'गुरु' मनाङे मनाउन पोखरा पुगेका 'चेला' गणेश प्रहरी नियन्त्रणमा

'गुरु' मनाङे मनाउन पोखरा पुगेका 'चेला' गणेश प्रहरी नियन्त्रणमा

गण्डकीमा सत्ता परिवर्तनको खेल सुरु भएपछि अहिले मनाङेको मत निर्णायक बनेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मत नपाएपछि नयाँ सरकारको बाटो खुलेको छ। तर विपक्षीसँग बहुमतका लागि एक जना सांसद पुगेको छैन।

मनाङेले बुधवार जसको पक्षमा ३० मत पुग्छ त्यतै लाग्ने बताएपछि उनी एकाएक सम्पर्कविहीन भएका थिए। उनी बुधवार विश्वासको मतमा लागि भएको मतदानमा सहभागी समेत भएनन्। त्यही बेला लामा पोखरा पुगेको सूचना आएपछि प्रहरी उनको खोजीमा लागेको थियो।

स्रोतका अनुसार मनाङे सम्पर्कहीन भनिए पनि पोखरा बुटिक होटेलमा छन्। लामा त्यही पुगेका थिए। प्रहरीले आफूलाई खोजिरहेको सूचना आएपछि उनी त्यहाँबाट क्याटवाक रेस्टुरेन्ट गएपछि प्रहरीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो।

उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बैदाममा राखेको छ। उनी कुन आरोपमा पक्राउ परेको हो सो भने खुलाएका छैनन्।

गुरु, चेला नै राजनीतिमा

आपराधिक गतिविधिबाट पहिचान बनाएका मनाङे र लामा अपराधको दुनियाँमा गुरु चेलाको रूपमा परिचित छन्। लामा कुनै समय मनाङे समूहमा सक्रिय थिए। उनले मनाङेको ठमेल क्षेत्रमा फैलिएको जालोको संरक्षण गर्थे। मनाङे सार्वजनिक अपराधको आरोपमा कारागार परेपछि उनको रात्रिकालीन व्यवसायको हर्ताकर्ता बनेको बेलामा उनले ठमेल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेका थिए।

पछि लामाले काभ्रेका आफ्ना समर्थक युवाहरू मिलाएर काभ्रेली समूह बनाएर मनाङेबाट छुट्टिएका थिए। पछि लामा निर्माण सामाग्री र होटेल व्यवसायमा सक्रिय भएका थिए।

राप्रपा काँग्रेस हुँदै मनाङे स्वतन्त्र बस्दा लामा भने विजयकुमार गच्छदारको संरक्षणमा राजनीतिमा सक्रिय भइसकेका थिए। गच्छदारको समूह काँग्रेसमा आएपछि उनी पनि काँग्रेसमा सहभागी भए। मनाङे मनाङमा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्दा लामा काभ्रेमा प्रदेश सभाको उम्मेदवार बनेका थिए।

एमालेले साथ दिँदा मनाङे प्रदेश माननियहुँदै अहिले प्रदेश सरकार बनाउने कि मध्यावधिमा जाने निर्णायक बन्दा लामा भने पराजित भएर निर्वाचनको पर्खाइमा छन्।

२७ जेठ, २०७८, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।