गोड्से बन्ने वैद्यको बोली संसदको रेकर्डमा नबस्ने

गोड्से बन्ने वैद्यको बोली संसदको रेकर्डमा नबस्ने

काठमाडौं : बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने भएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा वैद्यले  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै उनीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। 

वैद्यको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि प्रदेश सभा सचिवालयले उनको अभिव्यक्ति रेकर्डबाट हटाउने भएको हो। बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अहिले प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारुढ दलका नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने बताए। ‘उहाँको पार्टीले नै आत्मालोचना गरेर फिर्ता लिन निर्देशन दिइसकेको छ,’ सभामुख श्रेष्ठले उकेरासँग भने,‘विवादास्पद अभिव्यक्तिको विषयमा मैले दलहरूलाई छलफलका लागि बोलाएको छु।’ 

नेपाली काँग्रेस प्रदेश सभाका सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्ने विषयमा छलफल गरिरहेको बताएका छन्। नेपाली काँग्रेसले विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएपछि वैद्यले पार्टीमा छलफल गरिरहेको बताए। ‘म अहिले यही विषयमा पार्टीसँग छलफल गरिरहेको छु,’ वैद्यले उकेरासँग भने,‘छलफलपछि प्रतिक्रिया सार्वजनिक गर्छु।’ 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बाग्मती प्रदेश सभा सदस्य वैद्यले शुक्रबारको प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताएका छन्। 

प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न वैद्यलाई  सचेत समेत गराइएको विज्ञप्तिमा लेखिएको छ।

सभामुखले किन रोकेनन्? 

प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद नरोत्तम वैद्यले बोल्दा सभामुख सानु कुमार श्रेष्ठले उपसभामुख राधिका तामाङलाई सिट हस्तान्तरण गरेका थिए। सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने नियम अनुसार नै आफूले सिट चेन्ज गरेको सभामुख श्रेष्ठले बताए। ‘सभामुखको सिट चेन्ज भएको थियो,’उनले भने,‘मैले पछि थाहा पाए।’ संसदीय पद्धति अभ्यास विपरीतको अभिव्यक्तिमा सत्तापक्षले त्यतिवेला नियमापत्ति नजनाउँदा रुलिङ नभएको उनले बताए। 

विवादास्पद अभिव्यक्ति दिने वैद्यलाई कारबाही गर्न सत्तारुढ दलले प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएको छ। सत्तारुढ दलले निवेदन दर्ता गराएको र वैद्यकै दलले फिर्ता लिन भनिसकेको भन्दै सभामुख श्रेष्ठले विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हट्ने बताए। 

उपसभामुख राधिका तामाङले बैठकमा विवादास्पद अभिव्यक्ति नदिन वैद्य संकेत गरेपनि वैद्य नरोकिएको बताइन। ‘कोही सांसदले नियमापत्ति जनाएनन्। उहाँ बोलिरहनु भयो’ उपसभामुख तामाङले उकेरासँग भनिन्,‘मैले रोकिन संकेत गरेको थिए। उहाँ (वैद्य) सभामुख तर्फ नहेरी बोलिरहनु भयो।’ कसैले पनि नियमापत्ति नजनाएकाले आफूले रुलिङ नगरेको उनले बताइन। उनले यसअघि पनि सांसद नारायण सिलवालले बोलेको श्रद्धाञ्जली शब्द नियमापत्ति जनाएपछि रेकर्डबाट हटाइएको बताइन्। उनले वैद्यको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्ने बताइन। 

२९ जेठ, २०७८, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।