सिंहदरबारमा मन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रशिक्षण: चर्चामा आउने काम गर्नु, कम बोल्नु

सिंहदरबारमा मन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रशिक्षण: चर्चामा आउने काम गर्नु, कम बोल्नु

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा सबै मन्त्रीहरू उपस्थित थिए। प्रधानमन्त्री ओलीले प्रारम्भमा नवनियुक्त मन्त्रीहरूलाई बधाई दिँदै निर्देशनहरू दिएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार उनले मन्त्रीहरूलाई बोल्नुभन्दा काममा बढी केन्द्रित हुन र पारदर्शी रूपमा काम गर्न निर्देशन दिएका थिए।

'यो काम गर्ने बेला हो। चर्चामा आउने काम गर्नुस्,' प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै एक मन्त्रीले भने' बोल्ने भन्दा काम गरेर देखाउनु पर्छ। काममा पारदर्शिता कायम गर्नुपर्छ।'

प्रधानमन्त्री ओलीपछि बैठकमा सहभागी मुख्य सचिव शंकरदास वैरागीले मन्त्रीहरूलाई प्रशिक्षण दिएका थिए। उनले आफ्नो प्रशिक्षणमा मन्त्रीहरूको काम, कर्तव्य र अधिकारबारे सम्झाएका थिए।

पाँच समिति गठन

आजै मन्त्रीपरिषद्ले पाँच समिति गठन गर्यो। प्रधानमन्त्री ओलीको नेतृतुवमा राजनीतिक समिति, अर्थमन्त्री विष्णू पौडेलको नेतृत्वमा आर्थिक समिति, प्रशासन समिति परराष्ट्र मन्त्री रघुवीर महासेठ, सामाजिक समिति गृहमन्त्री खगराज अधिकारी र  विधेयक समिति  कानुन मन्त्री लिलानाथ श्रेष्ठको संयोजकत्वमा गठन भएको हो। यी समिती मन्त्रीपरिषद्का नियमित समिति हुन्। 

२७ जेठ, २०७८, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।