सुदूरपश्चिमबाट राना वनमन्त्री नियुक्त, बिक बनिन् वन राज्यमन्त्री

सुदूरपश्चिमबाट राना वनमन्त्री नियुक्त, बिक बनिन् वन राज्यमन्त्री

राना, जसले प्रतिनिधिसभा निर्वाचनमा कैलाली, क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गरेका थिए। 

त्यसअघि निर्वाचनका क्रममा धनगढीको आमसभामा अध्यक्ष ओलीले रानालाई जिताए मन्त्री बनाएर पठाउने उद्घोष गरेका थिए। ओलीले ढिलै भए पनि रानालाई मन्त्री बनाएका छन्। 

साढे तीन दशकदेखि राजनीतिमा राना

नारदमुनि राना शैक्षिक, सामाजिक, राजनीतिक लगायत क्षेत्रमा पछाडि परेको आदिवासी राना थारू समुदायका नागरिक हुन्। 

२०२९ वैशाख १९ गते धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँको मध्यम वर्गीय परिवारमा जन्मेका राना बाल्यावस्थादेखि नै लगनशील, क्रान्तिकारी स्वभावका थिए। उनले राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। 

राना क्याम्पस अध्ययनकै क्रममा राजनीतिक गतिविधिमा सक्रिय थिए। २०४५ सालमा तत्कालीन अखिल छैटौंबाट रानाले विद्यार्थी राजनीति सुरु गरे। त्यसयता झण्डै साढे तीन दशकदेखि उनी राजनीतिमै क्रियाशील छन्। 

त्यसपछि २०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा पुगे। 
यसैबीच उनी २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा थुनामा समेत परे।

२०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिएका उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रानाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरे। त्यो बेला रानाको मत २७ हजार २ सय ३२ थियो। राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन्। आरजुलाई पराजित गरेपछि राना राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। 

राना नेकपा एमालेको सुदूरपश्चिम प्रदेश सहइन्चार्ज तथा कैलालीका इन्चार्ज पनि हुन्।

महिला अभियन्तादेखि राज्यमन्त्रीसम्म

बझाङको जयपृथ्वी नगरपालिका-१, पिमीकी आशाकुमारी बिक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

उनी अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदूरपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज भएर पनि नेतृत्व गरिसकेकी छन्।

उनी २०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन्। 

उनी जिल्लामा महिला सशक्तीकरण, जातीय छुवाछुत विरुद्धको अभियानमा क्रियाशीलसमेत भइन्। 

२७ जेठ, २०७८, ००:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।