राउटे प्रकरणमा सुर्खेत अदालतको कडा आदेश : पीडितको पहिचान खुल्ने सामाग्री सञ्जालमा राख्ने प्रयोगकर्तालाई कारबाही गर्नु

राउटे प्रकरणमा सुर्खेत अदालतको कडा आदेश : पीडितको पहिचान खुल्ने सामाग्री सञ्जालमा राख्ने प्रयोगकर्तालाई कारबाही गर्नु

काठमाडौँ : जिल्ला अदालत सुर्खेतले पीडित २ राउते युवतीको पहिचान खुल्ने गरी सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा आएका सामाग्री तत्काल हटाउन र नहटाए कारबाही गर्न आदेश दिएको छ।

बलात्कार प्रयासको घटनाका पीडितहरुको पहिचान गोप्य राख्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पीडितको पहिचान खुल्ने गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भिडियो राखिएको छ।

जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रवार 'सामाजिक सञ्जाल, युट्युब समेतमा पीडितको नाम, अनुहार चित्र तथा उनीहरूसँगका अन्य विषयमा भएका वार्तालापका तथ्यहरू राखेर स्पष्ट पहिचान हुने गरी सामाग्रीहरू प्रसारण गरिएको देखिएको' भन्दै प्रारम्भमा ती सामाग्री हटाउन आग्रह गर्ने, नमाने कारबाही गर्न आदेश जारी गरेको हो।

आफ्नै रहन-सहन र आफ्नै कानुन भएको राउटे समुदायका पीडित महिलाप्रति सामाजिक सञ्जालका प्रयोगकर्ता र मिडिया गम्भीर नभएको र पीडितलाई मृत्युदण्डको तयारी जस्ता भ्रामक समाचार समेत राखिएको भन्दै अदालतले ' संवेदनशील विषयमा गम्भीर भएर गर्नु पर्नेमा सो नगरेको देखिएको' ठहर गरेको छ।

करणीजन्य अपराधका सामाग्रीहरू गोप्य हुन्छन् भन्ने विषय सचेत नागरिकलाई थाहा हुनुपर्ने विषय हो भन्दै सो विषयमा गम्भीर नभई पीडितको पहिचान गराएको अवस्था हुँदा कानुनी कारबाहीको विषय भएको आदेशमा उल्लेख छ।

राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

'यूट्यव लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामाग्री हटाउन नेपाल सरकार मार्फत विज्ञप्ति जारी गर्नुपर्ने अवस्था छ। त्यसका लागि गृहमा आदेश पठाउनु। विज्ञप्तिपछि पनि यस्ता सामाग्री प्रसारण भएमा वा सामाग्री नहटाएमा कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयमा लेखी पठाउने' आदेशमा भनिएको छ।

आदेशमा विज्ञप्तिपछि पनि सामाग्री नहटाएमा त्यस्ता साइटहरू बन्द गराउन गृह मन्त्रालय मार्फत सूचना तथा सञ्चार मन्त्रालयमा लेखी पठाउन समेत भनिएको छ।

पीडितको सुरक्षामा विशेष ध्यान दिन आदेश दिँदै बलात्कार प्रयास र यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई अनुसन्धानका लागि असार ५ गतेसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति समेत दिएको छ।

२८ जेठ, २०७८, २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।