे थियाे।

मुख्यमन्त्रीले दाबी पेस गरेपछि विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।

अब नवनियुक्त मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ। 

२९ जेठ, २०७८, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।