आवेगमा दिएको अभिव्यक्ति फिर्ता लिन्छु : प्रदेश सांसद वैद्य, संसद्को रेकर्डबाट हटाउन निर्देशन 

आवेगमा दिएको अभिव्यक्ति फिर्ता लिन्छु : प्रदेश सांसद वैद्य, संसद्को रेकर्डबाट हटाउन निर्देशन 

काठमाडौं : बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। प्रदेश सभामा स्पष्टीकरण दिन समय लिएर उनले हिजो शुक्रवार बोलेको अभिव्यक्ति फिर्ता लिएका हुन्। 

संविधानको धारा १८७ बमोजिम सार्वभौम संसद्मा दिल खोलेर बोल्ने क्रममा आवेगमा आएर आवश्यकता भन्दा बढी बोलेको महसुस गर्दै आफ्नो भनाई फिर्ता लिएको वैद्यले प्रदेश सभा बैठकमा बताए।

संविधानको धारा १८७ मा 'प्रदेश सभामा पूर्ण वाकस्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन' भनिएको छ। वैद्यले संविधानको यही धारा उल्लेख गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताए। 

सभामुखसँग समय लिएर बोलेका प्रदेश सांसद वैद्यले सत्ता बचाउन जुनसुकै सम्झौता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आवेगमा आएर आवश्यकता भन्दा बढी नै बोलेको पछि आफूलाई महसुस भएको बताए। उनले आफ्नो भनाई संसदीय मर्यादा विपरीत भएकोले रेकर्डबाट हटाउन अनुरोध समेत गरे। 

‘दिल खोलेर आफ्नो भनाई राखे। प्रधानमन्त्रीसँग मेरो कुनै व्यक्तिगत रिसिइवी छैन,’उनले भने, ‘सत्ता बचाउन जस्तोसुकै सम्झौता भएको देखेर आवेगमा बोलेको कुरामा आत्मालोचना गर्दै फिर्ता लिन्छु।’ 

वैद्यले रोष्टममा उभिएर आफ्नो अभिव्यक्ति फिर्ता लिएकाले सभामुख सानु कुमार श्रेष्ठले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। 

नेपाली काँग्रेसले विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिएको थियो। वैद्यले आफू महात्मा गान्धीको अहिंसालाई मान्ने भन्दै बचनले पनि हिंसा नहोस् भन्ने चाहना राखेको बताए। 

२९ जेठ, २०७८, १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।