लुम्बिनीका मुख्यमन्त्री पोखरेलको आरोप– माओवादी केन्द्रका कारण प्रदेश सरकार विवादमा आयाे

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको आरोप– माओवादी केन्द्रका कारण प्रदेश सरकार विवादमा आयाे

बुटवल : लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका कारण प्रदेश सरकार विवादमा आएको बताएका छन्। 

लुम्बिनी प्रदेशसभामा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  माओवादी केन्द्र सरकारबाट हटेको र अविश्वासको प्रस्ताव दर्ता गरेकाले प्रदेश सरकार विवादमा आएको उनकाे आराेप छ। 

उनले संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार गठन गरेको र यसले प्रदेशसभा सदस्यको टाउको नगन्ने बताए। 

उनले प्रदेशमा ३३.३५ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिए। यस्तै, दोस्रो चौमासिकमा २ सय २३ किलोमिटर सडक विस्तार, ६४ किलोमिटर कालोपत्रको तयारी, ८१ किलोमिटर सडक कालोपत्रे, ५ सय ४४ पक्की कल्भर्ट निर्माण, ४ सय २८ ढलान गरेर सडक निर्माण, आठ पुल निर्माण, तीन झोलुङ्गे पुललगायतका काम भएको सदनलाई जानकारी दिए। 

प्रदेश सरकारले वैशाखसम्ममा ५० प्रतिशत हाराहारीको बजेट खर्च गरेको उनले जानकारी दिए। 

प्रदेशको स्थायी राजधानी तथा नामकरण घोषणा भएपछि नमुना प्रदेशका रूपमा स्थापित गर्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पोखरेलको भनाई छ। 

उनले भने, ‘६२ भन्दा बढी कानुन निर्माण गरेर व्यवस्थित गरेका छौं। हामी अब २० वर्षीय दीर्घकालीन योजना बनाएर अघि बढ्छौं। हामीले डिजिटल प्रदेश र विद्युतीय सुशासन कायम गर्ने तयारी गरेका छौं।’

२८ जेठ, २०७८, २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।