बादलको गुन तिर्न श्रीमतीलाई सञ्चार मन्त्रालय, गृहमा खगराज

बादलको गुन तिर्न श्रीमतीलाई सञ्चार मन्त्रालय, गृहमा खगराज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काम चलाउँ मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उनले यस अगाडिको पूनर्गठनमा रिक्त राखेको मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्।

१७ सदस्यीय मन्त्रिपरिषद्लाई २५ सदस्यीय बनाउँदा पूर्व माओवादीलाई प्राथमिकता दिएका छन्। सर्वोच्चका कारण गृहमन्त्रालय खोसिएका राम बहादुर थापा बादलकी श्रीमती नैनकला सन्चारमन्त्री हुँदैछिन्। गृहमा खगराज अधिकारी आउँदैछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘मन्त्रिपरिषद् विस्तार होइन, पूर्णता दिइएको' बताए। थापाले उकेरासँग भने,‘दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने सम्भावना छ।’

को-को हुँदैछन्न मन्त्री

प्रधानमन्त्री ओलीले पूर्व माओवादीका २ जनालाई मन्त्रीमा नियुक्त गरेका छन्। ओलीले माओवादी केन्द्र त्याग गरेका बादलकी श्रीमती नैनकलालाई सञ्चारमन्त्रीमा नियुक्त गरेका छन्। यसअघिको मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीमा एमालेका पार्वत गुरुङ थिए।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

यस्तै माओवादी केन्द्रको कारबाहीमा परेर प्रदेश सभा सदस्य पद मुक्त भएकी ज्वालाकुमारी शाहलाई प्रधानमन्त्री ओलीले कृषि मन्त्रालय दिँदै छन्। प्रदेश २ कि शाहलाई माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट हटाएको थियो।

ओलीले गृहमन्त्रीमा अधिकारीलाई नियुक्त गरेका छन्। गृहमन्त्री नियुक्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो रहेकाले गृहमन्त्री बन्ने चर्चामा रहेका महेश बस्नेत ब्याक भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले उद्योग मन्त्रीमा राजकिशोर यादव, वन मन्त्रीमा नारदमुनि राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन बानियाँ, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्न लागेका हुन्।

आज थपिने ७ मन्त्री र एक राज्यमन्त्री समेत गरेर अब ओलीको मन्त्रिपरिषद्मा २२ जना मन्त्री र ३ जना राज्यमन्त्री हुनेछन्। नेकपा एमाले माधवकुमार नेपाल पक्षका २ जनालाई मन्त्री बनाउने तयारी गरे पनि वार्ता नमिलेकाले सम्भव नभएको स्रोतले बताएको छ।

२७ जेठ, २०७८, १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।