कभर स्टोरी

काँग्रेस महाधिवेशन : पार्टीको वैधानिकता नै संकटमा

केशवप्रसाद पाण्डे


फाइल तस्बिर

काठमाडौँ : तोकिएको मितिमा महाअधिवेशन हुने सम्भावना कम भएसँगै नेपाली काँग्रेसलाई पार्टीको वैधानिकता जोगाउन चुनौती  देखिएको छ। काँग्रेसको पार्टी विधान अनुसार पार्टीको तल्लो तहदेखि केन्द्रीय स्तरसम्मका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ। 

काँग्रेसको विधान,२०१७’ अनुसार २०७६ फागुनमा महाअधिवेशन भइसक्नुपर्ने हुन्थ्यो। तर विधानमा असाधारण परिस्थिति आएमा बढीमा एक वर्ष अवधि बढाउन सकिने व्यवस्था छ। 

सोही व्यवस्थाको उपयोग गर्दै काँग्रेसले २०७२ फागुनमा भएको महाधिवेशनबाट चुनिएका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गरेको थियो  जुन समयावधि पनि २०७७ फागुनबाट सकिएको छ। 

यसपछिको अन्तिम विकल्पको रूपमा संविधानमा रहेको व्यवस्था अनुसारको समयावधि समेत थप गरी भदौमा महाअधिवेशनको मिति तय गरेको थियो। 

‘नेपालको संविधान,२०७२’ को धारा २६९ को उपधारा ४ (ख) मा ‘ राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका  पदाधिकारीको निर्वाचन गर्नुपर्ने तर विशेष परिस्थितिका कारण निर्वाचन हुन नसकेमा ६ महिनाभित्र निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्नेछैन भन्ने उल्लेख गरिएको छ। 

जस अनुसार भदौसम्मका लागि केन्द्रीय कार्यसमिति म्याद थप गरी भदौमा १४ औँ महाधिवेशनको मिति तय गरिएको छ। तर,कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै यसको सम्भावना कम हुँदै गएको छ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल जुनसुकै हालतमा महाअधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। तर,यसबारे पार्टी सभापति शेरबहादुर देउवाले निर्णयमा ढिलाइ गर्दा शङ्का बढेको पौडेल बताउँछन्। 

‘महाअधिवेशन त जसरी पनि गर्नैपर्ने हुन्छ। तर, यसबारे म एक्लैले भनेर हुँदैन पार्टीको बैठक बसेर कसरी सम्पन्न गर्ने भन्ने छलफल गर्न बाँकी छ।’उनले उकेरासँग भने।

केन्द्रीय सदस्य प्रदीप पौडेल कोरोनाको कारण देखाएर महाधिवेशन टार्ने छुट नभएको बताउँछन्। उनी नेतृत्व नै महाधिवेशनको पक्षमा नरहेकाले  कोरोनालाई कारण मात्रै देखाइएको आरोप लगाउँछन्। प्रविधिको प्रयोग र स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन सम्पन्न गर्न सकिने अझै पर्याप्त समय रहेको उनको भनाई छ।

क्रियाशील सदस्यताको लफडा नै बाँकी

काँग्रेसले महाअधिवेशनको पहिलो चरणमा सक्नुपर्ने क्रियाशील सदस्यता वितरणको टुङ्गो नै लगाउन सकेको छैन। पहिलो पटक अनलाइन ईन्ट्रि मार्फत सदस्यताका काम भए पनि कतिपय स्थानमा विवादका कारण सदस्यता वितरणको काम समेत सुरु हुन सकेको छैन। 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार कार्यतालिका अनुसार महाअधिवेशनको सम्भावना नरहेको बताउँछन्। सदस्य परियार छुटेका नामावली सच्याउने काम भइरहेको बताउँछन्।

‘कतिपय स्थानमा त काम नै सुरु भएको छैन। सिन्धुपाल्चोकको समायोजन नै भइसकेको छैन। बारामा पनि विवाद कायम छ, सप्तरीमा पनि विवाद तल्लो लेबलबाटै आएकाले ईन्ट्रि भएको छैन,’उनले उकेरासँग भने,‘जिल्ला स्तरमा पनि प्रारम्भिक छानबिन भइरहेको छ। बाँकी हामीले पनि छानबिन प्रक्रिया सुरु गर्ने भनेर मापदण्ड निर्धारण गर्ने र छानबिन गरेर क्रियाशीलको टुङ्गो लगाउने सोचमा छौँ।’ 

समिति संयोजक रमेश लेखकलाई कोरोना सङ्क्रमण देखिएकाले के गर्ने कसो गर्ने भन्ने अवस्थामा रहेको उनले जानकारी दिए। मङ्गलवार ५ बजेसम्ममा नयाँ सदस्यता र नवीकरण गरी ७ लाख ९६ हजार ५ सय ५२ सदस्यता ईन्ट्रि भएको जानकारी दिए। 

‘तर, कार्यतालिका अनुसार  हुने सम्भावना त हामीले देखिरहेको छैन। अब कार्यतालिका हेरफेर गर्नैपर्ने बाध्यता छ,’परियार भन्छन्,‘यो मुख्यतः कोरोनाकै कारण आएको समस्या हो। छानबिन समितिले पनि एक महिनादेखि काम नै गर्न सकेको छैन। समितिको तर्फबाट हामी भदौमै सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ।’ 

सबै जिल्लाको सदस्यता टुङ्गो लागेपछि मात्र महाअधिवेशन अगाडि बढ्न सक्छ। क्रियाशील सदस्यताकै कारण काँग्रेसले यसअघि समेत महाअधिवेशनको  कार्यतालिका परिवर्तन गरिसकेको छ।

महाधिवेशन त गर्नै पर्छ 

वरिष्ठ नेता पौडेल महाअधिवेशन गर्ने बाध्यता रहेको र जसरी पनि भएरै छाड्ने बताउँछन्। तर,यसमा सभापति देउवाले सक्रियता नदेखाएको उनको आरोप छ। उनी क्रियाशील सदस्यता ८ लाखको आसपास पुगेको र यसलाई प्रशोधन गर्ने,नभएका ठाउँमा पुरानैलाई कायम गराएर भए पनि वडादेखि चुनाव गराउन सकिने बताउँछन्।  

‘एउटा फर्मुला त निकाल्नु पर्‍यो नि के हुन्छ अव,’ अहिले मिटिङ नभई मैले मात्र भनेर त हुँदैन। अब पहिला पदाधिकारी बैठक बसेर आइडिया बनाउनुपर्‍यो त्यसपछि कार्यसमिति बसेर निर्णय गर्नुपर्ने हुन्छ। अव दुईचार दिनमा त सबै टुङ्गाउन पर्‍यो नि,’उनले उकेरासँग भने,‘गर्ने बाध्यता नै छ त अधिवेशन त जसरी पनि हुन्छ। अधिवेशन टारेर टर्दैन। टार्न पाइँदैन  जस्तो विपरीत परिस्थिति भए पनि जसरी कोरोनाकै बिच अमेरिकामा चुनाव भयो त्यसरी नै हामीकहाँ पनि हुन्छ।’   

दोस्रो तहका नेताको सक्रियता

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन हुने अवस्था छैन। तर यसको विकल्प के त भन्ने विषयमा पनि नेतृत्वले कुनै निर्णय गर्न सकेको छैन। पार्टी वैधानिक र संवैधानिक रूपमै संकटमा पर्ने सम्भावना बढेपछि दोस्रो तहका युवा नेताहरूले सक्रियता बढाएका छन्। मंंगलबार ७ केन्द्रीय सदस्यले भेटेर सभापति शेर बहादुर देउवालाई भेटी समयमै महाअधिवेशन नभए पार्टीको अस्तित्व संवैधानिक र वैधानिक रूपमा अप्ठ्यारोमा पर्ने भन्दै तत्काल निर्णय गर्न सुझाएको थियो। 

भेटमा युवा नेताहरू परियार,गगन थापा,प्रदीप पौडेल,गुरु घिमिरे,चन्द्र भण्डारी,धनराज गुरुङ र बद्री पाण्डे सहभागी भएका थिए। उनीहरूले महाधिवेशनको विधि परिवर्तन गरेर पनि सम्पन्न गर्न आग्रह गरेको भेटमा सहभागी केन्द्रीय सदस्यले उकेरालाई जानकारी दिए। ‘भौतिक दुरी कायम गर्ने,जिल्ला वा प्रदेशमा नै धेरै स्थानमा छनौट गरेर केन्द्रको समेत मतपत्र पुर्‍याएर वा अन्य विकल्पमा जानेबारे निर्णय गर्न भनेका छौँ।’केन्द्रीय सदस्य परियारले भने।

कांंग्रेसले सार्वजनिक गरेको महाअधिवेशनको कार्यतालिका अनुसार असार ५ गते गाउँ र नगरपालिका अधिवेशन सुरु हुनुपर्ने हुन्छ। असार ७ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन १ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र साउन १० र ११ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। त्यस्तै भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका छ।  

अब कोरोनालाई देखाउने छुट छैन

केन्द्रीय सदस्य पौडेल अब कोरोनालाई देखाएर महाधिवेशन टार्ने छुट नभएको बताउँछन्। कुराकानीमा गर्ने भन्ने र व्यवहारमा त्यो नदेखिँदा नेतृत्वप्रति आशङ्का बढेको पौडेल बताउँछन्।महाअधिवेशन धेरै पटक छाड्दै आएकाले र कोरोनाका कारण काँग्रेस वैधानिक रूपमा संकटमा पर्ने त होइन भन्ने आशङ्का जन्मिएको उनलाई लाग्छ। अब चाहिँ नेतृत्वले नचाहेर र कोरोना भयावह भएको अवस्थामा पनि भदौ १९ भित्र हामीले पदाधिकारी चुन्नै पर्ने हुन्छ,’उनी भन्छन्,‘यही बाध्यता भएका कारणले अन्य विकल्प हुँदै नभएको कारणले हुँदैन भन्न मिल्ने अवस्था छैन। अव कसरी हुन्छ भन्ने कुरा हो। यसमा प्रक्रिया छोट्याउने,प्रविधिको प्रयोग बढी गर्ने। भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर सम्पन्न गर्न सकिने विकल्पमा जानुपर्ने हुन्छ।’

उनी आफूहरूले नेतृत्वलाई प्रारम्भिक मतदाता नामावलीको रूपमा रहेको क्रियाशील सदस्यताको समस्या समाधान गर्ने,क्रियाशील नामावली ईन्ट्रि भइसकेपछि प्रस्ट मापदण्ड बनाएर छानबिन गर्ने,सदस्यता टुङ्ग्याएपछि प्रक्रियाका बारेका छलफल गर्न सकिन्छ। पत्रकार महासङ्घको मोडलमा जिल्लाबाटै केन्द्रको पनि मतदान गर्ने। जिल्ला भन्दा तल्लो तह वडासम्म धेरै स्थानमा मतदान केन्द्र बनाएर स्वास्थ्य मापदण्ड पालना हुने गरी महाधिवेशन गर्न सकिने विषय जानकारी गराएको पौडेल बताउँछन्। 

‘केन्द्रीय महाधिवेशनमा पदाधिकारी निर्वाचित गराउन कम्तीमा भोटर निर्वाचित गराएर त ल्याउन पर्‍यो। पालिका लगायत धेरै सङ्ख्यामा भिडभाड हुनेलाई तत्काल स्थगन पनि गर्न सकिन्छ,’उनी भन्छन्,‘नेतृत्वलाई हामीले सुझाएका छौँ। पार्टी सभापतिले पदाधिकारी बैठक राखेर केन्द्रीय कार्यसमिति बैठक बोलाएर टुङ्ग्याउने भन्नुभएको छ। नेतृत्वले यसलाई नकारेको छैन। तर, हार्ड एन्ड फास्ट निर्णय गरेर सम्पन्न गर्ने गरी इच्छा देखाएको जस्तो पनि देखिँदैन। कुराकानीमा त गर्ने भन्ने नै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोना प्रतिरोध क्षमता पत्ता लगाउन १३ हजारमा एन्टिबडी परीक्षण हुँदै, वैधतामा विज्ञको शङ्का

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमण भएर कति व्यक्तिमा एन्टिबडी बन्यो भन्ने जानकारीका लागि सात वटै प्रदेशमा करिब १३ हजारमा एन्टिबडी परीक्षण....

मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले हुँदै स्वतन्त्र सांसद बनेका उनले प्रदेश सांसदको शपथै बढो कठिनसाथ खान पाएका थिए। एमालेको साथ पाउँदा प्रदेश सांसद बनेका उनले आफ्नो....

माओवादीका भरिया सिपाहीको प्रश्न : मलाई अपांग बनाउने बाहेक क्रान्तिले के दियो ?

देश र जनताका लागि लड्दै छु भन्ने गर्व थियो उनमा। तर राईका लागि त्यो गर्विलो क्षण त्यही १६ वैशाखको साँझ एकै छिनमा विलय भयो। एम्बुस....

हिम्मत नआउँदा बुबालाई सम्झन्छन्, हेमराज पुत्र प्रज्वल

विद्युत प्राधिकरणमा करारका जागिरे प्रज्वल बञ्जाडे सन्धीखर्क नजिकै अर्घामा बिजुलीको पोल बिग्रेर बनाउन गएका रहेछन्। औपचारिक कुराकानीपछि हामीसँग धेरै बेर बोल्न सकेनन्। मामाको पसलभन्दा केही....

राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

अन्तर्वार्ता सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा भाइरल बन्यो। अन्तर्वार्तामा उनीहरूको व्यक्तिगत जीवनदेखि समुदायका सबै गतिविधि केन्द्रित थियो।  सो भिडियो भाइरल बनेपछि ती युवतीसँग टिकटक....