एंकर न्युज

निषेधाज्ञाका सारङ्गी वादक : चोरेर खान भएन, सिपले खान सरकार दिँदैन

सुरेन्द्र बजगाईं


चारैतिर हल्ली र खल्ली, कोरोना भाइरसले पार्दियो बिचल्ली

बेलाबेला साबुन पानीले हात धुनुपर्ने

हाच्छ्युँ आउँदा कुइनोले नि नाक छोप्नुपर्ने। 

कस्तो खालको रोग आयो, लौन हाम्रो देशमा 

कति मान्छे मरिराछ, कति बिरामी भाछ

यो कुरा चाहिँ सरकारलाई भन्या जस्तै भाछ

अँगालोको साटो अब नमस्कार गरौँ

स्यानिटाइजर अनि मास्क प्रयोग गरौँ

कोरोनाले लयो नि तानेर

राम्रा–राम्रा छानेर

यस्तै विरहको धुन आफ्नो सारङ्गीमा बजाउँदै हिँडेका छन् सुनिल गान्धर्व। मङ्गलवार चर्को घाममा उनी कोटेश्वरको गल्ली–गल्ली हिँडिरहेको भेटिए। उनलाई घामभन्दा डर छ कोरोनाको। त्यसैले उनले गाउने गीत पनि कोरोनासँग जोडिएका छन् : 

चारैतिर हल्ली र खल्ली, कोरोना भाइरसले पार्दियो बिचल्ली

यस्तै गीतमा सारङ्गीको धुन मिसाउँदै काठमाडौँका गल्ली–गल्ली चहार्छन् सुनिल। गाउन हिँड्दा उनीसँगै हुन्छन् उनका छोरा। तर उनले आफ्नो छोरालाई सारङ्गी सिकाउन वा गीत गाउन साथीको रूपमा हिँडाएका हैनन्। छोरा हेर्ने श्रीमती माइत बसेपछि आफूसँगै हिँडेको उनी सुनाउँछन्। 

‘मेरा पुर्खा यसरी नै सारङ्गी बजाउँदै हिँडे। म पनि बजाउँदै छु। तर मेरो छोराले पुर्खाको काम नगरोस्’, सुनिल भन्छन्, ‘अरू पेसा गर्ने घरमा नै बसेर काम गरेका छन्। आफू भने यस्तो कोरोनाको डरमा पनि मानिसको ढोका ढोकामा हात थाप्दै हिँड्नु परेको छ।’ 

सुनिलका पुर्खाले यसरी नै सारङ्गी रेटेर आफ्नो जिन्दगी गुजारे। देशका कुना कुनामा पुगेर विरहका गीत गाए। तर कोरोनाको यो महामारीको बेलामा आफ्नो पेसा झनै सङ्कटमा परेको सुनाउँछन् उनी। 

पुर्ख्यौली पेसा धान्नकै लागि सुनिलको पुर्खा लमजुङबाट पोखरा सरे। तर उनलाई पोखराले धानेन अनि काठमाडौँमा सम्भावना खोज्न हानिए। काठमाडौँ सहरमा पनि आफ्नो छोराको पुस्ताले गान्धर्व पेसाले जीवन धान्न नसक्ने देखेका छन्। त्यसैले उनी आफ्नो छोराले पढेर हातमा सारङ्गी भन्दा अरू नै पेसा होस् भन्ने चाहेको बताउँछन्। 

त्यसैले छोरालाई राम्रो ठाउँमा पढाउनकै लागि आफू काठमाडौँ हान्निएको उनले सुनाए।

०००

उनका छोरा अहिले २२ महिनाका भए। भर्खर राम्रोसँग हिँड्न सुरु गरेका छन्। त्यसैले उनी बाबुको हात छुट्नासाथ बाटोमा दगुरी हाल्छन्। सुनिल दगुर्दै गएका छोरा समाउँदै आफू काठमाडौँ आएको सुनाउँछन्। ‘म त गाइने परेँ, जुन गाउँ डुलेर भए पनि आफ्नो पेट पाल्न सक्छु। तर यो छोरा साथमा छ’, उनी आफ्नो दुःखको पोको फुकाउँदै भन्छन्, ‘के गर्ने, उसकी आमा पनि माइत गएर बसेकी छे।’

सुनिलकी श्रीमतीले उनलाई छोरा जिम्मा लगाएको एक वर्ष हुन लाग्यो। सामान्य घर–झगडामा नै श्रीमतीले छाडेको बताउँछन् उनी। ‘अहिले त अर्को बिहेको तयारी गर्दे छे रे’, उनले लामो श्वास फेर्दै सुनाए, ‘बाटोमा हिँडेको मानिसले त मायाले काखमा लिन खोज्छन्। यसकी आमाले खै कसरी माया मार्न सकेकी हो?’ 

०००

केही दिन अगाडि उनको छोरालाई एउटा संस्थाले रङ्गिन पुस्तक दिएका छन्। आफूले सावा अक्षर मात्र चिन्दा गाउँघरका पिँढीसम्मको बाटो मात्र देखायो। तर छोराले भने त्यही रङ्गिन पुस्तकमा भएका अक्षरले पुर्खाले भन्दा नयाँ काम गरोस् भन्ने चाहन्छन् उनी। 

‘मेरो त भविष्य ढोकाढोका चहारेर सारङ्गी रेटेर नै जाने भयो’, उनी भन्छन्, ‘छोराले भने अन्य काम गरोस् भनेर यसरी हिँड्दै छु।’  

अलिअलि बचेको पैसा पनि लकडाउनमा सकिएको उनको भनाइ छ ।

‘लकडाउन अगाडिसम्म त छोराको लागि केही पैसा सहकारीमा जम्मा गरेको थिएँ’, उनी भन्छन्, ‘लकडाउनले गर्दा त्यो पैसा पनि खर्च भयो।’

अहिले काठमाडौँमा सुनिलसँग सम्पत्तिको नाममा सारङ्गी छ र साथ दिने छोरा मात्रै। त्यसैले उनी छोरा डोर्‍याउँदै गल्लीगल्ली डुलिरहेको बताउँछन्।

सुनिलसँग काठमाडौँमा न त घर छ, न त धेरै सम्पत्ति नै। अलिअलि जम्मा भएको पैसा सकिएपछि भोक मेटाउन बाहिर निस्किएका हुन्। कोरोनाका कारण काठमाडौँका धेरै मानिस घरमा नै बन्दी भएका छन्। कोरोनाको कारण कतिले आफ्नो परिवारका सदस्य गुमाएका छन् भने धेरै जना अस्पतालमा जीवनका लागि लडिरहेका छन् ।

‘सबै मानिस एउटै हुँदैनन्। मेरो त पेसा नै यही हो। बुझेको मान्छेले पैसा दिएर पठाउँछन्। तर कहिले भने लकडाउनमा कोरोना सार्न आएको भनेर झपार्छन्’, उनी भन्छन्, ‘लकडाउन भए पनि भोक त लाग्ने रहेछ, लकडाउनले भोक नभन्दो रहेछ।’

छोरालाई प्ले ग्रुपमा भर्ना गर्ने सोच्दासोच्दै लकडाउन भयो। घरमा हेर्ने मान्छे पनि छैन। त्यसैले आफूसँग लिएरै हिँड्न बाध्य भएको बताउँदै भन्छन्, ‘स्कुल हाल्न पाएको भए छोरालाई स्कुलमा छाडेर आफू सारङ्गी बजाउँदै घरघर हिँड्न त पाउँथे। साँझ परेपछि लिन आउनुहुन्थ्यो। तर, के गर्ने आफूले सोचेको जस्तो केही भए पो!’

विवाह हुनुभन्दा पहिला भएको मोटरसाइकल दुर्घटनाले खुट्टामा स्टिल हालेका छन् उनले। त्यही कारण उनी धेरै बेरसम्म हिँड्न सक्दैनन्। ‘छोरालाई बोकेर हिँड्दा पनि गाह्रो हुन्छ’, उनी घुँडादेखि माथि अप्रेसन गरेको डोब देखाउँदै भन्छन्, ‘कहिलेकाहीँ त भित्र भएको स्टिलले दुखाएर मर्नु जस्तो पीडा दिन्छ।’

०००

पोखरामा आमा, भाइ र बहिनी छन् उनका। पोहोर साल त आमासँगै थिए। घरकाले ‘सहरमा नै राखेर छोरालाई राखेर पढा’ भनेपछि उनी छोरा च्यापेर हिँडे। उनी आएको केही समयमा नै लकडाउन भयो।

लकडाउन हुनुभन्दा पहिले उनी माछापोखरी बस्थे। तर त्यहाँ बस्न मन लागेन, त्यसैले शान्तिनगर सरे। 

‘हामीजस्तो गरिबलाई कोरोनाले नछेक्ने रहेछ’, उनी भन्छन्, ‘धन भएका धेरैले गाइने भनेर हेप्छन् पनि।’

बाबुबाजेदेखि चलिआएको पेसा चटक्कै छाडेर अरू काम गर्न उनीसँग आँट छैन। स्कुल खुलेपछि छोरालाई राम्रो स्कुलमा भर्ना गरिदिने सुनाउँदै सुनिल थप्छन्, ‘आफ्नै कला देखाएर खाने हो। के गर्ने मलाई चोरेर खान आउँदैन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो। त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो। प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील....

नाथुराम गोड्से बन्न तयार छु भन्ने वैद्यलाई प्रदेश सभाले के कारबाही गर्न सक्छ?

प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा वैद्यले हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई....

लोक सेवाकाे पदपूर्ति विवरण सूचनामा व्यक्तिगत इमेल ठेगाना

सूचना नम्बर २८२/०७७–७८ उल्लेखित विज्ञापनमा सङ्गठित संस्थाहरूलाई असार १५ भित्र पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउन भनिएको छ।  आयोग चैत ११ बाट पदाधिकारीविहीन भएसँगै आयोगका कामकारबाही....

पहुँचवालालाई सेटिङमा खोप, स्थानीय जनप्रतिनिधिलाई नेताको दबाब

लक्षित उमेर समूह बाहेक राजनीतिक दलका नेताहरूका आफन्त र आसेपासेलाई सेटिङमा खोप लगाउँदा लक्षित समूहलाई खोप पुगेन। स्थानीय जनप्रतिनिधिहरू खोप मिलाइदिनुपर्‍यो भन्दै नेता र जनता....

फ्रन्टलाइनरलाई भ्याक्सिनको भरोसा, खोप लगाउनेलाई स्वास्थ्य जटिलता न्यून

खोप नलगाएकाभन्दा खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनर बढी सुरक्षित देखिएको चिकित्सकले बताएका छन्।   संक्रमणका कारण स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र....