गण्डकी प्रदेशमा ढल्याे एमाले सरकार

गण्डकी प्रदेशमा ढल्याे एमाले सरकार

काठमाडौं : गण्डकी प्रदेशमा नेकपा एमालेकाे सरकार ढलेकाे छ। 

एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेकाे हाे। 

संविधानको धारा १६८ को उपधारा ५ मा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेको अवस्थामा प्रदेश प्रमुखले विश्वासको मत पाउन सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ। 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीका अनुसार उनको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो। 

उनलाई नेकपा एमालेका सबै सांसद्ले विश्वासको मत दिएका थिए। यस्तै, नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ सांसदले विपक्षमा मतदान गरेका थिए।

जनमोर्चाका सांसद् कृष्ण थापाले भने मतदानमा सहभागिता जनाएनन्। यस्तै, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बैठकमा उपस्थित भएनन्। 

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि आवश्यक ३१ मत आवश्यक पर्छ। 

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम बमोजिम मुख्यमन्त्रीमा नियुक्त गुरुङले सोही धाराको उपचारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए। 

अब सोही धाराको उपधारा ५ बमोजिम गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। 

२७ जेठ, २०७८, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।