एंकर न्युज

सिकिस्त भएर अस्पताल पुग्दा बचाउनै चुनौती, सरकारी अस्पतालमा आइसियु र भेन्टिलेटर भरिभराउ   

उपेन्द्र खड्का


फाइल तस्विर

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमित बिरामी स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल पुग्दा बचाउन चुनौती भएको चिकित्सकहरूले बताएका छन्। 

काठमाडौँ उपत्यकाका अस्पतालमा विभिन्न जिल्लाबाट स्वास्थ्य अवस्था जटिल भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या बढेको चिकित्सकको भनाई छ। भर्ना हुने बिरामी बढेसँगै सरकारी अस्पतालमा आइसियु भेन्टिलेटर खाली नभएको वीर अस्पतालका कोभिड १९ फोकल पर्सन डा. अच्युत कार्कीले बताए। 

चिकित्सकका अनुसार पछिल्ला केही दिन यता धादिङ, गोरखा, काभ्रे, सिन्धुपाल्चोक जस्ता उपत्यका नजिकका जिल्लाबाट बिरामी आउने क्रम बढेको छ। 

फोकल पर्सन डा. कार्कीले स्वास्थ्य अवस्था जटिल भएर बिरामीहरू अस्पताल आइरहेको बताए। अस्पतालमा पुग्ने सङ्क्रमितको चाप केही कम भए पनि स्वास्थ्य अवस्था जटिल भएर अस्पताल पुग्दा बिरामीको व्यवस्थापनमा चुनौती बढेको डा. कार्कीले बताए। उनले भने,‘गम्भीर केस मेनेज गर्न चुनौती बढिरहेको छ।’ 

जटिल भएपछि अस्पताल

हेलचेक्र्याइँ गरी ४/५ दिन घरमा नै बसेर हेर्ने र अवस्था जटिल भएपछि मात्रै अस्पताल पुग्नाले सङ्क्रमितलाई बचाउन कठिन हुने गरेको डा. कार्की बताउँछन्। उनले भने,‘सही सल्लाह नपाएर पनि हुन सक्छ, गम्भीर कन्डिसनमा आउनुहुन्छ।’

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतम पनि घरमा बसेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल पुग्ने सङ्क्रमितको सङ्ख्या बढिरहेको बताउँछिन्। निषेधाज्ञा खुकुलो भएपछि घरमा रोग सहेर बसेका सङ्क्रमितहरू अस्पताल पुग्ने क्रम बढ्ने चिकित्सक अनुभवमा आधारित अनुमान सुनाउँछन्। 

स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल पुग्दा बिरामीलाई बचाउन मुस्किल पर्ने गरेको डा. गौतमले बताइन्। ‘धेरैजसो मर्ने पेशेन्ट यस्तै हो। कतिपय जान्ने भएर आफैँ अक्सिजन लगाएर बसेका छन्, मर्ने मान्छेहरू धेरैजसो त्यस्ता पनि छन्,’डा. गौतमले भनिन्,‘मेडिसिन चलाउन पनि त पहिलो हप्तामा के गर्ने? दोस्रो हप्तामा के गर्ने? भन्ने हुन्छ। त्यो स्टेज क्रस भएर आइसकेपछि त के गर्न सकिन्छ र।’

स्वास्थ्य अवस्था जटिल भएर अस्पताल पुगेका बिरामीको २÷३ दिनमा मृत्यु हुने गरेको डा. कार्कीले बताए। उनले भने,‘४÷५ दिनमा आएका बिरामीलाई हप्ता, १० दिनसम्म आइसियुमा राख्नुपर्ने हुनसक्छ। त्यसपछि जनरल वार्डमा सार्छौँ।’ 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला पनि अस्पतालमा सङ्क्रमित ढिला पुग्दा उपचारमा चुनौती हुने भएकाले हेलचेक्र्याइँ नगर्न सुझाउँछन्।

होम आइसोलेसनमा बसेका सङ्क्रमितमा हेर्दा केही नभएको जस्तो देखिए पनि बिस्तारै अक्सिजनको तह कम हुँदै जाने भएकाले हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ। 

आइसियु भेन्टिलेटर किन खाली नभएका?

सरकारी तथ्याङ्कमा भेन्टिलेटर, आइसियु खालि भएको देखिए पनि वास्तविकता भने त्यस्तो छैन। अस्पतालमा भर्ना भएका सङ्क्रमित बिरामी र नयाँ बिरामी पनि स्वास्थ्य अवस्था जटिल भएर थपिँदा आइसियु तथा भेन्टिलेटर खाली नभएको अस्पतालहरूले बताएका छन्। वीर अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. कार्कीले भने, ‘सामान्य अवस्थाका बिरामीको चाप कम छ। भेन्टिलेटर र आइसियुमा राख्नुपर्ने बिरामीको चाप कम छैन।’

टेकु अस्पतालका प्रवक्ता डा. बास्तोलाले अस्पतालमा पुग्ने बिरामीको सङ्ख्या घटे पनि आइसियु र भेन्टिलेटरमा रहने बिरामीको सङ्ख्या कम नभएको जानकारी दिए। 

टिचिङ अस्पतालमा भने उपत्यकाको नै ठेगाना लेख्ने भएकाले उपत्यकाका हुन की उपत्यका बाहिरका बिरामी भनेर छुट्टाउन मुस्किल पर्ने गरेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।

सिभिल अस्पतालमा औसत पुग्ने सङ्क्रमित बिरामीको सङ्ख्या घटेकाले उपत्यका र उपत्यका बाहिरबाट आउने क्रम खासै नबढेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुमनबाबु मरहट्ठाले जानकारी दिए। 

सिभिल अस्पतालमा जनरल बेड खाली हुँदै गए पनि भेन्टिलेटर र आइसियु भने खाली नभएको डा. मरहट्ठाले बताए। उनले भने,‘नयाँ बिरामी आउनु भन्दा पनि पहिलाकै बिरामीको कारणले भेन्टिलेटर आइसियु खाली छैन।’ 

टिचिङ अस्पतालमा पनि सङ्क्रमितको चाप घटे पनि आइसियु तथा भेन्टिलेटर भने खाली नभएको अस्पतालका सूचना अधिकारी रामविक्रमले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आइसियु तथा भेन्टिलेटर खाली देखिए पनि तिनै अस्पतालमा बेड तथा भेन्टिलेटर खाली छैनन्।

भेन्टिलेटरमा पुगिसकेपछि ठिक हुने सम्भावना कम भएकाले १, डेढ महिना पनि राख्नुपर्ने हुनसक्ने चिकित्सक बताउँछन्। भेन्टिलेटरमा राखिएकामध्ये करिब ५० प्रतिशतको निको हुने सम्भावना हुने चिकित्सक बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो। त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो। प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील....

नाथुराम गोड्से बन्न तयार छु भन्ने वैद्यलाई प्रदेश सभाले के कारबाही गर्न सक्छ?

प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा वैद्यले हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई....

लोक सेवाकाे पदपूर्ति विवरण सूचनामा व्यक्तिगत इमेल ठेगाना

सूचना नम्बर २८२/०७७–७८ उल्लेखित विज्ञापनमा सङ्गठित संस्थाहरूलाई असार १५ भित्र पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउन भनिएको छ।  आयोग चैत ११ बाट पदाधिकारीविहीन भएसँगै आयोगका कामकारबाही....

पहुँचवालालाई सेटिङमा खोप, स्थानीय जनप्रतिनिधिलाई नेताको दबाब

लक्षित उमेर समूह बाहेक राजनीतिक दलका नेताहरूका आफन्त र आसेपासेलाई सेटिङमा खोप लगाउँदा लक्षित समूहलाई खोप पुगेन। स्थानीय जनप्रतिनिधिहरू खोप मिलाइदिनुपर्‍यो भन्दै नेता र जनता....

फ्रन्टलाइनरलाई भ्याक्सिनको भरोसा, खोप लगाउनेलाई स्वास्थ्य जटिलता न्यून

खोप नलगाएकाभन्दा खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनर बढी सुरक्षित देखिएको चिकित्सकले बताएका छन्।   संक्रमणका कारण स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र....